समुन्द्री सतहबाट सबैभन्दा छिटो सगरमाथा चुचुरोमा पुगेर एन्ड्रयू उशाकोभाले रचे इतिहास

काठमाडौं । समुन्द्री सतहदेखि सगरमाथा शिखरसम्म ३ दिन २३ घन्टा ७ मिनेटमा यात्रा पूरा गरी आरोही एन्ड्रयू उशाकोभाले इतिहास रचेका छन् ।

उशाकोभको यो उपलब्धिप्रति विश्वभरबाट हजारौं मानिसले सामाजिक सञ्जालमार्फत बधाई दिँदै उनको अठोट र तयारीको प्रशंसा गरिरहेका छन् । सगरमाथा चढ्ने सबैभन्दा छिटो व्यक्ति बनेका उनले मे १५ राति १२:३० बजे न्यूयोर्कबाट समुद्री सतहबाट यात्रा सुरू गरी काठमाडौं हुँदै सीधै एभरेष्ट बेस क्याम्प पुगे । मे १९ को बिहान ९:२२ बजे सर्वोच्च शिखर सगरमाथाको ८ हजार ८४८ मिटर उचाइमा पाइला टेके ।

सामान्यतः आरोहीहरूले उचाइमा आफूलाई अभ्यस्त गराउन ५० दिनभन्दा बढी समय लागाउँछन् । तर, उशाकोभले ४०० घण्टाभन्दा बढी समय ‘हाइपोक्सिक ट्रेनिङ टेन्ट’ मा बिताए । यसले उच्च हिमाली वातावरणको प्रतिविम्बित गर्छ ।

एन्ड्रयू पूर्णकालीन खेलाडी नभएकोले उनको रेकर्डको अतिरिक्त महत्व छ । २०२० मा मात्रै पर्वतारोहण सुरू गरेका उनको केही महिनाअघि मात्र हिमपहिरोका कारण काँधमा चोट लागेको थियो । त्यसबाट उनी निको भएका थिए ।

बेस क्याम्पदेखि शिखरसम्मको आरोहणमा उनले परम्परागत बोतल अक्सिजन प्रयोग गरेका थिए । उनको अभियान एलिट एक्स्पेड कम्पनीले व्यवस्थापन गरेको थियो जसमा तेजन गुरुङ (टीजे), पूरबहादुर गुरुङ, विधान श्रेष्ठ, सुजल गुरुङ, किटेम्बा शेर्पा र पेम्बा छेवाङ शेर्पाजस्ता दक्ष गाइडहरूको साथ र सहयोग थियो।

उशाकोभ र उनको टोलीले फर्कने क्रममा सगरमाथाबाट फोहोर संकलन गर्दै वातावरण संरक्षणमा पनि योगदान दिएका थिएका छन् ।

सुरक्षित रूपमा फर्किसकेका एन्ड्रयूले भने, ‘यो यात्रा केवल हिमालको कुरा होइन, यो तपाईंका सीमाहरू भत्काउने कुरा हो । म चाहन्छु मेरो यात्रा अरूलाई पनि ठूलो चुनौती समाना गर्ने हौसला देओस् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *