प्रचण्ड भाष्करलाई साथीहरूको सम्झना : कच्ची रोडसँगैका पक्की चोटहरु

काठमाडौं ।

पीडाको हद हेर्न
निस्किएको हुँ नरकको बाटो
कृपया !
मेरो मृत्युमा
श्रद्धाञ्जली नलेखिदिनु होला ।

उसो त उल्लेखित कविता कवि प्रचण्ड भाष्करले रोस्टममा उभिएर आफैँ वाचन गरिरहेको हुनुपर्ने थियो । जीवन र मृत्युको संघारमा उभिएर उज्यालोको पक्षमा लेखिएका उनका अन्य कविताहरू पनि प्रचण्ड स्वयंले वाचन गरिरहेको हुनुपर्ने थियो ।

आफ्नो कविता संग्रहको विमोचनमा आफैँ उपस्थिति हुनुपर्ने थियो । समृद्ध काव्यचेतमार्फत् राज्यसत्तामाथि आम मानिसको गुनासोको प्रतिनिधित्व गरिरहेको हुनुपर्ने थियो । आफ्ना प्रिय पाठकलाई आफैँले अटोग्राफ दिँदै गरेको हुनुपर्ने थियो ।

तर, समय यति कठोर भएर आयो कि प्रचण्ड भाष्करका सृजनशीलतालाई सदाको लागि लिएर गयो । मुखको क्यान्सरका कारण २०८० कात्तिक ९ गते उनको मृत्यु भयो । साथीभाइ, शुभचिन्तक र प्रिय पाठकहरू राडारबाट सदाको लागि बाहिरिए, कहिल्यै नफर्किने गरी ।

तीन दशक पनि राम्रोसँग पूरा नगरेका कञ्चनपुरका कवि प्रचण्डको भौतिक शरीर संसारमाझ रहेन । तर, उनले पाठकहरूको मन मस्तिष्कमा सधैँभरि बाँचिरहने गरी सुन्दर कविताहरू भने छाडेर गए । आफ्नो सृजनशीलताको ओज र शक्तिलाई कविताप्रेमीहरुको अँजुलीमा थमाएर गए ।

यही कारण दिवंगत प्रचण्डको सम्झनामा उनका साथीहरूले एक कविता संग्रह बजार ल्याउँदै छन्, ‘कच्ची रोडसँगैका पक्की चोटहरू’ । यसको नेतृत्व गरिरहेका छन् अर्का कवि दोस्ताज महेशले ।

महेश सुनाउँछन्, ‘प्रचण्ड जी र हाम्रो चिनजान कविताले गराएको हो । कविता थिएन भने उहाँ र हामीबीचमा यति गहिरो भावनात्मक सम्बन्ध निर्माण नै हुने थिएन । त्यसैले साथीको सम्मान स्वरूप हामी साथीहरू मिलेर यो संग्रह ल्याउने कोसिस गरेका हौँ ।’

दोस्ताजसँगै युनिक धमला, इन्दु धामी, अहमद शाहील लगायत प्रचण्डका साथीहरू मिलेर यो संग्रह ल्याउन लागेका छन् । संग्रहमा प्रचण्डका ६० भन्दा बढी कविताहरू छन् । नेपालीको अलावा उनले लेखेका हिन्दी कविताहरू पनि समावेश गरिएका छन् ।

मुखको क्यान्सर भएपछि प्रचण्डको उपचार नेपालमा भयो । साथै उनलाई भारतसम्म लगेर उपचार गरियो । तर, क्यान्सर निको भएन । त्यही क्यान्सरले प्रचण्डलाई लिएर गयो । पारिवारिक स्रोतका अनुसार प्रचण्डको उपचारमा मात्रै ५०–६० लाख रुपैयाँ खर्च भएको थियो ।

आर्थिक स्थिति कमजोर भएकाले उनका साथीहरूले सञ्जालमा सहयोग अभियान समेत चलाएका थिए । उक्त अभियानबाट केही रकम समेत उठेको थियो । दोस्ताज महेशले आफ्नै कविताहरूको पीडिएफ फाइल बनाएर प्रचण्डको उपचार सहयोगार्थ बिक्री पनि गरेका थिए ।

‘मेरो कविताहरूको पीडिएफ बनाएर अनलाइनमा बेचेको थिएँ । मूल्य ६१ रुपैयाँ राखेको थिएँ । मोबाइल बैंकिङको स्क्यानर चाहिँ प्रचण्ड जीको राखिदिएको थिएँ । त्यहाँबाट केही सहयोग रकम उठ्यो,’ दोस्ताज सुनाउँछन्, ‘अन्य साथीहरूले पनि सहयोग गरेका थिए । तर, सहयोग उठेको रकम केही साथीहरूले खाइदिए भन्ने गुनासो समेत आयो । अस्पतालको बेडमा लडिरहेको बिरामीको सहयोगमा उठेको रकम त्यसो नगरिदिएको भए हुने । त्यो बेइमानी भयो ।’

प्रचण्ड बितेपछि दोस्ताज उसकै घरमा गए । घरबाट प्रचण्डले लेखेका कविताहरू उठाएर ल्याए । प्रचण्डको सम्झनामा कविता संग्रह निकाल्ने योजना बनाए । साथीहरूसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाए ।

‘सुरुमा छाप्ने भनेर काबु क्रियसनले हामीलाई धोका दियो । पछि माया पब्लिकेसनले छापिदिने बतायो । दशैं तिहारको छेकोमा आउने बताएपछि हामी ढुक्क भयौँ, खुसी पनि भयौँ । तर, किताब आएन । प्रकाशन गृहलाई फोन गर्दा फोन उठेन । म्यासेजको रिप्लाई आएन,’ दोस्ताज सुनाउँछन्, ‘कतैबाट हुन्न भन्ने लागेपछि हामी कस्सियौँ । अहिले हामी केही साथीहरू मिलेर व्यक्तिगत हिसाबले संग्रह निकाल्न लागेका हौँ ।’

किताबबाट उठेको पैसा प्रचण्डको परिवारलाई थोरै भए पनि सहयोग हुने गरी केही गर्ने योजनामा छन् दोस्ताजहरु । जे जति संकलन हुन्छ, लगेर बुवाआमालाई हस्तान्तरण गर्ने योजनामा छन् । सुरुमा प्रचण्डको नाममा ट्रस्ट खोल्ने कि भन्ने योजना भए पनि परिवारले आर्थिक सहयोगकै अपेक्षा गरेकाले सकेको सहयोग गर्ने कि भन्ने योजनामा रहेको दोस्ताजले बताए ।

उनले भने, ‘किताब प्रकाशनदेखि विमोचनसम्म निकै खर्च भइसकेको अवस्था छ । अब केही रकम किताबबाट आएमा परिवारलाई हस्तान्तरण गर्ने योजना हो । अब हेरौँ के हुन्छ ।’

प्रचण्डका दुई दाजु, एक बहिनी र बाआमा छन् । उनी अविवाहित थिए । उनको केही कविताहरू :-

तिम्रो एक आँसुले
कतै ठूलो युद्ध हुनसक्छ
तिम्रो एक मुस्कानले
जगत नै बुद्ध हुनसक्छ

०००

नपुगे हुन्थ्यो तर चाँडै नै पुग्ने
दुःखको खबरजस्तो रोग बोकेर

चाँडै पुग्नुपर्ने तर, ढिलो मात्रै पुग्ने
खुसीको खबरजस्तो औषधि बोकेर
आफ्ना दिनमा भड्किरहेको विपत्ति हुँ म
म हुनुपर्ने सबथोक बाहेकको भएको छु

०००


त्यो ईश्वरलाई
पटक्कै मान्दिनँ
जसले मेरो भाग्यमा ‘दुःख’
र तिम्रो भाग्यमा ‘म’ लेखिदियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *