काठमाडौं । राजेश हमालसँग काम गरेको विगत कोट्याउँदै अभिनेता दीपकराज गिरीले भोलिबाट प्रदर्शनमा आउने चलचित्र ‘नरसिंहा : अवतार’लाई शुभकाना दिएका छन् ।
गिरीले फेसबुकमा एक पोस्ट लेख्दै आफूले ठूलो पर्दामा डेव्यु गरेको चलचित्र ‘चोर’देखि आफूले निर्माण गरेको ‘छ एकान छ’मा समेत हमालले अभिनय गरिदिएर गुण लगाएको उल्लेख गरेका छन् ।
आफ्नो चलचित्रले सफलता हात पार्दा हलमा आएर बधाई समेत दिएको उल्लेख गर्दै गिरीले लेखेका छन्, ‘कोभिडको महामारीको बेला मेरो सहकर्मीबाट यस्तो वेला समाजले अभिभावकत्व खोजिरहेको छ भन्ने आशयको अभिव्यक्ति दिँदा केही त्रुटि हुन गयो । जसलाई संजालले यसरी ट्वीस्ट गरिदियो कि उहाँलाई जनताले दिएको पदविमै हाम्रो आपत्ति छ वा दाबी छ भन्ने भाष्य निर्माण हुन गयो । जुन उदेकलाग्दो, अपत्यारिलो र असहज थियो ।’
तर आफूहरूको हमालप्रति कुनै रिसिबी या उनले पाएको ‘महानायक’को पदविप्रति कुनै दाबी या आपत्ति नभएको बताएका छन् । आजका दिनसम्म पनि हमाललाई भेट्दा आदरभावले भेटेको बताएका छन् ।
‘कुछ तो लोंग कहेंगे’ भन्दै उनले अन्तिममा लेखेका छन्, ‘आठ वर्षपछि रजतपटमा आफ्नो चलचित्र लिएर फर्किनुभएक आदरणीय महानायक राजेश हमाल दाईलाई न’रसिंहा : अवतार’को धेरै शुभकामना ।’
गिरी र छक्कापन्जा टिमले हमाललाई महानायक नमानेको भन्दै संजाल प्रयोगकर्ताले निरन्तरजसो गाली गरिरहने गरेका थिए । चार वर्षअघि एक अन्तर्वार्तामा अभिनेत्री दीपाश्री निरौलाले हमालमाथि गरेको टिप्पणीका आधारमा उनीहरू संजाल प्रयोगकर्ताको निशानामा पर्ने गरेका छन् ।

Leave a Reply