रविको रिहाइ रोक्न दिनेश त्रिपाठीले आज बहस गर्दै, सुरेन्द्रको पनि साथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा आज पनि सुनवाइ जारी रहनेछ । न्यायाधीशद्वय नहकुल सुबेदी र बालकृष्ण ढकालको इजलासमा हिजो भएको सुनवाइ समय अभावले हेर्दा हेर्दैमा परेको थियो ।

रविका तर्फबाट पत्नी निकिता पौडेलले दिएको बन्दी प्रत्यक्षीकरण तथा रवि र छविले उच्च अदालतको थुनछेक आदेशविरुद्ध गरेको पुनरावेदनलाई एकै ठाउँ राखेर बहस भइरहेको हो । रविका वकिल, छविका वकिल र सरकारी वकिल सबैले बहस सिध्याइसकेका छन् । आज जाहेरवालाको तर्फबाट बहस हुने छ ।

जाहेरवालाको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले हिजो नाम टिपाएका छन् । त्रिपाठीको कुरा गर्ने हो भने उनी पहिल्यैदेखि रविविरुद्ध निरन्तर बहस गरिरहेका वकिल हुन् । रविमाथि मुद्दा परेका सबैजसो अदालतमा पुगेर उनले बहस गर्दै आएका छन् । गत माघमा काठमाडौं जिल्ला अदालतमा रवि विरुद्ध बहस गरेर फर्किँदा उनीमाथि अदालत परिसरमा कुटपिट समेत भएको थियो ।

यदि सर्वोच्चले उच्च अदालतको फैसला उल्टायो भने रवि आजै रिहा हुन पनि सक्छन् । तर यदि त्यसलाई सही ठहर्‍याएको खण्डमा उनी थुनामै बस्नुपर्ने छ । रविको बन्दी प्रत्यक्षीकरण रिट भने खारेज हुने सम्भावना छ ।

जाहेरीकर्ताको तर्फबाट बहस सकिएपछि निवेदक रवि र छविका तर्फबाट जवाफी बहस हुनेछ । दुवैका एक–एक वकिलले बहस गर्न पाउनेछन् । छविका तर्फबाट जवाफी बहस गर्न हिजै सतिशकृष्ण खरेलले नाम टिपाइसकेका छन् । यदि समयमै बहस सकियो भने आजै न्यायाधीशले आदेश लेख्न सक्छन् ।

Comments

2 responses to “रविको रिहाइ रोक्न दिनेश त्रिपाठीले आज बहस गर्दै, सुरेन्द्रको पनि साथ”

  1. गोबिन्द सलामी मगर Avatar
    गोबिन्द सलामी मगर

    त्रिपाठी एन्ड भन्डारी ब्रो को रवी ले केही न केही बिगार्दिएको हुनु पर्छ किन कि यी दुवै ज्यान जाय वचन नजाए भन्दा जस्तै हाथ धोयर पछी परेको परै हामी हेरेको हेर्यै।

  2. samir Avatar
    samir

    रबिलाई कालो काङ्ग्रेसले झुठो आरोपमा फसाएको हो। त्यसैले यिनिहरु ज्यान फालेर रबि विरुद्ध लाग्दैछन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *