काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत करिब दुई दर्जन कम्पनीहरू समस्याग्रस्त बनेपछि ती कम्पनीहरूमा लगानी गरेका सर्वसाधारण लगानीकर्ताहरूको अर्बौं रूपैयाँ फसेको छ । कतिपय कम्पनीहरू वर्षौंदेखि कारोबारविहीन छन् भने केही सञ्चालनमै रहे पनि कानूनी तथा व्यवस्थापन कमजोरीका कारण शेयर कारोबार रोकिएको छ । नेप्सेमा सूचीबद्ध भए पनि यी कम्पनीहरूले लगानीकर्ताको विश्वास गुमाइरहेका छन् ।
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सम्झना फाइनान्स कम्पनी लिमिटेडको २ लाख २५ हजार कित्ता शेयर सूचीकृत छ । यो शेयर संस्थापक र सर्वसाधारण लगानीकर्ताको हो । नेप्सेका अनुसार अनुसार यस कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता २३० रुपैयाँमा भएको थियो । यस मूल्यअनुसार यो कम्पनीमा लगानीकर्ताहरूले ५ करोड १७ लाख ५० हजार रुपैयाँ लगानी गरेका छन् ।
यो कम्पनी टाट पल्टेको वर्षौँ भइसक्यो । यसलाई नेपाल राष्ट्र बैंकले २०६६ सालमै समस्याग्रस्त घोषणा गरेको थियो । त्यसयता यो कम्पनी समस्यामुक्त हुन सकेन । अन्ततः यस कम्पनीसँगै लगानीकर्ताहरू पनि डुबे र करोडौँ रुपैयाँ ‘फसाए’ ।
केही महिना अगाडि समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ३ सय कित्ता शेयर नेप्सेमा सूचीकृत छ । जसमा २५ लाख ६४ हजार ४३३ कित्ता संस्थापक शेयर हो भने बाँकी २४ लाख ६३ हजार ८६७ कित्ता सर्वसाधारणको हो ।
समस्याग्रस्त यो बैंकको शेयर कारोबार पुष ११ गतेदेखि रोक्का छ । अन्तिम दिनको कारोबार प्रतिकित्ता ८१० रुपैयाँमा भएको थियो । सोही रकमलाई आधार मान्ने हो भने यस बैंकका लगानीकर्ताहरूको एक अर्ब ९९ करोड ५७ लाख ३२ हजार २७० रुपैयाँ बराबरको शेयर फसेको छ ।
शेयर लगानीकर्ताहरूको उक्त रकम अहिले बन्धक छ । कारोबार रोक्का भएको यस बैंक कहिले समस्याग्रस्त सूचीबाट बाहिर आउँछ र लगानीकर्ताहरूको पैसा फिर्ता हुन्छ भन्ने टुङ्गो छैन । नेपाल राष्ट्र बैंकले व्यवस्थापन गरिरहेको यो बैंकमा लगानीकर्ताहरूको फसेको रकम फिर्ता पाउने सम्भावनाबारे अहिले नै यसै भन्न सकिने अवस्था छैन ।
कर्णाली जस्तै समस्याग्रस्त बनेका केही कम्पनीहरूमा लगानीकर्ताहरूको अबौँ रकम फसेको वर्षौँ भइसकेको छ । उनीहरूले हालसम्म पनि लगानी गरेको रकम फिर्ता पाएका छैनन् ।
डेढ दशक अघि नै पूर्णरूपमा बन्द बुटवल धागो कारखानाको दोस्रो बजारमा १३ लाख ६ हजार ६ सय ९३ कित्ता शेयर सूचीकृत छ । अंकित मूल्य १ सयमा जारी भएको यसको अन्तिम कारोबार मूल्य १८ रुपैयाँमा झरेको थियो ।
नेपाल फिल्म डेभलपमेन्ट कम्पनीमा पनि लगानीकर्ताहरूको करोडौँ रुपैयाँ फसेको छ । यस कम्पनीको ४ लाख ९१ हजार २८५ कित्ता शेयर नेप्सेमा सूचीकृत छ । जसमध्ये संस्थापकको २ लाख ५० हजार ५५६ कित्ता हो भने सर्वसाधारणको २ लखा ४० हजार ७२९ कित्ता हो । यस कम्पनीको अन्तिम कारोबार मूल्य ३४ रुपैयाँमा झरेको थियो ।
यसरी सर्वसाधारण लगानीकर्ताहरूलाई ‘फसाएर’ करिब दुई दर्जन कम्पनी गायब भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएकामध्ये २३ कम्पनीहरूमा सर्वसाधारण लगानीकर्ताहरूको लगानी फसेका छ ।
गोरखकाली रबर उद्योग, नेपाल खाद्य उद्योग, रघुपति जुट मिल, भृकुटी कागज कारखाना, श्रीराम सुगर मिल, विराट सुज लगायत दर्जनौँ कम्पनीहरू टाट पल्टिदा ती कम्पनीहरूमा लगानीकर्ताहरूको अर्बौँ रकम फसेको छ । यी कम्पनीहरूमा फसेको रकम लगानीकर्ताहरूले पाउने सम्भावना न्यून रहेको नेप्सेका प्रवक्ता मुराहरि पराजुली स्विकार्छन् ।

यसरी नेप्सेमा ‘सस्पेन्डेड’ सूचीमा रहेका कम्पनीहरूमध्ये केही कम्पनीहरू सञ्चालनमा रहे पनि शेयर कारोबार भने रोक्का रहेको छ ।
याक एण्ड यती होटल सञ्चालनमै छ । तर, यसको शेयर कारोबार केही वर्षदेखि रोक्का छ । अन्तिम मूल्य प्रतिकित्ता ६ सय रहेको याक एण्ड यती होटेलमा सर्वसाधारण लगानीकर्ता भने छैनन् । २२ लाख ९ हजार २०८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । जुन शेयर सबै संस्थापक लगानीकर्ताको हो ।
याक एण्ड यति यती होटल पब्लिकमा गइसकेपनि यसलाई प्राइभेट बनाउन लबिङ गरिरहेको पाइएको छ । कम्पनी ऐनले पनि पब्लिक कम्पनीमा गइसकेपछि पुनः प्राइभेटमा परिणत हुन सक्ने व्यवस्था गरेको छ । सोही व्यवस्था अनुसार यस होटलका सञ्चालकहरू प्राइभेटमा जान खोजिरहेका कारण लामो समयदेखि यसको कारोबार रोकिएको हो ।
त्यसबाहेक शेयर कारोबार रोक्का हुनुको अर्को कारण हो– सूचीकरण शुल्क नबुझाउनु । प्रवक्ता पराजुलीका अनुसार नेप्सेमा सूचीकृत कम्पनीहरूले हरेक वर्ष सूचीकरण शुल्क बुझाउनुपर्छ । शुल्क नबुझाएपछि नेप्सेले कारोबार बन्द गरिदिन्छ । जसले गर्दा केही कम्पनीहरू सञ्चालन भइरहेपनि शेयर कारोबार बन्द हुने गरेको छ ।
शेयर धनीको सङ्ख्या सातभन्दा कम भए वा तोकिएको चुक्ता पुँजी कायम गर्न नसके वा घटाएमा पब्लिक कम्पनीले प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गरी प्राइभेट कम्पनीमा परिणत गर्नुपर्ने व्यवस्था ऐनमा उल्लेख छ । त्यसपछि पब्लिक कम्पनीको सबै सम्पत्ति तथा दायित्व प्राइभेट कम्पनीको हुने व्यवस्था छ ।
यसबाहेक समस्याग्रस्त भएका कम्पनीहरू समस्यामुक्त हुनसकेमा पुनः कारोबार हुने र लगानीकर्ताहरूले आफ्नो लगानीको रकम पाउने आश रहे पनि सञ्चालन हुन मुस्किल पर्दै आएको छ ।
करिब एक दशक अघि समस्याग्रस्त घोषणा भएको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड पुनः सञ्चालनको तयारी गरिएको छ । यसको व्यवस्थापन समूहको संयोजकमा रोशन कुमार अधिकारी छनौट भएका छन् । तर, हालसम्म भने यो सञ्चालनमा आउन सकेको छैन । यो कम्पनी सञ्चालन गर्ने चर्चा भएपनि हालसम्म ‘कोमा’मै रहेको छ ।
‘केही कम्पनीहरू फर्केर आउने सम्भावना छ । कुनैको आश नै छैन’, प्रवक्ता पराजुली भन्छन्, ‘नेपाल शेयर मार्केट्स ब्युँताउन कस्सिएको देखिन्छ । यसमा केही आश देखिएको छ । तर, सम्झना फाइनान्स जस्ता दर्जनौँ कम्पनी फर्केर आउने सम्भावना देख्दिन ।’

Leave a Reply