अछामका गजलकार कमल संघर्षका दुई कृति प्रकाशित छन्, ‘सडक’ र ‘खुँडी’ । यी दुई कृतिमा उनले बितेको डेढ दशकमा लेखेका प्रतिनिधि गजलहरु समावेश छन् । दर्जनौं लोकप्रिय गजलका सर्जक कमल मीठो भाषाशैलीमा गहकिला कुराहरु गजलमार्फत् भन्न सिपालु छन् ।
रोजगारीको सिलसिलामा एक वर्ष मलेसियामा समेत बसेका थिए । मलेसिया बसाईबारे कमल सुनाउँछन्, ‘रचनावाचनले गजलसंग्रह निकालिदिने भएपछि बिदामा नेपाल आएँ । नेपाल आएपछि यहाँको साहित्यिक माहौलले मलेसिया फर्कन मन लागेन । यतै रहेँ ।’
साहित्यिक माहौलमा भने बाल्यकालबाटै भिजेका थिए । कमलका आमा मीठोसँगले देउडा गाउँथिन् । आमाको देउडा गीतको रस कमलमा पसिसकेको थियो । अनुप्रास मिलाएर गाइने देउडासँग मातृसाइनो भएपछि कमललाई गजल लेख्न सहज भयो । झनै लामो समय रेडियोमा आरजे बनेर समेत काम गरे । रेडियोमा पनि साहित्यिक कार्र्यक्रम नै चलाउँथ । यी सबै माहौल कमलको गजल लेखनका लागि उर्वर सावित भए ।
यति मात्रै होइन, व्यवसायिक रुपमा पनि कमललाई गजलले निकै सहयोग गरेको छ । कमलका अनुसार अहिलेसम्म दुईवटा गजलसंग्रह गरेर पाँच हजार कपीभन्दा ज्यादा बिक्री भइसकेको छ ।
‘रचना बाचनले मेरो किताब निकालिदियो । मुनाफा मलाई नै दियो । व्यक्तिगत रुपमा बाहिर भएका साथीभाइलाई समेत मैले किताब पठाएँ । त्यहाँबाट राम्रै आम्दानी भयो । नेपालमा शिखा पब्लिकेसनले बजार व्यवस्थापन गरिदिएको थियो । पछि एक कार्यक्रममा शिखाबाट आएको ५० हजार रोयल्टी समेत रचनावाचनले मलाई दिएको थियो,’ कमल सुनाउँछन्, ‘अन्य भिडियोबाट पनि आर्थिक उपार्जन गरिरहेको हुन्छु । मलेसियाबाट फिर्दा एउटा क्यामेरा र लिएर आएको थिएँ । ती दुई चिजले मलाई सहयोग गरिरहेको छ ।’
कमल नेपाली भाषाको अलवा खस र अछामी भाषामा पनि राम्रोसँग गजल लेख्ने गर्छन् । उनले नेपालप्रेसको ‘गुड फ्राइडे विथ गजल’ कार्यक्रममा आफ्ना प्रतिनिधि गजल पनि सुनाएका छन् । उनै कमलका केही प्रतिनिधि गजलहरु :–
उसलाई पनि लाग्छ घण्टीको आवाज आहा !
मेरो झन् मन्दिरबाटै सुनिन्छ नमाज आहा !
‘ऐया’ भन्दै छोडेको छु आज देशको माटो
कुनैदिन लाग्थ्यो, उडेको जहाज आहा !
०००
झुटलाई हो श्रृंगारको जरुरत हुने
सत्यलाई श्रृंगारले कुरुप बनाउँछ
तिम्रै लागि थिएँ अचानो बनेको पनि
मलाई तिम्रै प्रहारले कुरुप बनाउँछ
जति नै रंगिउन् यी बजारका घरहरू
चाउचाउ बिस्कुटको प्रचारले कुरुप बनाउँछ
०००
आफ्नाहरु पर्छन् फेला जाने बेलामा
र थपिन्छ झन् झमेला जाने बेलामा
आफैसँग छुट्टिएर हिँडेको छु आज
तिमी हुन्थ्यौ कुनै बेला जाने बेलामा
एउटै आश हुँदो रैछ एक्लो मान्छेलाई
कस्ले हात हल्लाई देला जाने बेलामा
०००

Leave a Reply