नेसपा महेन्द्रराय पक्षसँग एकता गर्न माओवादी नाम फेर्न तयार हुन्छ ?

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महिन्द्रराय यादव पक्षलाई छाडेर सहअध्यक्ष गंगानारायण श्रेष्ठ खेमाका नेताहरू माओवादी प्रवेश गर्न तयार भएका छन्। श्रेष्ठ पक्षले माओवादीसँग एकता गर्ने निर्णय भोलि बैठक बसेर औपचारिक रूपमा लिँदैछ।

सहअध्यक्ष श्रेष्ठले आफ्नो पक्षको बैठकमा दुई तिहाइ सदस्य सहभागी हुने दाबी गरेका छन्। तर महासचिव रमेश यादव भने आफूहरू पनि माओवादीसँग एकता गर्नकै लागि डा. बाबुराम भट्टराईसँग विद्रोह गरेर आएको भन्दै तयार रहेको बताउँछन्।

यादव पक्ष अलग नभई एकमुष्ट एकता गर्ने पक्षमा छन्। त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अभियानबाट फर्केपछि भेट गर्दैछ। प्रचण्डले पनि सार्वजनिक रूपमा पनि नेसपाका गंगानारायणहरूसँग १२ गते एकता हुने बताइसकेका छन्।

उनीहरूले एकता गर्नको लागि विगतमा भएको सहमति अनुसार पार्टीको नाम फेर्नुपर्ने अडान राखेका छन्। यादव पक्षको माओवादी हटाएर नेकपा समाजवादी पार्टी राख्नुपर्ने शर्त छ।

यही शर्त राखेकै कारणले प्रचण्ड र बाबुरामको मिलन टरेको थियो। यो विषय माओवादीमा पनि विगतमा नउठेको होइन।

उपमहासचिव जनार्दन शर्मासहित उनी निकट नेताहरूले यसअघि पनि पार्टीको नाम फेर्नुपर्ने प्रस्ताव बैठकमा राखेका थिए। तर यो विषयमा पार्टीभित्र चर्को मतभेद छ।

माओवादीले समान विचारधारा भएका कम्युनिस्ट घटकहरूसँग एकताका लागि नाम फेर्न तयार रहेको पनि बताउँदै आइरहेका छन्।

अहिले नेसपा यादव पक्षले नाम फेर्नुपर्ने प्रस्ताव राखेपछि माओवादीले आफ्नो ब्रान्ड छाड्न तयार हुन्छ ? भनेर हामीले सचिव लीलामणि पोखरेललाई सोध्यौँ।

तर उनले अहिले पार्टीको नाम फेर्ने कुनै सम्भावना नरहेको बताए। उनले भने, ‘उहाँहरूसँग एकता गर्ने भन्ने कुरा त पहिले नै भइसकेको हो। उहाँ (गंगानारायण)हरूको भोलि बैठक बस्दैछ। त्यो बैठकले टुङ्ग्याउने कुरा छ।’

महेन्द्रराय पक्षले पार्टीको नाम फेर्नुपर्ने शर्त राखेको छ नि भन्ने जिज्ञासामा उनी भन्छन्, ‘उहाँहरूले पहिलादेखि नै पार्टीको नाम फेर्नुपर्ने कुरा राख्नुभएको थियो। तर अहिले पार्टीको नाम फेरिँदैन।’

उनले नेसपासँग एकता गर्ने भनेर पार्टीको नाम नै फेर्ने कुरा पनि नहुने बताए। केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले पनि नेसपा गंगानारायण पक्षसँग एकता हुन लागेको बताए।

यादव पक्षको नाम फेर्नुपर्ने शर्तबारे पुनले पनि भने, ‘पार्टीको नाम फेरिँदैन। दीर्घकालीन हिसाबले पछि सबै कम्युनिस्ट घटकहरूलाई एकताबद्ध गराउनको लागि नयाँ ढंगले जान सकिन्छ भन्ने कुरा चाहिँ छ। तर अहिले उहाँहरूकै लागि भनेर चाहिँ फेरिँदैन।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *