विराटनगर । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले किनेका करोडौँ मूल्यका उपकरण गोदाममा थन्किएको भेटिएको छ । गोदामबाट झिकेर लगिएका उपकरण पनि अस्पतालमा सञ्चालन भएका छैनन् ।
स्वास्थ्य उपकरण राख्ने ठाउँ, आवश्यक पूर्वाधार र चलाउने जनशक्तिविना खरिद गरिएका ती सामान एक वर्ष अघिदेखि नै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको गोदाममा थन्किएका छन् ।
यी स्वास्थ्य उपकरणहरूको खरिद प्रक्रिया तत्कालीन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की र स्वास्थ्य मन्त्री प्रदीपकुमार सुनवारको पालामा अघि बढाइएको थियो । त्यसबेला स्वास्थ्य मन्त्रालयमा डा. सुधा देवकोटा र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. वीरेन्द्र मण्डल थिए ।
ती उपकरणहरू २०८१ असार ४ गतेमात्र आपूर्ति केन्द्रमा दाखिला भएको थियो । त्यो बेला स्वास्थ्यमन्त्री राजेन्द्र कार्की थिए ।

प्रदेश सरकारले ८ थान क्षयरोग परीक्षण गर्ने डीएनए एक्स्ट्रयाक्सन मेसिन खरिद गरेको थियो । जसका लागत ३ करोड ९ लाख २० हजार रूपैयाँ रहेको आपूर्ति व्यवस्थापन केन्द्रले जनाएको छ । मन्त्रालयले प्रतिमेसिन ३८ लाख ६४ हजार ६ सय रूपैयाँका दरले खरिद गरेको थियो । खरिद गरेका ती मेसिनहरूमध्ये हालसम्म तीनवटा आपूर्ति केन्द्रकै गोदाममा थन्किएर बसेका छन् ।
बेलबारी नगर अस्पताल, रंगेली अस्पताल र कोशी अस्पतालले उपकरण राख्ने अभावको कारण देखाउँदै ती मेसिन लगेका छैनन् । अन्य ५ वटाले बुझेर लगेपनि सञ्चालनमा आइनसकेको केन्द्रका निमित्त निर्देशक सुरेश मेहताले नेपाल प्रेसलाई बताए । उनले आफू केन्द्रको निमित्त निर्देशक भएर आएपछि ५ वटा उपकरण लगिएको सुनाए ।
अस्पतालहरूले सञ्चालनका लागि उपकरण लगे पनि ती उपकरण सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति र रिएजेन्ट किन्ने समेत पैसा नभएको मन्त्रालय स्रोतले जनाएको छ । अस्पतालहरूको आवश्यकता र भण्डारण क्षमताको मूल्यांकन नै नगरी हचुवाको भरमा उपकरणहरू खरिद गरिएकाले समस्या भएको कर्मचारीहरू बताउँछन् ।
कर्मचारीका अनुसार ती कम्पनीका उपकरणको बजारमा रिएजेन्ट पाउनै मुस्किल छ । सञ्चालनका लागि जडान भए पनि ती उपकरणहरू चलाउन समस्या हुने कर्मचारीहरू बताउँछन् ।
यसैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि ३४ लाख ९४ हजार ६१० रुपैयाँमा खरिद गरिएको एचआईभी भाइरल लोड मेसिन पनि वर्षौँदेखि प्रयोगविहीन छ। रिएजेन्ट पाउन गाह्रो हुने भन्दै प्रयोगशालाले उक्त मेसिन लैजान अस्वीकार गरेको स्रोतले जनाएको छ ।

Leave a Reply