काठमाडौं । नेपाल र भारतमा गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘जार’ले मध्यपूर्वका देशहरूमा प्रदर्शन थालनी गरेको छ । निर्माण कम्पनी फेरि टेल पिक्चर्सले विभिन्न देशहरूमा चलचित्रको प्रदर्शनी शुभारम्भ भएको जानकारी गराएको हो।
निर्देशक फुर्वाछिरिङ लामाले शुक्रवारबाट यो चलचित्र युएसए, युके, अष्ट्रेलिया, क्यानडा, साउथ अफ्रिकासँगै युरोपका विभिन्न देशहरूमा चलचित्रको प्रदर्शनी तय भएको निर्देशक फुर्वाछिरिङ लामाले बताएका छन् । उनले युएईका सहरहरू दुबई, अवुधावी, अज्मान र सारजाहका स्थानीय हलहरूमा सहित कतारको दोहा र बहराइनको मनामा लगायतका सहरहरूमा पनि यो चलचित्र प्रदर्शनमा आएको जनाएका छन् ।
चलचित्र विभिन्न ठाँउमा प्रदर्शनमा आएपछि निर्देशक लामा भन्छन् , ‘नेपाल र भारतमा हाम्रो चलचित्र हेर्ने जति पनि दर्शक हुनुहुन्छ, उहाँहरू प्रतिक्रियाबाट हामी उत्साहित छौँ। डायस्पोरामा रहनुभएका नेपाली कला प्रेमीहरूबाट पनि सोही प्रकारको प्रेम र सद्भावको अपेक्षा गरेका छौँ।’
साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित यो चलचित्रले २ सय वर्ष पुरानो नेपाली समाजको वास्तविक कथा बोल्छ। चलचित्रमा अभिनेता द्वय सौगात मल्ल, अनुपविक्रम शाही र भारतको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ विजेता अभिनेत्री गीताञ्जली थापाको प्रमुख भूमिका छ। होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन र झुमा लिम्बू अनि गंगा थापाको संगीत छ ।

Leave a Reply