संसदका महासचिवले किन फाइलले मुख छोपे ? यस्तो छ उनको स्पष्टीकरण

काठमाडौं । हिजो संसद सचिवालय अगाडि फोटो/भिडिओ खिच्ने क्रममा संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले फाइलले मुख छोपेको विषयमा टिका टिप्पणी भएपछि उनले सामाजिक सञ्जालबाट प्रष्टीकरण दिएका छ्न् ।

निजामती विधेयकमा राखिएको २ वर्षे ‘कुलिङ पिरियड’ को प्रावधान हटाउन ध्यानाकर्षणका लागि हिजो मुख्यसचिवसहित सचिवहरू सभामुख, राष्ट्रियसभा अध्यक्षको र राज्य व्यवस्था समिति सभापतिकोमा डेलिगेशन गएका थिए ।

संविधान प्रदत्त गोपनीयताको हक र मुलुकी अपराध संहिताको दफा सम्झाउँदै उनले व्यक्तिको अनुमतिबिना फोटो खिच्न नमिल्ने बताएका छन् ।

महासचिव पाण्डेयको भनाइ यस्तो छ-

संसदका महासचिवले किन मुख छोपे भनी प्रश्न गरिएको प्रति मेरो ध्यानाकर्षण भएको छ। नेपालको संविधानको धारा १६ को उपधारा (१) ले प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ भन्ने व्यवस्था गरेको छ। त्यस्तै धारा २८ मा व्यक्तिको गोपनियताको हकको व्यवस्था गरेको छ। मुलुकी अपराध संहिता, २०७४ को दफा २९५ अनुसार कसैले कुनै व्यक्तिको अनुमति बिना फोटो खिच्ने कार्य फौजदारी कसूर हुन्छ। यस्तो कसूर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ। मेरो सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षण र उल्लेखित कानूनी प्रवन्धको उल्लङ्घन गर्नेहरुलाई संवैधानिक तथा कानूनी प्रवन्धको जानकारी गराउने उद्देश्यले फोटो खिच्ने अनुमति प्रदान गर्न अस्वीकार गरेको व्यहोरा जानकारी गराउन चाहन्छु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *