जितपुर-सिमरा महोत्सव अबेरसम्म चलाइएपछि प्रहरीको एक्सन, गायकबाट डीएसपीले खोसिन् माइक

वीरगञ्ज । जितपुर सिमरा उपमहानगरपालिकाको शान्ति टोलस्थित खेल मैदानमा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा तोकिएको समयसीमा उल्लंघन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रशासनले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मात्र कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो । तर, आयोजकले शनिबार राति ९ बजेसम्म टिकट बेचिरहेका थिए । राति भोजपुरी गायक सुनील पण्डितले गीत गाइरहँदा इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा वाइबा आफैँ स्टेजमा पुगेर माइक खोस्दै साउण्ड सिस्टमको तारसमेत झिकिदिएकी थिइन् ।

डीएसपी वाइबाले महोत्सवमा भिड बढ्दै गएको र सम्भावित झडप हुने देखेकाले कार्यक्रम रोकेको बताइन् । उनले भनिन्, ‘हामीले परिस्थितिको मूल्यांकन गरेर कार्यक्रम रोकेका हौं ।’

यस घटनाको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल छ । काठमाडौंमा बलिउड नायिका एवं डान्सर नोरा फतेहीको कन्सर्ट भने निर्वाध चल्न दिइएको भन्दै एउटै देशमा दुईवटा कानून भनेर टिप्पणीसमेत गरिरहेका छन् ।

यसबारे डीएसपी वाइबाले भनिन्, ‘कहाँ के हुँदैछ, त्यो हाम्रो सरोकार होइन, हामीले हाम्रो जिल्लामा शान्ति सुरक्षाको अनुभूति गराउनु पर्छ ।’

उनले थपिन्, ‘ठमेलमा रातभरि कार्यक्रम हुन्छ, त्यहाँ प्रहरी रोक्न गएको छैन । कति समयसम्म कार्यक्रम गर्ने भन्ने कुरा प्रशासनको अनुमति र समन्वयमा गर्नुपर्छ ।’

गायक सुनील पण्डितले प्रहरीको हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा खेद जनाएका छन् ।

उनले लेखेका छन्, ‘शनिबार राति ९ बजेर ५ मिनेट जाँदा इलाका प्रहरी कार्यालय सिमराकी डीएसपी शुभद्रा वाइबाको टोलीले कार्यक्रम चलिरहेको बेला मेरो हातबाट माइक लिई स्पीकरको तारसमेत चुडाइँ कार्यक्रम रोकिदिए । यसले आयोजक र स्थानीय बासिन्दालाई असर परेको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *