काठमाडौं । फेसबुकमा अभूतपूर्व जनसमर्थन प्राप्त गरिरहेका काठमाडौंका महानगरपालिकाका मेयर बालेन्द्र शाह आफ्नै अड्डाभित्र भने कमजोर बन्दै गएका छन् । जनप्रतिनिधिहरु र कर्मचारीयन्त्रलाई विश्वासमा लिन नसक्दा पछिल्लो समय उनी एक्लिँदै गएको महानगर स्रोतको दाबी छ ।
यतिबेला महानगरका टप थ्री (मेयर बालेन्द्र, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं) बीच नै समझदारी र समन्वय छैन । काठमाडौं टावरको नक्सापासमा भ्रष्टाचार गरेको आरोप लगाउँदै बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई अघोषित निलम्बनमा राखेका थिए । कर्मचारी र जनप्रतिनिधिको सहयोगमा गुरागाईंं १०३ दिनपछि कार्यालय फर्किए, तर बालेनसँग उनको सम्बन्ध उराठलाग्दो छ ।
बालेनले गुरागाईंलाई कार्यालय प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गराएका थिए । राजु पाण्डेकै नेतृत्वमा उत्रिएको नगरप्रहरीको भीड छिचोल्दै कर्मचारी-जनप्रतिनधिले गुरागाईंलाई स्कर्टिङ गरेर कार्यालयकक्षसम्मै पुर्याइदिए । त्यसक्रममा कार्यकक्षको ढोकासमेत फुटाइएको थियो । त्यसपछि रुष्ट भएका बालेन अहिलेसम्म प्रशासकीय अधिकृतसँग नबोलेको स्रोतले बतायो ।
‘त्यो घटनापछि अहिलेसम्म मेयरज्यूले प्रशासकीयज्यूसँग भेट्नु भएको र बोल्नु भएको छैन’, स्रोतले भन्यो ।

मेयर र प्रशासकीय अधिकृतबीच संवादहिनता रहेको अवस्थामा महानगरका काम-कारबाही कसरी अगाडि बढिरहेका छन् त ? भन्ने प्रश्नमा स्रोतले भन्यो– दैनन्दिन काम अनलाइनबाट हुन्छ । दिर्घकालीन महत्वका काम केही भएकै छैनन् ।
आफैंले गठन गरेको छानबिन समितिले पनि गुरागाईंलाई ‘भ्रष्टाचारी’ ठहर्याउन नसकेपछि बालेनले प्रतिवेदन नै बुझ्न मानेनन् । त्यसपछि महानगरकै विभागीय प्रमुखहरुलाई बैकल्पिक प्रतिवेदन लेख्न अह्राए । विभागीय प्रमुखहरुले दिएको प्रतिवेदनमा पनि प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार गरेको ठहर्याइएको छैन । तर, बालेनले फेसबुकमा अझै पनि भ्रष्टाचारको रट लगाइरहेकै छन् ।
बालेनलाई अहिले महानगरभित्रका अधिकांश कर्मचारी तथा वडाध्यक्षहरुको पनि साथ छैन । उनको स्वेच्छाचारी शैलीबाट अधिकांश वडाध्यक्षहरु बिच्किएका छन् । अर्को कारण चाहिँ दलीयता हो । काठमाडौंका ३२ वडाध्यक्षमध्ये ३० जना (१८ जना कांग्रेस र ११ जना एमाले) सत्तारुढ दलबाट निर्वाचित हुन् । बाँकी दुईमध्ये एक नेकपा एस र अर्का रास्वपाका हुन् । यसअघि काठमाडौंमा १६ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको आकस्मिक निधनपछि भएको उपचुनावमा रास्वपाकी रोजिना श्रेष्ठ विजयी भएकी थिइन् ।
हेर्नुस सूची
उपमेयर सुनिता डंगोल पनि एमालेबाट निर्वाचित हुन् । २०७९ सालको चुनावमा उनले सुरुमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् भने पछि एमालेले उनलाई पार्टीबाट टिकट दियो । सुनिताले बालेनभन्दा बढी मत ल्याएर (बालेन- ६२ हजार ७६७, सुनिता- ६८ हजार ३१२) विजयी भएकी थिइन् । ४० भन्दा कम उमेरका युवा मेयर र उपमेयर पाउँदा काठमाडौंवासी हर्षित भएका थिए । लामो समयसम्म उनीहरुबीच ट्युनिङ मिलेको पनि देखिन्थ्यो ।
तर, बालेनको एकलकाँटे शैली र सुनितामाथि पार्टीको लगामले गर्दा अहिले आएर उनीहरुबीच गम्भीर असमझदारी उत्पन्न भएको छ । बालेन काठमाडाैं नभएको बेला प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेश गराउन सुनिताले सक्रिय भूमिका खेलेकी थिइन् । त्यसबेला समन्वयकारी र अभिभावकीय ढंगले प्रस्तुत भएको भन्दै उनी प्रशंसित पनि भइन्, तर त्यसको केही दिनपछि एमालेको कार्यक्रममा पुगेर गरेको भाषणले सुनितालाई ‘ब्याक फायर’ भयो ।

प्रायः सन्तुलित र संयमित अभिव्यक्ति दिएर विवादबाट बच्दै आएकी सुनिताले लोकतन्त्र दिवसका अवसरमा वैशाख ११ गते भृकुटीमण्डपमा एमालेले गरेको कार्यक्रममा आफ्नो शैली विपरीत ‘आक्रामक’ भाषण गरेकी थिइन् । ‘स्टन्ट गरेर देश बन्छ ?’ भन्ने बालेन लक्षित उनको अभिव्यक्ति निकै भाइरल भएको थियो । अहिलेसम्म पनि त्यही भाषणका कारण बालेनका समर्थकहरुबाट उनी निरन्तर गाली र ‘आरआईपी’ खाइरहेकी छन् ।
बालेन र सुनिताबीच टहराव सुरु भएको चाहिँ प्रमुख प्रशासकीय अधिकृतकै प्रकरणबाट हो । सुनिता प्रशासकीय अधिकृत गुरागाईंले भ्रष्टाचार गरेको प्रमाणित नभएको हुँदा उनलाई निरन्तरता दिने पक्षमा थिइन् । बालेन भने सरकारसँग अर्को प्रशासकीय अधिकृत मागिरहेका थिए । सुनिताले प्रधानमन्त्री केपी ओलीको दबाब र निर्देशनमा गुरागाईंलाई हाजिर गराएको बुझाइ बालेनको छ । अहिले मेयर र उपमेयरबीच सामान्य भेटघाट र बोलचाल भए पनि विश्वासको वातावरण समाप्त भएको स्रोत बताउँछ ।
उपमेयर डंगोल सुरुदेखि नै एकप्रकारको ‘ट्रयाप’ मा समेत थिइन् । मेयर बालेन एमाले र खासगरी केपी ओलीमाथि सामाजिक सञ्जालमा खनिँदै जाँदा उपमेयर डंगोललाई सन्तुलन मिलाउन सहज थिएन । लोकप्रियताको शिखरमा रहेका बालेनसँग निहुँ खाेज्दा आफ्नो लोकप्रियतामा पुग्न सक्ने क्षति उनले बुझेकी छन् । अर्कोतिर ‘बा’ लाई बिच्क्याउन पनि चाहन्नन्, किनकि अर्को चुनाव उनी सम्भवतः एमालेबाटै मेयरमा लड्ने मनसाय होला । सुनितालाई खुकुरीको धारमा हिँडेजस्तो भएको हुनुपर्छ ।
काठमाडौंका अधिकांश वडाध्यक्षहरु उपमेयर डंगोलको समर्थनमा छन् । एमालेबाट निर्वाचित ११ जना वडाध्यक्षले उनलाई साथ दिने नै भए, कांग्रेसका १८ वडाध्यक्षको सहानुभूति पनि सुनिताप्रति नै छ । अहिलेसम्म बालेनको समर्थनमा देखिएकी एक मात्र वडाध्यक्ष रास्वपाकी रोजिना हुन् । बालेनसँग सम्वन्ध राम्रो बनाउने रास्वपाको पार्टीगत लाइनमा उनी बाँधिएकी छन् ।
केही दिनअघि बालेनले आफ्ना ‘विरोधी’ चारजना वडाध्यक्षहरुको जिम्मेवारी खोसेर नयाँ नियुक्ति गरेका थिए । प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय भित्र्याउन अगुवाइ गरेका र सञ्चारमाध्यममा बालेनविरुद्ध अभिव्यक्तिसमेत दिएका महानगरका प्रवक्ता तथा १७ नम्बरका वडाध्यक्ष नवीन मानन्धर (कांग्रेस) लाई बालेनले सूचना प्रविधि समितिबाट हटाए । उनको प्रवक्ताको जिम्मेवारीबारे भने कुनै निर्णय भएको छैन । मानन्धरको ठाउँमा एमालेका वीरेन्द्र प्रजापतिलाई ल्याइयो ।
वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी (कांग्रेस), वडा नम्बर ८ का अध्यक्ष आशामान संगत (कांग्रेस) र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन (एमाले) लाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट बालेनले हटाएका छन् । उनले सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की (कांग्रेस), सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी (कांग्रेस) र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ (रास्वपा) संयोजक तोकेका छन् ।
बालेनलाई झट्का त्यतिबेला लाग्यो जब उनले प्रतिस्थापन गरेर ल्याएका ४ मध्ये रास्वपाकी रोजिनाबाहेक तीनजना वडाध्यक्षले जिम्मेवारी अस्वीकार गरिदिए । कार्यपालिका वैठकबाट निर्णय अनुमोदन नगरी आफूहरुले जिम्मेवारी नलिने भन्दै उनीहरुले मेयरलाई संयुक्त पत्र पठाएका छन् । पुरानालाई हटाइसकेको र नयाँले जिम्मेवारी नलिएको अवस्थामा तीनवटै समिति निस्क्रिय बनेको महानगर स्रोतले बतायो ।
कार्यपालिकाभित्र अल्पमतमा बालेन, बैठक टार्दै
महानगर कार्यपालिकाको बैठक एक महिनाको अन्तरालमा बस्नुपर्ने कानूनी प्रावधान छ, तर ४ महिनाभन्दा बढी समयदेखि देखि बस्न सकेको छैन । पछिल्लो बैठक पुसमा बसेको थियो । कार्यपालिकामा आफू अल्पमतमा परेपछि मेयर बालेनले वैठक टार्दै आएको आरोप वडाध्यक्षहरुले लगाइरहेका छन् ।
महानगर कार्यपालिकामा मेयर र उपमेयर सहित ३२ वटै वडाका वडाध्यक्षहरु सदस्य रहन्छन् । त्यसपछि थप ६-७ जना विभिन्न पार्टीबाट मनोनित छन् । प्रशासकीय अधिकृत सदस्य सचिव हुन्छन् । मेयरले प्रशासकीय अधिकृतलाई एजेन्डाहरु दिने र अधिकृतले वैठक डाक्ने प्रणाली छ । तर, मेयरले यसमा कुनै चासो दिएका छैनन् । गत माघदेखि कार्यपालिका वैठक बस्न सकेको छैन । वडाध्यक्षहरुले वैठक माग गरिरहेका छन् ।
महानगरका हरेक महत्वपूर्ण निर्णयहरु कार्यपालिका वैठकले गर्नुपर्छ । चार महिनादेखि वैठक नबस्दा सबै नीतिगत कामहरु ठप्प रहेको स्रोतले बतायो । यसको सबैभन्दा ठूलो असर आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा पर्ने देखिएको छ । महानगरको बजेट र नीति-कार्यक्रम कार्यपालिका वैठकबाट पारित गर्नुपर्छ । १० असारभित्र बजेट ल्याइसक्नुपर्छ, तर अहिलेसम्म छलफलसमेत सुरु भएको छैन । फेसबुके स्टन्टवाजीमै रमाइरहेका बालेनले यसमा गम्भीरता नदेखाएको आरोप वडाध्यक्षहरुको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको भिटो लाग्नेजस्तो नगर कार्यपालिका बैठकमा मेयरको भिटो लाग्दैन । यदि कुनै पनि प्रस्तावमा विवाद आएको खण्डमा बहुमतका आधारमा निर्णय लिने प्रावधान रहेको छ । बालेनसँग बहुमत नरहेको हुँदा उनले चाहेको प्रस्ताव सहजै पारित हुने अवस्था छैन । त्यही भएर पनि उनी कार्यपालिका वैठक डाक्न हच्किरहेको महानगर स्रोतले बतायो ।
नगर प्रमुखको दरिलो साथ, तर कहिलेसम्म ?
मेयर शाहलाई यदि कसैले दरिलो साथ दिइरहेको छ (आफ्नै सचिवालयबाहेक) भने त्यो नगर प्रहरीका निमित्त प्रमुख राजु पाण्डे हुन् । पाण्डे यसकारण पनि बालेनप्रति वफादार छन् कि नगर प्रहरी प्रमुख हुने सौभाग्य उनलाई बालेनबाटै मिलेको हो । यसअघि एसपी धनपति सापकोटा नगरप्रहरी थिए । तर आफूले भनेको हुबहु नमान्दा बालेन उनीबाट सन्तुष्ट हुन सकेनन् । खासगरि नर्भिक हस्पिटलको टहरा भत्काउने सन्दर्भमा कानूनी प्रावधान पूरा गर्नुपर्ने सन्दर्भ उठाएपछि धनपतिसँग बालेनको रुष्ट बने ।

काठमाडौं नगर प्रहरीमा ५ एसपीको दरबन्दी छ, जसमध्ये धनपति प्रमुख थिए । उनलाई माइनस गर्दै बालेनले पाण्डेलाई एसएसपीमा बढुवा गरे र नगर प्रहरीको निमित्त प्रमुख बनाए । त्यसपछि धनपति जागीर छाडेर हिँडेका थिए । काठमाडौं महानगरको कार्यपालिका वैठकले सर्वसम्मतिबाटै पाण्डेलाई एसएसपीमा बढुवा गर्ने निर्णय लिएको थियो ।
अहिले पाण्डेको पद पनि धरापमा परेको छ । प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई सात दिनको म्याद दिएर स्पष्टीकरण सोधेका छन् । आफूलाई कार्यालय पस्न अवरोध गरेकोमा उनले स्पष्टीकरण सोधेका हुन् ।
महानगर प्रहरी ऐन २०८० अनुसार नगर प्रहरी प्रमुख प्रमुख प्रशासकीय अधिकृतको मातहतमा रहन्छ ।
ऐनको परिच्छेद ५ अन्तरगत दफा १८ (३) मा भनिएको छ, ‘महानगर प्रहरीले पालना गर्नुपर्ने आचरण, अनुशासन र आन्तरिक व्यवस्थाको कुरामा बाहेक नगर प्रहरीको समग्र परिचालन, प्रत्यक्ष रेखदेख र नियन्त्रण प्रमुख प्रशासकीय अधिकृतले गर्नेछ ।’
यसप्रकार कानूनतः नगर प्रहरीलाई सिधै मेयरले परिचालन गर्न मिल्दैन । तर, अहिलेसम्मको अभ्यासमा बालेनले प्रशासकीय अधिकृतलाई बाइपास गर्दै आफैं नगरप्रमुखलार्य आदेश दिने गरेका छन् । मेयरकको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत विरुद्ध नै नगर प्रहरी परिचालित भएको अस्वभाविक दृष्य महानगरमा देखिएको थियो ।
आफ्नो आदेशमा चल्नुपर्ने नगरप्रहरीले आफूलाई नै कार्यालय जान अवरोध गरेको अपमानजन्य घटनालाई बिर्सिन नसकेका गुरागाईंले ढिला गरी स्पष्टीकरण सोधेका हुन् । पाण्डेले दिने जवाफका आधारमा उनले थप निर्णय लिन सक्ने बुझिएको छ । पाण्डेले घटनाको दुई दिनपछि गुरागाईंलाई सलाम ठोक्दै माफी मागेका थिए ।
केमा चुक्दैछन् बालेन ?

बालेन एकजना दक्ष इन्जिनियर हुन् जसले आफ्नो भिजनसहित महानगरको मेयरमा उम्मेदवारी दिएका थिए । उनको भिजनलाई जनताले पत्याएर जिताए पनि ।
महानगरमा तीन वर्ष व्यतित गर्दा बालेनका सवल र दुर्वल पक्ष दुवै लगभग उजागर भइसकेका छन् । उनले काठमाडौंमा केही सुधारका कामहरु गर्न खोजे । खासगरि सडकको फुटपाथ खोली गर्ने र अवैध संरचनाहरु भत्काउने काममा उनको तदारुकता र अठोट देखियो । यसमा उनी कतै सफल र कतै असफल भए । काठमाडौंको फोहोर व्यवस्थापनमा पनि उनी तुलनात्मक रुपमा सफल देखिएका छन् ।
योभन्दा बाहेक काठमाडौं नगरवासीले महसुस गर्ने गरी उल्लेख्य परिवर्तन भने ल्याउन सकेका छैनन् । योबीचमा उनले आफ्नो केही फरक शैली देखाए । मेयर भएयता उनी कुनै पनि मिडियामा अन्तरवार्ता दिएका छैनन् । आफ्नो भावना, आक्रोश कुण्ठा सबै सामाजिक सञ्जालमा नै पोख्दै आएको छ । यही सामाजिक सञ्जालले उनको लोकप्रियतालाई जोगाइरहेको छ । उनी फेसबुकबाट सरकार र प्रधानमन्त्रीलाई अनादरपूर्वक लर्कान्छन्, जसले आममानिसहरुलाई द्रविभूत बनाउँछ । उनी ‘साहसी’ छन् भन्ने छाप परेको छ ।
आँकडाहरुले भने काठमाडौं महानगरभित्र बालेनले उत्कृष्ट कार्यसम्पादन गरिरहेका छन् भन्ने देखाउँदैनन् । हालै सार्वजनिक भएको महालेखा परिक्षकको प्रतिवेदनले देशका ६ वटा महानगरमध्ये सबैभन्दा बढी बेरुजु काठमाडौं महानगरको देखायो । सँगैको ललितपुर महानगरको बेरुजु ५ करोड ५५ लाख हुँदा काठमाडौंको बेरुजु ६८ करोड २ लाख छ ।
विकास खर्चमा पनि काठमाडौं महानगरको सन्तोषजनक छैन । बालेन आएपश्चात आर्थिक वर्ष २०७९÷८० मा काठमाडौंको विकास खर्च ६ वटै महानगरमध्ये सबैभन्दा कम (३६ प्रतिशत) थियो । आव २०८०÷८१ मा सुधार भएर ४२.३५ प्रतिशत विकास खर्च भयो, जुन पाँच वर्षयताको उच्च हो । तर पनि यसमा सन्तोष मान्ने ठाउँ किन छैन भने विकासका लागि छुट्याइएको आधाभन्दा बढी रकम बालेनले खर्च गर्न सकेनन् ।
चालु आवका ७ महिनाको आँकडामा काठमाडौं महानगरको विकास खर्च १३.४० प्रतिशत छ, जुन ६ वटै महानगरको औसत विकास खर्च (१७.९०) भन्दा कम हो । यसप्रकार बेथिति नियन्त्रण र विकास निर्माणका दृष्टिकोणले बालेनलाई ‘सफल मेयर’ मान्न सकिने अवस्था छैन ।
राजनीतिक सुझबुझ र समन्वयकारी भूमिकामा बालेन निकै फितला सावित भए । केन्द्र सरकारसँग अलगथलग भएर कुनै पनि स्थानीय तह सञ्चालन हुन सक्दैन । समन्वय र समझदारीको विकल्प छैन । ढिलो चाँडो बालेनले यो तथ्यलाई आत्मसात गर्नैपर्छ । नेताहरुलाई गाली गरेर, प्रधानमन्त्रीलाई लल्कारेर प्राप्त हुने लोकप्रियता क्षणभंगुर हुन्छ भन्ने बुझ्न बालेनले ढिलाइ गर्नु हुँदैन ।

Leave a Reply