कांग्रेस बैठकमा रूवाबासी: माया घुँक्कघुँक्क गरेपछि अरु पनि सुँक्कसुँक्क

काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस संसदीय दलको बैठकमा आज केही फरक दृष्य देखिएको छ ।

नयाँ बजेटलगायत समसामयिक विषयमा छलफलका लागि बोलाएको बैठक आँसु, एमाले र प्रधानमन्त्री ओलीप्रतिको अविश्वास र पार्टी नेतृत्वसँगको आक्रोशपूर्ण माहोलमा बितेको एक सांसदले बताए ।

केही दिनअघि पक्राउ परेर धरौटीमा छुटेकी सांसद माया राई बैठकस्थलमा धरधरी रोएपछि सांसदहरू स्तब्ध बनेका थिए । उनले आफूमाथि षड्यन्त्र भएको भन्दै रुँदैरुँदै व्यथा पोख्दा अर्की सांसद मञ्जु खाण पनि रोएकी थिइन् ।

‘मायाजी धेरै रुनुभयो । बैठकमा साँकसुँक गर्दै धेरैजना भावुक भएका थिए’, ती सांसदले नेपाल प्रेससँग भने ।

‘मैले सुत्केरी अवस्थामा ओम अस्पतालको बेडबाट उठेर आएर पनि संसदीय दलमा शेरबदुर दाइलाई भोट हालेको’, मायाले रुँदै भनेकी थिइन्, ‘दुई वर्षको बच्चासहित हिरासतमा बस्दा ममाथि राम्रो व्यवहार पनि भएन’, बच्चाले, मैले दु:ख पायौं । एउटा भाइले सहकारीमा बसौं भन्यो बस्देँ कुनै दिन पनि बैठकमा भाग लिएको पनि थिइनँ ।’

केही सांसदले गठबन्धनमा पार्टीको हैसियतअनुसारको कुरा नसुनिएको भन्दै प्रधानमन्त्री केपी ओलीमाथि विश्वास नगर्न देउवालाई सुझाव दिएका छन् ।

बैठकमा सहभागी सांसद ।

ओलीले कांग्रेसभित्रकै सांसदलाई गुपचुप आफ्नो इसारामा चलाइरहेको केहीले जिकिरसमेत गरेका छन् । एमाले कांग्रेसको प्रमुख प्रतिस्पर्धी भएकाले सहकार्य घातक हुनसक्ने भन्दै नेतृत्वलाई झक्झक्याएका छन् ।

एक सांसदले भने, ‘प्रधानमन्त्रीले बेलाबेलामा देउवालाई कुर्सी सुम्पिने भन्दै दिएको डेटलाइनबारे पनि केही माननीयले जोडले कुरा उठाउनुभयो । यो असंवैधानिक, भ्रमपूर्ण र रणनीतिक चलखेल भएकाल सचेत रहन भन्नुभयो ।’

गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ, नेतृत्वमाथि पार्टीकै नेतामा बढ्दै गएको विश्वासको संकटबारे प्रश्न उठाउँदै अब पनि कांग्रेसले नेतृत्व लिने कि अरूको चालमा चल्ने ? भन्ने पनि प्रश्न उठेको स्रोतको भनाइ छ ।

बजेट समानुपातिक र सन्तुलित ढंगले वितरण हुनुपर्ने आवाज पनि उठेको थियो । केहीले निर्वाचन क्षेत्र (सांसद विकास कोष) नआए बजेट अस्वीकार गर्नेसम्मको चेतावनी दिएका छन् ।

सरिता प्रसाईँ, शंकर भण्डारी, हृदयराम थानीहरूले पनि बैठकमा कुरा राखेका थिए । कान्छाराम तामाङले आफूलाई अपमानजनक ढंगले हटाइएको भन्दै आक्रोश पोखे ।

बैठकबाट निस्किँदै कान्छारामले पत्रकारमाझ कुलमानको तारिफ गरेका थिए । बिहान ६ बजेदेखि नै फोन कुलमान खट्ने गरेको भन्दै उनले अहिले ‘बाहिर बसेर मजाले रमित हेरिरहेको’ बताए ।

आजको बैठकमा समीक्षा राम्रोसँग भएको उनको भनाइ थियो । सभापति देउवालाई आजजति सिरियस आफूले कहिले नदेखेको कान्छारामले सुनाएका थिए ।

‘सिरियस्ली लिनु भो काम चाहिँ अब थाहा हुन्छ । हाम्रो सभापति अलि इमान्दार नै हुनुन्छ । नत्र ओलीजी अहिलेसम्म बालुवाटारमा हुनुन्थेन’, सांसद तामाङले भने ।

सांसद राजेन्द्र बजगाईंले जिल्लादेखि केन्द्रसम्म पार्टीभित्रैका सत्रुले साथीहरू समाप्त पार्ने प्रयासमा लागिरहेको बताएका थिए । आन्तरिक एकता खुम्चिएको भन्दै उनले समीक्षा गर्न ढिला भइसकेको बताए ।

बजगाईंले बुढीगण्डकी जलविद्युत्‌लगायतका ठूला राष्ट्रिय योजनामा पार्टीले नेतृत्व लिनुपर्नेमा जोड दिएका थिए ।

बैठकपछि कांग्रेसका नेताहरूले माओवादीसँगको सम्भावित गठबन्धनबारे पत्रकारको जिज्ञासालाई खारेज गरेका छन् । तर, बैठकमा सरकारको काम गराइ, प्रधानमन्त्रीको कार्यशैली र पार्टीको भूमिकाबारे सवाल आएको उनीहरूले स्वीकारेका छन् ।

प्रवक्ता प्रकाशशरण महतले प्रचण्डको फोन र जनार्दनको बूढानीलकण्ठ प्रवेश संयोगमात्र भएको प्रष्टीकरण दिए ।

महतले पार्टीको हैसियतअनुसारको निर्णय नभएको भन्दै चिन्ता जनाइनु स्वाभाविक भएको बताए ।

‘ठूला दुई पार्टीको गठबन्धन हुँदा हाम्रा कुरा यथेस्ट सुनिएन कि ! भन्ने चासो चिन्ता हुनु स्वाभाविक हो । गभर्नरलगायतका नियुक्ति अलमलमा परिरहेका छन् । अनावश्यक ढिला भइरहेको छ । किन ढिला भएको ? किन त्यस्तो भयो भन्ने तमाम चिन्ता त राख्छ नै । हाम्रो पार्टीको हैसियतअनुसारका कुरा सुनिनु पर्‍यो । निर्णय त्यही अनुसार हुनुपर्‍यो भन्नुभएको छ साथीहरूले’, महतले भने ।

प्रमुख सचेतक श्याम घिमिरेले गभर्नर नियुक्ति, बजेटको सन्तुलित वितरणमा सांसदहरूले कुरा उठाएको बताए ।

घिमिरेले भने ‘बजेट वितरण समान ढंगले गर्नुपर्‍यो, क्षेत्रगत रूपमा सन्तुलित हुनुपर्‍यो भन्ने कुरा उठ्यो । संयुक्त सरकारमा हाम्रो पोजिसन के छ भन्ने ? आए । हामीले सजगतासहित बढ्ता जोड गर्नुपर्छ भन्नु स्वाभाविक नै हो ।’

देउवाले थोरै बोल्दै ‘हामी गरिरहेका छौं, लागिरहेका छौं । बिस्तारै हुन्छ।’ भनेर आश्वस्त पारेका छन् ।

Comments

3 responses to “कांग्रेस बैठकमा रूवाबासी: माया घुँक्कघुँक्क गरेपछि अरु पनि सुँक्कसुँक्क”

  1. ksp pyl Avatar
    ksp pyl

    मायाले सहकारी लुटिन । दोष केपिलाई ? मोहनले टेरामेक्स हाने । अख्तियारले समात्यो । दोष केपिलाई ? दलालहरूसँग त मै अघि सर्नुपर्छ कि क्या हो ?

    1. Dhirendra Rai Avatar

      मित्र लौ यत्ति काम चाँहि गरिदिनुपर्यो ।

  2. bharat kumar thapa Avatar

    नेकपा एमालेका कारण आज कांग्रेसको साख बढेको छ दोष जति एमालेलाई कुलमान र कान्छाराम के हुन आम नेपालीलाई थाहा छ राष्ट्र बैंकको गभर्नर पनि कांग्रेस ले पाउने रे टेरामक्स गलत भए पछि अनि यावद विषयमा बिबादास्पद काम कांग्रेस मन्त्री भएको ठाउमा आएको छ गलत भए पछि बच्नको लागि जे पनि बोल्छन् चित्त नबुझे निर्णय गर्दा भयो नि दोष मात्र बोक्नु भन्दा नेकपा एमालेले सत्ता बाहिर रहेर जनताको पक्षमा जादा वेस ।
    नेपाली कांग्रेस र एमालेले २०८१ असारमा भएको सहमति नबिर्सौ मुलुक गलत समुहको हातमा नजावस्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *