पत्रकारको नाममा प्रहरी, हाेटल र लजमा असुली धन्दा 

सिरहा । पत्रकारको नाममा अवैद्य र अनैतिक कार्य गर्ने गैरपत्रकारहरुलाई कारबाही गर्ने नेपाल पत्रकार महासंघ सिरहा शाखाले चेतावनी दिएको छ ।

केही गैरपत्रकारहरुले अवैद्य र अनैतिक कार्य गरिरहेको भन्दै महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैताले आज विज्ञप्ति जारी गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सिराहामा हाल केही गैरपत्रकार व्यक्तिहरूले आफू पत्रकार भएको भन्दै विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय निकाय, व्यापारिक संस्था, प्रहरी चौकी, होटल, लज लगायत स्थानहरूमा गएर धाकधम्की दिने, पैसाको बार्गेनिङ गर्ने तथा जबरजस्ती पत्रकार सम्मेलन गराई दिने भन्दै पीडितहरूसँग रकम असुली गर्ने कार्यहरू भएको गुनासो प्राप्त भएको छ ।’

‘नेपाल पत्रकार महासंघसँग आबद्ध रहेको झूठो दाबी गर्दै, महासंघका कार्यसमिति सदस्यहरू आफ्नो दाइ, काका वा मामा भएको बताई सामाजिक भ्रम फैलाउने काम गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘जुन अत्यन्त निन्दनीय र गैरकानुनी कार्य हो ।’

पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आँच पुऱ्याइरहेको हुँदा, नेपाल पत्रकार महासंघ सिराहा शाखा सम्पूर्ण सरोकारवालाहरूलाई यस्ता तत्वहरूबाट सजग र सचेत रहन विज्ञप्तिमार्फत् सभापति बनैताले आग्रह गरेका छन् ।

अवैद्य र अनैतिक कार्यमा संलग्न व्यक्तिहरू फेला परेमा वा यस्ता गतिविधिहरू देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल पत्रकार महासंघ सिराहा शाखालाई जानकारी गराउन आग्रह गर्दै सभापति बनैताले अवैध र अनैतिक कार्यमा संलग्न व्यक्तिहरूलाई तत्कालै कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सभापति बनैताले १०/१५ जना गैर पत्रकारहरुले प्रहरीसँग साँठगाँठ गरी असुली धन्दा चलाएको गुनासो आएपछि विज्ञप्ति जारी गर्नु परेको जानकारी दिए । उनले भने, ‘आज विज्ञप्ति मार्फत् सचेत गराएका छौं । फेरी पनि गुनासो आए कानूनी उपचार खोज्छौं ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *