सर्वोच्चको इजलासमा रवीन्द्र मिश्रको प्रश्न- अब मेरो छाती चिरेर मुटु हेर्ने ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देशमा राजनीतिक हुकुमप्रमांगीबाट आफूमाथि अत्याचारपूर्ण व्यवहार भइरहेको महसुस भएपछि सर्वोच्च अदालतको ढोका ढक्ढकाएको बताएका छन् । आफ्नो बन्दी प्रत्यक्षीकरणको मुद्दाको सुनवाइमा समय लिएर बोल्दै उनले इजलाससमक्ष आफूलाई थुनामा राख्ने कुनै आधार बाँकी नरहेको बताए ।

‘अब हिरासतमा राखेर के हेर्न बाँकी छ ? मेरो छाती चिरेर मुटु हेर्ने ?’ मिश्रले प्रश्न गरे ।

मिश्रको भनाइको पूर्णपाठ यस्तो छः

श्रीमान् ! म छोटकरीमा केही कुरा राख्न चाहन्छु । यस किसिमको इजलासमा पहिलोचोटि बोलिरहेका हुँदा केही तलमाथि पर्यो भने क्षमा गर्नुहोला । म आज ५० औं दिनमा बन्दी प्रत्यक्षीकरणको मुद्दा लिएर आएको छु ।

सुरुदेखि प्रहरीलाई सघाउँछु भन्दै आएको छु । तेस्रोपटक म्याद थप हुँदा मैले छानबिन गर्दा जति चाहिन्छ एकैचोटि लिनुस् भनेको थिएँ । त्यसपछि १५ दिन म्याद थप भयो । चैत ३१ र वैशाख २ मा मेरो बयान सकियो । सकिएपछि चौथो बयानमा वैशाख १० गते लिखित आदेश भयो, जुन इजलासमा पेश भइसकेको छ ।

फेरि ४२ औं दिनमा आएर मलाई जबरजस्ती पूर्जि दिइयो आपराधिक उपद्रवको । अनि फेरि ५ दिनको म्याद थपियो । त्यसमा बयान लिइएन । मैले नै बन्दी प्रत्यक्षीकरणको सुनवाइअघि बयान लिइदिनुस् भनेपछि हिजो साँझ बयान लिइयो ।

मलाई पछिल्लो आठौ चरणसम्म म्याद थप हुँदा के अनुभूति भयो भने यो देशमा राजनीतिक हुकुम प्रमाङ्गीबाट सबै भइरहेको छ । राज्यको अधिकार हुने, नागरिक अधिकार नहुने भन्ने अनुभूति भइसकेपछि अन्तिम घडीमा भए पनि बन्दी प्रत्यक्षीकरणमा जाने निर्णय लिएँ । उहाँहरूले  (अनुसन्धान अधिकारी) ले ‘अब त दसै दिन त हो नि के भयो र भन्दाभन्दै मैले एक घन्टा पनि अन्यायपूर्वक ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेँ । ४०/५० दिनसम्म तपाईंहरूलाई सघाएँ, अब सर्वोच्चको ढोका ढक्ढकाउँछु भनेर म यहाँ आइपुगेँ ।

मेरो फोन उहाँहरूसँगै छ । बैंक खाता बन्द गरिएको छ । फेसबुकमा लेखेरै डिटेल मगाउनुभाको छ । अझै हिरासतमा राखेर मेरो छाति चिरेर मुटु हेर्ने ? के हेर्नुहुन्छ ? म भागेर जान्छु ? म आजसम्म नाक ठाडो पारेर हिँडेको मानिस हुँ । यो देशको कानून निगरानीमा नभएर पनि मान्दै आएको नागरिक हुँ । आज पनि म मान्छु । चौथो बहसमा मैले भनेको कुरा यहाँ दोहोर्‍याउन चाहन्छु । श्रीमान्, म आफ्नी ८२ वर्षिया डिमेन्सियाबाट पीडित आमाको नाममा कसम खाएर भन्छु, मैले यो देशमा राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य वा आपराधिक उपद्रवजन्य कुनै काम गरेको छैन । छ भने प्रमाणित गरेर देखाइदिनुस् ।

म कानूनको विद्यार्थी होइन । तर, हरेकपटक बयान दिँदा अनुसन्धान अधिकारीले सबै कुरा झूट बोलिराख्नुभएको छ । सीडीओले कार्यक्रम गर्न स्वीकृति दिएको राष्ट्र, राष्ट्रियता धर्म-संस्कृति अभियानलाई हो, तर उहाँहरू हाम्रो पार्टीले आयोजना गरेको भन्दै हुनुहुन्छ । रवीन्द्र मिश्रले सिरिया, बंगलादेश बनाइदिन्छु भन्यो भन्दै हुनुहुन्छ । कहाँ लेख्या छ मैले त्यस्तो ? मैले यो देश यस्तो बाटोमा गएन भने विफल राष्ट्र हुन सक्छ, ग्रे लिस्टमा पर्न सक्छ भनेको हुँला । यस्तो हुन सक्छ भन्नु र यस्तो बनाइदिन्छु भन्नुमा ठूलो अन्तराल छ श्रीमान् ! त्यति फरक पनि विचार नगरिदिने ?

मलाई हिरासतबाहिर राख्दा अनुसन्धानमा ब्रेक लाग्छ भन्नुभयो । म यहाँबाट छुटेर कसरी अनुसन्धानमा ब्रेक लाग्छ ? ‘निवेदक रवीन्द्र मिश्र’ भन्नुभयो बोल्दाबोल्दै सिनियर अथोरिटीले । म निवेदक हो तीनकुनेको कार्यक्रमको ? म सदस्य सचिव हुँ । सदस्य सचिव भनेको मुलत प्रशासनिक जिम्मेवारी हो । नेतृत्वकर्ता भनेर भनेर कसरी भन्नुभयो ? हरेक कुरामा ढाँटेर बयान दिनुभएको अनुसन्धान अधिकारीले दिलु घलेको केसमा हामीले ढाँटेका छैनौं भन्न मिल्छ श्रीमान् ?

मलाई चित्त दुखेको, पीडित पक्ष भएकाले अलिकति यसरी बोलेँ होला । त्यो दिन पनि नाकै अगाडि अश्रुग्यास खस्यो । मैले जिन्दगीमा त्यति आवेगजन्य कहिल्यै बोलेको छैन । त्यो दिन बोल्दा पनि हिंसाजन्य शब्द कतै छैन । कतै बोलेको भए ल्याएर देखाउनुस् । म आफैँले प्रेसित गरेको हो सामाजिक सञ्जालमा ।

नवराजजीलाई छोडियो, धवलजीलाई छोडियो, अर्को एकजनालाई म्याद थप बहसमै छोडेको छ । मलाई चैँ राखेको राख्यै गर्नुपर्ने ? यो राजनीतिक प्रतिशोध होइन ? जबकि बयान सबै सकिइसक्यो । त्यसैले श्रीमान, राज्यको जति नै अधिकार नागरिकको पनि छ । केही नलागेपछि यो ढोका ढक्ढडकाउन आएको हुँ । मलाई न्याय दिनुस श्रीमान् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *