छोरी र भतिजको हत्या गर्ने लीलाराज डिप्रेसनका रोगी, बीचमै छोडेका थिए सेनाको जागीर

चितवन । आज बिहान करिब ९ बजेतिर ५ वर्षका सजन गिरी आफ्नी आमासँग पैसा मागेर अगाडिको पसल पुगे ।

चितवनको भरतपुर महानगरपालिका-२५ मा रहेको साजनको घरैअगाडि वीरबहादुर विश्वकर्माको सानो किराना पसल छ । १ सय रूपैयाँ दिएर पठाएकी आमा विष्णुले ‘५० रूपियाँको के-के आउँछ दिनू’ भनिन् । सजनले दिदी प्रभा (काकाे छाेरी) र आफूलाई १० रूपैयाँ पर्ने ४ वटा बिस्कुट सजनले किने । बाँकी १० रूपियाँको चक्लेट किने ।

पसले वीरबहादुरले फिर्ता दिएको ५० रुपैयाँ आमालाई बुझाएर साढे ९ बजेतिर स्कुल ड्रेस लगाए सजनले । बुबा  दया गिरी घरमा थिएनन् । भाइ लीलाराजका छोराको छातीमा समस्या देखिएपछि हिजो बेलुका चितवन मेडिकल कलेज लगिएको थियो । बिहान भतिज र बुहारीलाई खाना पुर्‍याउन सजनका बुवा सीएमसी आएका थिए ।

आज घरमै बसेका लीलाराजले आफ्नी छोरी प्रभा र सजनलाई घरनजिकैको विद्यालय मदरल्याण्ड पुर्‍याउनुपर्ने भयो ।

‘आमाले ढिलो हुन्छ, छिटो काकाकाे घर जा भनेर बाबुलाई पठाएको साढे ९ बजेतिर सुनेको थिएँ, त्यसको एकैछिनमा त कोलाहाल भैहाल्यो नि !’ पसले वीरबहादुरले भने ।

दिदी प्रभाको लागि पनि हातमा बिस्कुट लिएर स्कुल ड्रेसमा काकाको घर गएका सजनले दिदीलाई बिस्कुट दिन पनि भ्याएनन् । न त काका स्कुल जान पाए । बरु, तिनै काकाे विभत्स तरिकाले भतिज सजनकाे हत्या गरे ।

सजन आएपछि घरै बसिरहेका हजुरबुबा ७७ वर्षका शेरबहादुर गिरीलाई उनका लीलाराजले दाजुको घरतर्फ पठाएका थिए ।

‘तिमी ह्याँ नबस, झ्याउ लाग्यो मलाई भन्यो,’ लीलाका बुबा शेरबहादुरले भक्कानिँदै सुनाए, ‘म यता (जेठो छोरा दयाको घर) आएको १० मिनेटमा त्यस्तो गर्नु रैछ ।’

शेरबहादुर कान्छो छोरा लीलाराजको घर सुत्छन् । खाना भने कहिले जेठो, कहिले कान्छो जता मिल्छ त्यतै खाने उनले बताए । बिहान साढे ९ बजेतिर जेठो छोराकाे घर आएका उनीहरूले करिब १० मिनेटपछि एक्कासी सजन चिच्याएको सुने ।

हुत्तिँदै आमा विष्णु देवरको घरतिर पुगिन् । जाँदाजाँदै छोराको आवाज रोकियो । घरको ढोका भित्रबाट बन्द थियो । अगाडिकै कोठा भएकोले छोरा ढलेको बाहिरबाटै देखियो । आमा पनि बाहिरै ढलिन् ।

छोराको आवाज बन्द हुँदा लीलाराजकी आफ्नै ७ वर्षीया छोरा प्रभा चिच्याएको आवाज आइरहेको थियो । गाउँलेले हम्मरले हानेर भित्र कोठामा पस्दा भुइँतलाको कोठामा ५ वर्षका सजनको विभत्स हत्या भइसकेको छिमेकी वीरबहादुरले बताए । त्यसपछि प्रभा खोज्दै माथिल्लो तल्लामा पुग्दा त्यहाँ पनि भित्रबाट चुक्कुल लगाइएको रहेछ । फेरि गाउँले मिलेर हम्मरले ढोका फुटाए ।

लीलाराजले आफ्नी छोरी प्रभाको पनि विभत्स रुपमा घाँटी रेटेर आफू पनि हँसियाले रेटिएर घ्यारघ्यार अवस्थामा रहेको भेटिए । छोरी काखमै थिइन् ।

चार दिनअघि सजनको ५ औं जन्मदिन 

लीलाराजका दाजु दयाका तीनजना सन्तान छन् । दुई छोरी माध्यमिक तहमा पढ्छन् । सजन भने भर्खरै पढ्न जान थालेका हुन् । उनको जन्मदिन वैशाख २९ गते थियो । छरछिमेकलाई बोलाएर परिवारले जन्मदिन धुमधामसँग मनाइदिएका थिए ।

छिमेकी कोपिला तामाङले भनिन्, ‘वैशाखको २९ गते जन्मदिनको केक खान आएको थिएँ । अहिले यस्तो भयो ।’

दयाका दम्पतीको पहिलेका एक छोराको पनि मृत्यु भएको थियो । सजन र उनकी कान्छी दिदीको उमेरको फरक १२ वर्ष रहेको तामाङले बताइन् ।

घटनापछि घर पुगेका बाबु छोराकाे शव हेर्न अस्पताल आउनसक्ने अवस्थामा पनि छैनन् । चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरी घटनास्थल पुग्दा मेरो छोराको अवस्था कस्तो छ भनेर सोधेका दयालाई एसपी पुरीले जवाफ फर्काउन सकेनन् । ‘निकै निर्मम तरिकाले हत्या गरेको रैछ,’ एसपी पुरीले भने, ‘मैले त जवाफ पनि दिन सकिनँ ।’

सजनका दिदीहरूलाई पनि भाइको हत्या काकाले गरेको कुरा कसैले जानकारी गराएका छैनन् । उनीहरू दुवैजना विद्यालय गएकाे स्थानीयले जानकारी दिए ।

लीलाराज र विमलाको पनि विवाहको १० वर्षसम्म पनि बच्चा नभएपछि उपचार गरेर ढिला गरी दुई सन्तान जन्माएका थिए । जेठो छोरा र कान्छी छोरी जन्मिएका थिए । प्रभा ७ वर्षकी भइन् । उनी निकै ज्ञानी र राम्री बच्चा भएको स्थानीय माया विश्वकर्माले बताइन् ।

डिप्रेसनका कारण सैनिक सेवाबाट निस्किएका थिए लीलाराज

छोरा र भतिजका हत्या गर्ने लीलाराज निवृत्त सैनिक हुन् । उनी जमदार तहमा पुगेपछि निवृत्त भएका हुन् । तर, उमेर हदका कारण भने निवृत्त नभएकाे स्थानीयले बताए ।

उनी डिप्रेसनका बिरामी रहेको जनाइएको छ । करिब वर्ष दिनअघि पनि घरबाट निस्किएर मलाई सबैले मार्न लागे भन्दै कसराको आर्मी ब्यारेक पुगेका थिए । उनको सैनिकमा कार्यरत एक आफन्तले घरसम्म ल्याइदिएकाे स्थानीय बताए । माया विश्वकर्माका अनुसार औषधि नखाएको बेलामा उनी वरपर पनि राम्रो व्यवहार गर्दैनथे । तर, मान्छे मार्ने, हातपात गर्ने जस्ता घटना भने थाहा नपाएको उनले बताइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *