विराटनगर । कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
कोशी प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठकमा सोमबार सार्वजनिक भएको नीति तथा कार्यक्रममा प्रदेश संरचनाको महत्त्व र आवश्यकतालाई केन्द्रमा राखी सङ्घीय व्यवस्थालाई सुदृढ गर्ने मुख्य लक्ष्य लिएको छ।
नीति तथा कार्यक्रममा आन्तरिक राजस्वको दायरा विस्तार गरी वित्तीय सुशासनको लागि स्रोतको दिगो व्यवस्थापन गर्न नीतिगत एवम् संस्थागत सुधार गर्ने नीति तथा कार्यक्रमको मुख्य उद्देश्य रहेको प्रदेश प्रमुख खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार, कृषि, सूचना प्रविधिलगायत अन्य पूर्वाधार र नीतिगत संरचना निर्माणलाई उच्च प्राथमिकता दिई प्रदेशको दिगो विकासमा जोड दिइएको छ ।
यसैगरी नीति तथा कार्यक्रममा प्रदेश लगानी सम्मेलनका उपलब्धिलाई संस्थागत गर्दै सार्वजनिक निजी-सहकारी साझेदारी तथा निजी अवधारणामा परियोजना विकास र निर्माण गर्न संस्थागत एवम् नीतिगत सुधारमा जोड दिने उल्लेख छ।
नीति तथा कार्यक्रममा कोशी पर्यटन वर्ष २०८२ लाई पर्यटन विकासको आधार वर्षको रूपमा लिई नीतिगत, संरचनागत, पर्यटन पूर्वाधार विकास एवम् प्रवर्द्धन गर्दै राष्ट्रिय पुँजीको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

Leave a Reply