रुपन्देही । नेपालको राजनीतिमा लाग्ने धेरै जनप्रतिनिधि चन्दा, तलब वा भत्तामा निर्भर छन् । आफ्नो नियमित खर्च पनि अरूको भरमा चलाउने प्रवृत्ति विद्यमान रहँदा, प्युठानको स्वर्गद्वारी नगरपालिकाका मेयर टेकप्रसाद भण्डारी भने अपवाद हुन् । उनी न केवल एक सक्रिय राजनीतिकर्मी हुन्, बरु झण्डै एक दर्जन व्यावसायिक प्रतिष्ठानका सञ्चालकसमेत हुन् ।
उनी करोडौँ रुपैयाँको लगानीसहित स्वरोजगारको प्रेरक पात्रका रूपमा स्थापित छन् । स्वर्गद्वारी नगरपालिका-३ स्थित भिग्री जलुकेमा पुग्ने जो-कोहीलाई टेकप्रसाद भण्डारीको संघर्ष, लगनशीलता र व्यावसायिक यात्राले चकित पार्छ । उनका विषयमा स्थानीयलाई सोधेपछि यसको वास्तविकता सबै खुल्छ ।
विदेशको पसिना, स्वदेशको लगानी
भण्डारीले राजनीतिमा लागेसँगै विभिन्न ११ देशमा गएर कठोर संघर्ष गरेर ल्याएको रकम यहाँ ल्याएर व्यवसायमा लगाएका हुन् भने राजनीतिलाई पनि सँगै हिँडाएका छन् । २०२७ सालमा जन्मिएका टेकप्रसादले राजनीति र रोजगारी दुबैलाई सँगसँगै अगाडि बढाएका छन् । १५-१६ वर्षको उमेरमै नेपाल विद्यार्थी संघ (नेविसंघ)मार्फत राजनीतिमा होमिएका उनी २०५१ सालको चुनावपश्चात् रोजगारीका लागि साउदी अरेबिया पुगेको बताउँछन् । उनी ०४७ सालमा नेविसंघको जिल्ला सदस्य बनिसकेका थिए । राजनीतिक जीवन सहायक बनाउँदै उनी साउदी पुगेका थिए । त्यसपछि कतार, दुबई, अफगानिस्तान, कोरिया, टर्की, तुर्कमेनिस्तान हुँदै अन्ततः इराकमा लामो समय बस्न पुगे ।
भण्डारीका अनुसार इराकमै उनले सबैभन्दा धेरै कमाई गरे । ‘१२ जना नेपालीले ज्यान गुमाएको समयमा म पनि इराकमै थिएँ,’ उनी सम्झन्छन्, ‘८ वर्षको संघर्षपूर्ण बसाइपछि फर्कँदा मसँग केही सिप र थोरै पुँजी दुवै थियो ।’
त्यसो त उनको विदेशयात्रा साउदीमा मात्रै टिकेन । साथीहरूले कहिले कहाँ राम्रो कमाई, कहिले कहाँ राम्रो कमाई हुने सुनाएपछि उनले विभिन्न देश चाहारेका हुन् । साउदीबाट आएर उनी कतार, दुबई, अफगानिस्तान, कोरिया, टर्की, तुर्कीस्थानसहित सबैभन्दा धेरै समय इराकमा बसेको भण्डारीले बताए ।
‘अलिक कमाई धेरै हुने सम्भावना भएका देशहरू खोज्दै जाँदा धेरै देशमा पुगेर काम गरेको अनुभव संगालेको छ, धेरै समय इराकमा बसेँ, कमाई पनि त्यहाँ धेरै भयो, त्यहाँको रकम नै अहिलेको व्यवसायमा धेरै लगानी भएको हो’ उनले सुनाए । यति धेरै देश घुमेर फर्केपछि उनले यहाँ रहेका विभिन्न व्यावसायिक प्रतिष्ठानमा लगानी गरेका हुन् ।
परिवारको साथ, व्यवसायको बिस्तार
भण्डारीको वैदेशिक दौडधुप र राजनीतिक संघर्ष अनि अहिलेको व्यावसायिक यात्रासँगै जनप्रतिनिधिको जिम्मेवारी उस्तै रोचक छ ।
राजनीतिसँगै नगरपालिकाको मेयर भएकाले पनि उनको व्यवसायको अधिकांश जिम्मेवारी ५१ वर्षीय श्रीमती यमुना भण्डारी र दुई छोराहरूले काँध थापेका छन् । यमुनासँग टेकप्रसादले ०४८ सालमा विवाह गरेका थिए । टेकप्रसादले प्यूठानको मुख्य पर्यटकीय क्षेत्र स्वर्गद्वारी जाने मुख्य चोक रहेको भिग्री जलुकेमा त्यो क्षेत्रको सबैभन्दा ठूलो होटल स्वर्गद्वारी दर्शन प्रालि एण्ड रुपटफ रेष्टुरेन्ट सञ्चालन गरेका छन् जसको सबैजसो जिम्मेवारी अहिले ५१ वर्षीय श्रीमती यमुना भण्डारीले सम्हालेकी छन् । योसँगै अन्य दुई भवनमा त्यहाँ भण्डारीकै नेतृत्वमा होटल सञ्चालन भएका छन् ।
विदेशमा आर्जित पुँजी लिएर स्वदेश फर्किएका भण्डारीले राजनीतिसँगै व्यवसायमा लगानी सुरु गरे । हाल उनका प्रमुख व्यवसायहरूमा स्वर्गद्वारी दर्शन प्रा.लि. एण्ड रुपटफ रेष्टुरेन्ट, स्वर्गद्वारी पेट्रोल पम्प, महाप्रभु विल्डर्स, महाप्रभु कन्ट्रक्सन एण्ड सप्लायर्स, महाप्रभु रियल स्टेट, महाप्रभु समिल, महाप्रभु कृषि फार्म, र स्वर्गद्वारी आयल स्टोर (रोल्पाको सुलिचौरमा) छन् ।
भण्डारी परिवारले टेकप्रसादले विदेशबाट कति रकम ल्याएको भनेर खुलाउन त चाहेनन् तर स्थानीयले टेकप्रसादले इराकबाट मात्रै करिब १३ करोड रकम ल्याएर व्यवसायमा जमेको बताउँछन् । अहिले पनि भण्डारीसँग ७ वटा प्रतिष्ठित व्यावसायिक फर्महरू रहेका छन् । मेयर भएपछि धेरै व्यस्तता बढेर केहीमा जिम्मेवारी कम गराएका छन् ।
जिम्मेवारीको भारमा टेकप्रसादका छोराहरू र पत्नी यमुनाको हात बराबरको साथ छ । यमुनाले होटल व्यवस्थापनको सम्पूर्ण जिम्मा सम्हाल्दै आइरहेकी छन् भने सानो छोरा गणेश सिभिल इन्जिनियरिङ पढेपछि बुबाको व्यवसायमा साथ दिइरहेका छन् । जेठा छोरा कुमार ठेक्कापट्टाको काममा सक्रिय छन् भने छोरी सृजना अमेरिका पुगेकी छन् ।
‘मेयर पनि, वेटर पनि’
राजनीतिक यात्रामा २०७४ सालमा कांग्रेसबाट मेयरको उम्मेदवार बनेका भण्डारी पराजित भए । त्यसपछि प्रदेशसभा सदस्यमा समेत उम्मेदवारी दिए तर विजय हात पार्न सकेनन् । अन्ततः २०७९ सालमा माओवादी केन्द्रसहितको गठबन्धनको समर्थनमा कांग्रेसबाट फेरि उम्मेदवारी दिँदै उनी मेयर पदमा विजयी भए । मेयरको कुर्सीमा दिन बिताउने टेकप्रसाद साँझ भने होटल फर्केर वेटर, किचन हेल्पर वा व्यवस्थापक बन्न हिचकिचाउँदैनन् ।
बाँकेबाट गएका पाहुना गोविन्द शर्माले भने, ‘हामीले त साहुजी भनेर सेवा लिएका थियौँ, पछि थाहा भयो उहाँ त मेयर पो हुनुहुँदो रहेछ । कस्तो आश्चर्य लाग्यो । हामीकहाँ त जनप्रतिनिधिले सामान्य काम गर्नुहुँदैन भन्ने सोच छ नि, यहाँ त मेयर आफैले हामीलाई सेवा दिनुभएको रहेछ अर्को दिन स्टाफले भनेपछि अचम्मै लायो, पछि भेटेर कुरा गरौला भनेको नगरपालिकाको काममा गइसक्नुभएछ ।’
उनले थपे, ‘जनप्रतिनिधिले आफ्नो तथा परिवारको आम्दानीको स्रोतका लागि यसरी व्यवसाय गरे सेवा सुविधाको बोझ कम हुन्छ होला, तर व्यवसायी भएर पालिकामा समस्या हुनुभएन ।’
राजनीति सेवा, व्यवसाय जीवन
१५-१६ वर्षमै उमेरबाट नेपाल विद्यार्थी संघमा आबद्ध भएर टेकप्रसाद राजनीतिमा जोडिएको बताउँछन् । साबिक सारी गाविस वडा नं ३ स्थायी घर भएका उनी लामो समयदेखि स्वर्गद्वारी ३ मा बस्न थालेका हुन् । यहाँ सञ्चालनमा आएको होटल स्वर्गद्वारी दर्शन १३ वर्षदेखि सञ्चालनमा आएको हो । भारतीय तथा नेपाली पर्यटकको केन्द्र रहेको यो क्षेत्रमा आउने अधिकांश पाहुनालाई यमुनाले नै आफै सेवा दिने गरेकी हुन्छिन् । टेकप्रसादले सबै आर्थिक व्यवस्थापन गरेका हुन्छन् । जहाँ १४ जनाले रोजगारी पाएका छन् ।
’राजनीति मेरो सेवा हो, कमाउनलाई विभिन्न पेशामा लगानी गरेको छु, जनप्रतिनिधि भएपछि आफ्नो पेशालाई समय दिन निकै समस्या पर्दो रहेछ, तर श्रीमती र छोराहरूले गर्दा धेरै सहज भएको छ, नगरपालिकाको काम सकेर, जनताको काम सकेर मात्रै आफ्नो व्यवसायमा सामान्य समय दिएको छ,’ टेकप्रसादले भने ।
त्यसो त अहिले उनको व्यवसायमा लगानी गरेको करोडौँ रकम मरुभूमिमा ज्यानको बाजी लगाएर कमाएर ल्याएको श्रीमती यमुना भण्डारी बताउँछिन् ।
‘धेरैले यो ठूलो होटल, गाडी घोडा देखेका छन्, श्रीमानले इराकमा ज्यानको बाजी लगाएर कमाएर ल्याएको रकम नै हाम्रो लगानीको मुख्य स्रोत हो, १२ जना नेपालीको ज्यान जाने समयमा उहाँ त्यहीँ हुनुहुन्थ्यो, धेरै समय इराक बसेर आउनुभएको हो, करिब ८ वर्ष इराकमा बसेर ल्याएको सबै रकम विभिन्न व्यवसायमा लगानी गरेपछि अहिलेको अवस्थामा पुगेका हौँ’ उनले भनिन् ।
टेकप्रसादका अनुसार नेविसंघमा राजनीति गर्दागर्दै आर्थिक स्रोत व्यवस्थापन गर्नका लागि उनी विदेश हानिएका हुन् । ‘०५१ सालको निर्वाचन सकेर साउदी गएको हुँ, तयतिबेला नेविसंघको राजनीतिमा थिएँ, ०४७ सालदेखि नै नेविसंघको जिल्ला सदस्य भएर काम गरेको हुँ, राजनीतिका लागि अलिकति रकम आवश्यकता ठानेर विदेश लागेँ तर उता गएपछि पनि पार्टी र संगठनको सम्पर्कमा निरन्तर रहेँ, आवश्यक सहयोग पनि गरिरहेँ, पछि फर्केर पार्टीकै जिम्मेवारीमा काम गरेँ’ टेकप्रसादले विदेश गएको अनुभव सुनाउँदै भने ।
श्रीमती यमुना भन्छिन्, ‘राजनीति गरेपछि उठाउने उधारो नै कठिन हुन्छ, आउँछन् खान्छन्, गइहाल्छन् । काउन्टरमा नबस्नुस्, किचनमै बस्नुस् भन्नु पर्छ । सम्मानले गर्व लाग्छ तर घाटा ठूलो छ ।’
त्यसो त टेकप्रसादकी श्रीमती यमुना श्रीमानले राजनीति गरेका कारण अहिले पनि आर्थिक रूपमा ठूलो घाटा भएको तर सबैतिरको सम्मानले भने खुसी लागेको बताउँछिन् ।
‘होटल गरेर राजनीतिमा लागेकालाई उदारो उठाउनै समस्या रहेछ हजुर, आउँछन् खान्छन्, दा@ गयौं है भन्छन्, पछि फर्केर आउँदैनन् । आजभोलि त तपाईं काउन्टरमा नबस्नुस्, बरु किचनमा बस्नुस् भन्छु, खाना तपाईंको कोठामै ल्याइदिन्छु भन्छु, समस्या हुने रहेछ ’ उनले भनिन् ।
अपराजित आत्मविश्वास
नेता बामदेव गौतमले एमालेमा लैजान पटक-पटक आग्रह गरे पनि टेकप्रसाद आफ्नो मूल पार्टी कांग्रेसमै टिकेको बताउँछन् । उनी भन्छन्, ‘राजनीति विचार हो, बदलिनु हुँदैन ।’ भण्डारीको जीवनले देखाउँछ- वैदेशिक रोजगारीको पसिना, पारिवारिक एकता र राजनीतिक सेवा भावनाको संयोजनले कसैको जीवन कसरी प्रेरणादायी बन्न सक्छ । मेयर टेकप्रसाद भण्डारी, जसको बिहान नगरपालिका, दिउँसो व्यवसाय र रात वेटरसँग मिसिन्छ- एक असल जनप्रतिनिधिको जीवनको उदाहरण हुन् ।

Leave a Reply