जीवराज आश्रितबारे १४ वर्ष राजनीतिक सहकार्य गरेकी शान्ता मानवी- महिला नेतृत्वका अभियन्ता (भिडिओ)

रुपन्देही । ‘कम्युनिस्ट पार्टीमा महिला नेतृत्वको जग बसाल्ने काम जीवराज आश्रितले नै गर्नुभयो ।’ यही ठोस र गहिरो स्मरणबाट सुरू हुन्छ नेतृ शान्ता मानवीको भावुक र ऐतिहासिक सन्देश । नेकपा एमालेका ती पुराना दिनहरू, भूमिगत संघर्षका ती पलहरू, र जननेतृत्व निर्माणमा समर्पित ती युगान्तकारी क्षणहरू यी सबैलाई जीवराज आश्रितको स्मृतिले अझ प्रखर बनाएको छ ।

आश्रित प्रतिष्ठानले ३२औं स्मृति दिवसका अवसरमा आयोजित ‘जीवराजसँग स्मृतिका ती दिनहरू’ विषयक कार्यक्रममा शान्ता मानवीले आश्रितसँग बिताएका १४ वर्षे राजनीतिक सहकार्यका दिनहरू उजागर गरिन् ।

उनले नारी नेतृत्व र सहभागिता संस्थागत गर्न आश्रितले खेलेको भूमिका यति प्रभावशाली ढंगमा प्रस्तुत गरिन् कि आज पनि त्यो योगदान राजनीतिक इतिहासको धरोहर जस्तै रहिरहेको छ ।

महिला संघको इन्चार्जदेखि स्थापनासम्मको अगुवाइ

शान्ता मानवी भन्छिन्, ‘जीवराज पार्टीमा १२ वर्ष महिला संघको इन्चार्ज हुनुभएको थियो, महिला संघ स्थापना गराउनुभयो । अहिलेको महिला संघको सूत्रधार उहाँ नै हो ।’

यस आधारमा आश्रित केवल संगठनका नेता थिएनन्, उनी संरचना निर्माणका आधार थिए । उनी सहभागीमात्र नभएर सशक्तीकरणका अभियन्ता थिए । पार्टीमा महिलाको सहभागिता, नेतृत्वको अनिवार्यता अनि प्रोत्साहन गरेर संगठित बनाउने कामको अगुवाइ आश्रितले नै गरेको उनले स्पष्ट पारिन् ।

एमालेमा महिला संघ स्थापना गर्ने र त्यसलाई अहिलेको अवस्थामा पुर्‍याउने श्रेय पनि उनले जीवराजलाई नै दिइन् । ‘म त्यसको साक्षी हुँ’, शान्ताले सगौरव भनिन् ।

राजनीतिक यात्राः बनारसदेखि दासढुंगासम्म

राजनीतिक सहकार्यको सुरूआत शान्ता मानवी र जीवराजबीच बनारसमा भएको थियो । ‘कसरी भेट भयो ? म पढाइको सिलसिलामा बनारस गएको बेला भेट भयो, पुष्पलाल पनि सँगै हुनुहुन्थ्यो । मदन विद्यार्थी हुनुहुन्थ्यो, मोदनाथ पश्रितको अगुवाइमा मैले उहाँहरुसँग भेटेँ र त्यसपछि अन्तिम समय २०५० सम्म उहाँहरुको मार्गनिर्देशनको आधारमा पार्टीको काम गरेँ’, उनले सुनाइन् ।

त्यो भेट इतिहास बन्यो । पुष्पलाल श्रेष्ठले मदन भण्डारीलाई केही गर्नसक्ने भनेर ‘धाप मारेको’ कुरा स्मरण गर्दै शान्ता भन्छिन्, ‘शोषण दमनको कुरा सुन्दा पढ्न गएका मान्छेको ध्यानाकर्षण भयो । अनि राजनीतिमा लागेँ ।’

बनारसमै अध्ययन मण्डल खोलेर विद्यार्थी संगठनको विस्तार भयो । आश्रित सधैं व्यवस्था फेर्ने ऊर्जाका स्रोत थिए । ‘२०३२ सालमा बनारसबाट जीवराजसँग नेपाल आएँ’, उनले भनिन् ।

व्यक्तित्वः नेतृत्व, संवेदनशीलता र व्यवहारिकता

जीवराज केवल सिद्धान्तका व्यक्ति थिएनन्, व्यवहारमै त्यति नै निपूर्ण थिए । ‘जतिबेला समस्या भए पनि जीवराजसँग जाने काम हुन्थ्यो’, शान्ता भन्छिन् । भूमिगत जीवनका अनेकौँ क्षणहरू, सेल्टर बसाइका दिनहरू, भाडा माझ्न रुचाउने जीवराज, यी सबै क्षणहरू जीवन्त बनाउँदै उनले भनिन्, ‘जतिसुकै समस्याको सरल जवाफ दिनसक्ने क्षमता उहाँसँग थियो ।’

‘मलाई जति महिला प्रतिनिधित्वलाई सबैभन्दा बढी गर्व लाग्ने । पार्टी संगठन बनाउँदा एक्लै जस्तो लाग्थ्यो, तर जीवराज जस्ता सहयात्रीका कारण त्यो यात्रा सफल भयो । महिला आन्दोलनमा ऊर्जा दिने नेताका रुपमा र अहिले एमालेमा महिला सहभागिताको अवस्थाको सुरुवात उहाँबाटै भएको थियो’, उनले थपिन्, ‘सिद्धान्त र व्यवहार मिलाउन सक्नुहुन्थ्यो । महिला आन्दोलनलाई अनिवार्य बनाउन ऊर्जा दिनुहुन्थ्यो ।’

२०३७ सालमा हेटौंडामा भएको महिला भेलामा उहाँहरूकै अगुवाइमा महिला संघ गठन भएको थियो । सुरुमा बनेको ७ जनाको कमिटीमा शान्ता मानवी संस्थापक अध्यक्ष बनिन्, त्यो पनि जीवराजको प्रस्तावमा । ‘महिला मुक्तिको नेतृत्वको अगुवाइ गर्नुभएको हो । भूमिगत महिला म थिएँ, बाहिरबाट गोमा देवकोटा, अष्टलक्ष्मी शाक्य र म शुरूदेखि अहिलेसम्म निरन्तर छौं ।’

दासढुंगा घटना र स्मृतिका अवशेष

यस्तो प्रतिबद्ध र ऊर्जावान नेतृत्वलाई नेपाली राजनीति दासढुंगा दुर्घटनामा गुमाउनुपर्‍यो । ‘उहाँहरू पोखराको महिला भेलामा सहभागी भएर फर्कने बेला त्यो दुर्घटना भएको हो’, शान्ताले भनिन् । त्यो घटना सम्झँदै शान्ता एकछिन बोल्न सकिनन् ।

दासढुंगा आज पनि एक रहस्यको नाम हो, जहाँ नेताहरूको योगदानभन्दा पहिले शंका र पीडाको इतिहास आउँछ, तर शान्ता मानवीको कथनमा त्यस घटनाभन्दा बढी महत्वपूर्ण छ- जीवराजले महिला नेतृत्वको आधार तयार गरिदिएको धरातलीय यथार्थ ।

मानवीको स्मरणअनुसार रूपन्देही कार्यकर्ता उत्पादन गर्ने कारखाना जस्तै बनेको थियो । ‘जीवराज आश्रित, देवेन्द्र घिमिरे, वामदेव गौतमसहितका नेताहरुसँग मैले रुपन्देहीमा लामो समय काम गरेकी हुँ भूमिगत कालमा, मदन भण्डारीसहित म पूर्व जान चाहन्थेँ, तर जीवराजले मान्नुभएन, यतैको जिम्मेवारी दिएर राख्नुभयो’, उनले भनिन् ।

कार्यकर्ता निर्माणको सन्दर्भमा पनि शान्ताको स्पष्ट धारणा छ, ‘रूपन्देही कार्यकर्ता उत्पादन गर्ने कारखाना थियो, त्यसको आधार जीवराज कमरेड हो ।’

मानवीको अनुसार जीवराज पार्टीको एक युग निर्माता नै हुन् । शान्ता मानवीको १४ वर्षे सहयात्राबाट प्रस्ट हुन्छ, जीवराज आश्रित केवल मदन भण्डारीका सहयात्री थिएनन् । उनी महिला नेतृत्वका संरचनात्मक अभियन्ता थिए । संगठन निर्माणका प्राज्ञ, व्यवहारिक राजनीतिका कुशल रणनीतिकार थिए ।

शान्ता मानवीले जति स्पष्ट ढंगले भनेकी छन्, ‘त्यो स्मरण केवल भावनाको विस्फोट होइन, त्यो त ऐतिहासिक तथ्य हो । मदन-जीवराज नभए मेरो अवस्था यहाँसम्म आउने थिएन । नेपालको कम्युनिष्ट आन्दोलनमा महिला सहभागिता, नेतृत्व र संगठन निर्माणको मियोका रूपमा जीवराज आश्रितलाई सम्झनु केवल श्रद्धा होइन, वर्तमान राजनीतिक यात्रामा मार्गदर्शन हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *