सुब्बा र अधिकृत सँगसँगै भएका निजामती जोडी- उपसचिवमा श्रीमतीभन्दा पछि परे पति

काठमाडौं । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ काे एक जोडी नेपाली निजामती सेवाकाे उपसचिवसम्म पुगेको छ । खरिदारबाट फरक-फरक समयमा निजामती सेवा प्रवेश गरेका ३६ वर्षीय चन्द्रसिंह श्रेष्ठ र ३२ वर्षीया विमला रोकाकाे युगल यात्रा उपसचिवसम्म पुगेको हाे । शाखा अधिकृतमा एकै पटक सिफारिस भएका उनीहरू उपसचिवमा भने फरकफरक समयमा सिफारिस भए ।

विमला र चन्द्रसिंहको जोडी नै निजामती सेवाले जुराइदिएको थियो । उनीहरू निजामती सेवामा प्रवेश नगरेको भए सायद आज एकै जोडी हुने थिएनन् होला ! निजामती सेवा प्रवेशसँगै एउटै कार्यालयमा पदस्थापन हुँदा उनीहरूलाई जोडी बाँध्ने सजिलो भने भएको थियो ।

खरिदार र शाखा अधिकृतमा सँगसँगै सिफारिस भए पनि उपसचिवमा चन्द्रसिंहलाई विमलाले उछिनेकी छन् । चन्द्रसिंहले ३ वर्षपछि मात्रै उपसचिवमा सिफारिस भएर विमलालाई भेट्टाइन् । अब सहसचिवमा कसले कसलाई पछि पार्छ ? त्यो भने हेर्न बाँकी नै छ ।

विमला २०७९ सालमा आन्तरिक प्रतिस्पर्धामा दोस्रो प्रयासमा सफल भएर अहिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रमा कार्यरत छिन् । चन्द्रसिंह पनि आन्तरिक प्रतिस्पर्धाको तेस्रो प्रयासपछि उपसचिव भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह छन् ।

चन्द्रसिंहको निजामती सेवा यात्रा

गही बैशाख ३० मा लोकसेवा आयोगले सार्वजनिक गरेको नतिजाअनुसार चन्द्रसिंह नेपाल प्रशासन सेवातर्फ आन्तरिक प्रतिस्पर्धाबाट नवौँ नम्बरमा उपसचिवमा सिफारिस भएका हुन् । २०६७ सालमा लोकसेवा आयोग बुटवलबाट सहायक विविध सेवाअन्तर्गत कम्प्युटर अपरेटर (खरिदार)मा उनी वैकल्पिक सूचीमा परे । त्यसको २ वर्षपछि दोस्रो प्रयासमा चन्द्रसिंह सफल भए ।

उनको पहिलो पदस्थापन २०६८ फागुन ४ मा जिल्ला हुलाक कार्यालय रुकुम पश्चिममा भएको थियो । त्यतिबेला उनी २२ वर्षको मात्रै थिए । स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत थिए ।

जिल्ला हुलाक कार्यालय रुकुममा करिब २ वर्ष काम गरेपछि उनले काठमाडौं पुगेर कम्प्युटर अपरेटर (नायब सुब्बा) मा फारम भरे । यसअघि सोही पदमा सुर्खेतमा लिखित परीक्षा दिएर उत्तीर्ण भए पनि सिफारिस हुन सकेनन् । काठमाडौंबाट दोस्रो पटक प्रयास गरेपछि २०७० असोजमा उनी कम्प्युटर अपरेटर (नायब सुब्बा) पदमा सिफारिस हुन सफल भए । सर्वोच्च अदालतमा उनको पदस्थापन भयो । सर्वोच्चमा साढे २ वर्ष काम गरे ।

चन्द्रसिंह र विमलाको विवाह

चन्द्रसिंह सर्वोच्च अदालतमै हुँदा र विमला जिल्ला हुलाक कार्यालय रुकुम पश्चिममै कार्यरत रहँदा उनीहरू वैवाहिक बन्धनमा बाँधिए । त्यसपछि चन्द्रसिंहको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भयो । त्यहाँ ६ महिना काम गरे ।

उनले २०७२ सालमा प्रशासन सेवाको शाखा अधिकृत पदमा प्रतिस्पर्धा गरे, तर वैकल्पिकमा परे । दोस्रो प्रयासपछि २०७३ साल कात्तिकमा उनी शाखा अधिकृतमा सिफारिस हुन सफल भए । उनीसँगै विमला पनि शाखा अधिकृतमा सिफारिस भएपछि दुवैको खुसीको सीमा भएन । विमला खुला प्रतिस्पर्धामार्फत खरिदारबाट सीधै शाखा अधिकृतमा सिफारिस भएकी थिइन् ।

२०७३ साल कात्तिकमा शाखा अधिकृतको नियुक्ति लिएर ६ महिने तालिमपछि उनी गृहजिल्लाको पनि गृहपालिका भूमे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भए । उनकी श्रीमती विमला भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भइन् । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत टिक्नै नसक्ने समस्यामा चन्द्रसिंहले भूमे गाउँपालिकामा ६ वर्ष जिम्मेवारी सम्हाले ।

३ पटकको प्रयासपछि उपसचिव बने चन्द्रसिंह

चन्द्रसिंह २०८० साउनमा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भए । त्यसको २ वर्षमा आन्तरिक प्रतिस्पर्धाबाट ३ पटकको प्रयासपछि उनी उपसचिवमा बढुवा सिफारिस हुन सफल भए ।

ढिलोचाँडो भए पनि श्रीमानश्रीमती नै उपसचिव भएपछि अहिले उनीहरू हर्षित छन् । चन्द्रसिंहले शाखा अधिकृत भएसकेपछि नै महिलालाई छोराछोरी जन्माउनेदेखि हुर्काउनेसम्मको जिम्मेवारी बढी हुने भएकाले विमला आफूभन्दा अघि नै उपसचिव भइदिए हुन्थ्यो भन्ने सोचेको र नभन्दै नजिता पनि त्यस्तै आएको बताए ।

श्रीमती उपसचिव र आफू अधिकृत नै भएकाले आफूले कार्यालयदेखि साथीभाइबाट विभिन्न प्रश्नको सामना गर्नुपरेको चन्द्रसिंह सुनाउँछन्, तर आफूहरू त्यसलाई चिरेर अघि बढेको उनको भनाइ छ ।

स्कुल जाने छोराः श्रीमान पुर्‍याउने, श्रीमती ल्याउने

उनीहरूको अहिले ७ वर्षीय एउटा छोरा छन् । दुबै निजामती कर्मचारी भएकाले बिहान चन्द्रसिंह छोरालाई विद्यालय पुर्‍याएर कार्यालय जान्छन् भने साँझ छोरा लिएर विमला कार्यालयबाट घर फर्किन्छिन् ।

मुख्यसचिव बन्ने युगल सपना !

निजामती सेवा प्रवेश गर्ने अधिकांश कर्मचारीको लक्ष्य मुख्यसचिव बन्ने हुन्छ । आफूहरूकाे लक्ष्य पनि त्यही रहेको चन्द्रसिंह र विमला बताउँछन् । अहिले उनीहरू दुवैले सहसचिवको प्रतिस्पर्धामा सहभागी हुने योग्यता राख्छन् । त्यही अनुसार चन्द्रसिंहले सहसचिवमा प्रतिस्पर्धा गर्न फारम पनि भरेका थिए, तर परीक्षाको समयमा बुवा बितेपछि उनले जाँच दिएनन् ।

‘अब सहसचिवको परीक्षामा प्रतिस्पर्धा गर्ने योजना छ’, चन्द्रसिंहले भने । विमला पनि सहसचिवमा प्रतिस्पर्धा गर्ने योजनामा छिन् ।

विमलाकाे निजामती यात्रा

उच्च शिक्षा अध्ययन खर्च जुटाउन आफैंले अध्ययन गरेको विद्यालयमा करार शिक्षक भएर पढाएकी उनी रहरले निजामती सेवामा मोडिएकी थिइन् । उनी खरिदार पदमा दोस्रो पटकको प्रयासमा २०६९ सालमा लोकसेवा परीक्षा सफल भएकी थिइन् । निजामती सेवामा प्रवेश गरेको १ वर्षपछि अहिले उनी नेपाल सरकारको उपसचिव छिन् ।

‘विद्यालयमा करारमा पढाइरहेकै बेला साथीको अनुरोधमा लोक सेवा आयोगले लिने खरिदार तहको परीक्षामा सहभागी हुन आवेदन दिएकी थिएँ’, विमला स्मरण गर्छिन्, ‘त्यसबेला राम्रोसँग फारम पनि पनि भर्न जानेको थिएन । अझ लोकसेवाको परीक्षा के हो भन्ने समेत थाहा थिएन । विनातयारी पहिलो पटक परीक्षामा सहभागी पनि भएको थिएँ ।’

पहिलो प्रयास असफल भएको १ वर्षपछि दोस्रो पटक खरिदार पदकै लागि खुला र समावेशीमा आवेदन दिएको उनी बताउँछिन् ।

‘लिखित परीक्षाको नतिजा आउँदा दुवैतर्फ नाम निस्कियो । त्यसपछि आमाले ५ हजार रूपैयाँ सापटी खोजेर मौखिक परीक्षा दिन दाङ पठाउनुभयो’, उनी थप्छिन्, ‘मौखिक परीक्षा दिएको केही दिनमै अन्तिम नतिजा आउँदा समावेशीतर्फ खरिदार पदमा सिफारिस हुन सफल भएँ । नाम निस्किएला भन्ने झिनो आशासमेत गरेकी थिइनँ । खरिदारमा सिफारिस भएपछि खुसी मात्रै भइनँ, ममा जोस, जाँगर र आत्मविश्वाससमेत बढ्यो ।’

निजामती कर्मचारी भएपछि विमलाले अहिले पछाडि फर्केर हेर्नुपरेको छैन । खरिदार पदमा कार्यरत रहेकै बेला उनले स्नातक तहको अध्ययनसँगै नायब सुब्बाको परीक्षा दिइन्, तर सफलता हात लागेन ।

स्नातक तहको पढाइ सकेपछि विमलाले निजामती सेवाकै खरिदार पदमा कार्यरत चन्द्रसिंह श्रेष्ठसँग वैवाहिक बन्धनमा बाँधिइन् ।

बिहेपछि २०७२/७३ सालमा लोकसेवाले लिएको प्रशासनतर्फको शाखा अधिकृत पदको परीक्षामा श्रीमानश्रीमती सँगै सहभागी भए । त्यतिबेला उनीहरू दुबै नायब सुब्बा भइसकेका थिए । दुबै जना पहिलो पटकको प्रयासमै शाखा अधिकृतमा सिफारिस भए ।

२०७३ साल कात्तिकमा शाखा अधिकृतमा सिफारिस भइसकेपछि ६ महिने तालिम पुरा गरेर विमला रुकुम पूर्वको सिस्ने गाउँपालिका कार्यालयमा र चन्द्रसिंह भूमे गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन भए । विमलाले सिस्ने गाउँपालिकामा करिब ३ वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिन् । त्यसपछि रुकुम पूर्वकै जिल्ला समन्वय समितिमा जिल्ला समन्वय अधिकारीको रूपमा १६ महिना काम गरिन् ।

त्यहीबीचमा विमलाले छोरालाई जन्म दिइन् । अनि रुकुम पूर्वबाट काठमाडौंस्थित नेपाल ट्रस्टको कार्यालयमा सरुवा भइन् । त्यहाँ विमलाले करिब एक वर्ष काम गरिन् । यसैबीचमा उनले उपसचिवमा प्रतिस्पर्धा गरिन् । पहिलो प्रयासमा असफलता हात लागको उनी बताउँछिन् ।

२०७९ सालमा भएको आन्तरिक प्रतिस्पर्धामा भने सफल भएको विमलाले बताइन् । उनका अनुसार आन्तरिकमा खुलातर्फको प्रतिस्पर्धामा १७ जनामध्ये विमलामात्रै महिला थिइन् र उनी सफल पनि भइन् ।

उपसचिव भएपछि विमलाको पहिलो नियुक्ति उपराष्ट्रपतिको कार्यालयमा भएको थियो । त्यहाँ करिब ९ महिना काम गरेपछि अहिले उनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्र सानोठिमीमा कार्यरत छिन् ।

अधिकृतको तयारी गर्दा काठमाडौंमा केही महिना तयारी कक्षा लिएकोबाहेक अरू बेला स्वअध्ययन गरेरै लोकसेवा परीक्षामा सफल भएको विमला बताउँछिन् । स्नातक तहसम्म रुकुममै पढेकी विमलाले जनप्रशासन र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन् । अहिले कानूनमा स्नातक अध्ययन गरिरहेको उनी बताउँछिन् ।

‘अहिले सहसचिवको तयारीमा छु । त्यसपछि सचिव हुँदै मुख्यसचिव बनेर निजामती सेवाको नेतृत्व गर्ने सपना छ’, विमला भन्छिन्, ‘औपचारिक शिक्षातर्फ विद्यावारिधि पूरा गर्ने पनि रहर छ ।’

Comments

One response to “सुब्बा र अधिकृत सँगसँगै भएका निजामती जोडी- उपसचिवमा श्रीमतीभन्दा पछि परे पति”

  1. Laleek Avatar
    Laleek

    अग्रिम शुभकामना छ जोडिलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *