पोखरा विमानस्थलको प्रतिवेदनमा मेरो फरक होइन, पूरक मत होः गोकुल बास्कोटा (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का सांसद गोकुल बास्कोटाले पोखरा विमानस्थलसम्बन्धी संसदीय उपसमितिको प्रतिवेदनमा आफ्नो फरक नभई पूरक मतमात्रै रहेको प्रष्टाएका छन् ।

सार्वजनिक लेखा समितिको बैठकमा राजेन्द्र लिङदेनको नेतृत्वको उपसमितिको प्रतिवेदनमाथि छलफलमा उनले प्रतिवेद अझै अपूरो रहेको टिप्पणी गरे ।

बास्कोटाले भने, ‘प्रतिवेदनमा अलिकति पुगेन भन्ने हो । तथ्यांक पत्ता लगाउन सकिन्थ्यो होला, त्यो समेटिएन । छानबिन हुनुपर्छ तर के पत्ता लगाउने भन्दा पनि के रहेछ भनेर गर्नुपर्छ । आएका विषयमा संयोजकज्यूले जानकारी गराइसक्नुभएको छ । प्रतिवेदनमा सबै पनि छ, केही पनि छैन । अझै अपूरो छ ।’

उपसमितिले अध्ययनका क्रममा सम्बन्धित निकायका पदाधिकारीसँग लिखित प्रश्नोत्तर गर्न चुकेको बास्कोटाको भनाइ छ ।

उनले भने, ‘यसले प्रक्रियामा जानै लामो समय लगाएको छ । ढिलोगरी सकिएर विवादको विषय बनेको छ । ती विषयमा सम्बन्धित निकायका पदाधिकारीसँग लिखित प्रश्न राख्नुपर्ने थियो । अर्थ मन्त्रालयले जवाफ दिएको पनि थिएन । त्यसै कारण प्रतिवेदन अधुरो हो । अझ गहिराइमा पुग्नुपर्छ ।’

उपसमितिका सदस्यसमेत रहेका बास्कोटाले समितिले थप प्रमाण मागेको अवस्थामा आफू दिन तयार रहेको बताए । तर, प्रतिवेदनलाई जस्ताको त्यस्तै पारित गरौं भन्दा पनि आफ्नो आपत्ति नरहने उनको भनाइ छ ।

बास्कोटाले भने, ‘थप अध्ययन गर्न जरुरी र थप रायमात्रै हो मेरो । जति आएको छ, बुझाइएका प्रमाणका आधारमा आएको छ । नेपाल सरकारको पनि आधिकारिक धारणा पनि नआएकाले कसरी पूरा भयो भन्ने हो । म कसैलाई डाम्नै पर्ने, मुछ्नै पर्ने, कसैलाई छुटाउनै पर्ने भन्ने पक्षमा होइन । म आफैँ पनि दर्जनौ विवादमा परेको मान्छे हो । केही लुकेका र केहीमात्रै आएका छन् । चाहिएको बेला दिन सक्छु । समितिले यसैमा सन्तुष्ट भयो भने त ठिक छ, समितिले मागेको अवस्थामा दिन तयार छु । भएको के थियो, काम गर्न सक्ने हो क्षमता छ भने पुन: अध्ययन गर्न सकिन्छ, नभए के गर्ने हो सम्बन्धित निकायमा पठाइदिए हुन्छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *