ट्रम्पसँग दुई घण्टा बढी के भयो कुराकानी ? यसो भन्छन् पुटिन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनको दुई घण्टा भन्दा धेरै समय भएको टेलिफोन कुराकानीमा पुटिन खुलेका छन् । पुटिनले रुसी पत्रकारहरूलाई आफ्नो फोन कुराकानीको बारेमा जानकारी दिँदै लामो बयान दिएका छन् । रुसी विश्व च्यानल आरटीका अनुसार यस्तो छ ट्रम्पसँगको पुटिनको कुराकानीबारेमा पुटिनले भनेको कुराको पुर्णपाठः

‘हाम्रा साथीहरूले मलाई अमेरिकाका राष्ट्रपतिसँगको मेरो टेलिफोन वार्ताको नतिजाबारे संक्षिप्त टिप्पणी गर्न आग्रह गर्नुभएको थियो ।

यो कुराकानी वास्तवमै सम्पन्न भयो र दुई घण्टा भन्दा बढी समयसम्म चल्यो ।  म यो कुरामा जोड दिन चाहन्छु कि हाम्रो निकै गहन र स्पष्ट संवाद रह्यो । समग्रमा म यसलाई निकै फलदायी आदानप्रदान भएको ठान्दछु ।

सबैभन्दा पहिले त मैले रुस र युक्रेनबिच शान्ति सम्झौता सम्भवतः हासिल गर्ने र सन २०२२ मा युक्रेनी पक्षले अवरुद्ध गरेका वार्ताहरू पुनः सुरु गर्ने उद्देश्यले प्रत्यक्ष वार्ता पुनः सुरु गराउन अमेरिकी समर्थनप्रति अमेरिकाका राष्ट्रपतिलाई आभार प्रकट गरे ।

अमेरिकाका राष्ट्रपतिले द्वन्द्व अन्त्य र युद्ध विरामको सम्भावनाबारे आफ्नो धारणा सुनाउनु भयो । मेरो पक्षबाट, मैले पनि रुस पनि युक्रेन संकटको शान्तिपूर्ण समाधानको पक्षमा रहेको बताए । अब हामीले गर्नुपर्ने काम भनेको शान्ति स्थापना गर्ने सबैभन्दा प्रभावकारी उपायहरू पहिचान गर्नु नै हो ।

हामीले अमेरिकाका राष्ट्रपतिसँग रुसले युक्रेनी पक्षसँग मिलेर भविष्यको सम्भावित शान्ति सम्झौतासम्बन्धी एउटा ज्ञापन तयार गर्ने प्रस्ताव राख्नेछ र यसमा संलग्न हुन तयार रहेकोमा सहमति जनायौँ ।  यसमा समाधानका सिद्धान्तहरू, सम्भावित शान्ति सम्झौताका लागि समय सीमा, र आवश्यक सहमति प्राप्त भएमा अस्थायी युद्ध विराम जस्ता विषयवस्तु समावेश हुनेछन् ।

टर्कीको राजधानी इस्तानबुलमा भएको वार्ता र बैठकका सहभागीहरूबिच पुनः सम्पर्क सुरु भएको छ । यसले हामी सही मार्गमा अगाडि बढिरहेका छौं भन्ने विश्वास दिन्छ ।

म फेरि एक पटक भन्न चाहन्छु कि संवाद निकै रचनात्मक रह्यो र म यसलाई सकारात्मक रूपमा मूल्याङ्कन गर्दछु ।  मुख्य कुरा अब युक्रेनी र रुसी पक्षले शान्तिप्रति दृढ प्रतिबद्धता देखाउने र सबै पक्षहरूलाई स्वीकार्य हुने सम्झौता गर्न अग्रसर हुने हो ।

खासमा रुसको धारणा स्पष्ट छ । यो संकटका जरा कारणहरू हटाउनु नै हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

यदि थप स्पष्टीकरण आवश्यक परेमा प्रेस सचिव दिमित्री पेस्कोभ र मेरो सहयोगी श्री उशाकोभले आज राष्ट्रपति ट्रम्पसँगको टेलिफोन वार्ताबारे थप जानकारी दिनेछन् ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *