पाथीभरामा केबल कार निर्माणको बाटो खुल्यो, सर्वोच्चले अल्पकालीन आदेशलाई दिएन निरन्तरता

विराटनगर । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा निर्माण भइरहेको केवलकार निर्माणका लागि बाटो खुलेको छ । सर्वोच्च अदालतले यसअघि गरेको आदेशलाई निरन्तरता नदिने आदेश दिएसँगै पाथीभरामा केवलकार निर्माणको बाटो खुलेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले पाथीभराको विषयमा यसअघिको अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश गरेको हो ।

यसअघि सारङ्ग सुवेदीको आदेशले पाथीभरामा केबलकार निर्माणको काम तत्काल रोक्न अल्पकालीन आदेश दिएको थियो । याम बहादुर लिम्बुसमेत ८ जनाले पाथीभरा देवी दर्शन केवल कार प्रा. लि लगायतलाई विपक्षी कायम गरी २०८१ चैत ७ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमा यसअघि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले केबलकार निर्माण तत्कालका लागिअघि नबढाउनू भनी विपक्षीहरूका नाममा अल्पकालीन आदेश जारी गरेको थियो । आदेशसँगै केवल कार निर्माणको काम रोकिएको थियो । सो आदेशका विषयमा हिजो भएको सुनुवाइमा न्यायाधीशद्वय सुवेदी र मुसलमानले निरन्तरता अल्पकालीन आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ ।

पाथीभरामा पाथीभरामा केबलकार निर्माणले मुन्धुमी स्थलको अतिक्रमण भएको र यसले मुन्धुमी संस्कृति माथि प्रहार भएको भन्दै पाथीभरा क्षेत्रमा आन्दोलन समेत हुँदै आएको छ । आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीका बिचमा पटक पटक झडप समेत हुँदै आएको छ ।

निजी कम्पनीले पाथीभरामा केवल कार निर्माण गर्दा यहाँको जैविक विविधता समेत सङ्कटमा पर्ने भन्दै सो नो केवलकार आन्दोलन जारी छ ।
उक्त मुद्दामा रिट निवेदकको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राई, लबन न्यौपाने, पदम बहादुर श्रेष्ठ र विनोदमणि भट्टराईले बहस गरेका थिए । यसै गरी विपक्षी पाथीभरा देवी दर्शन केबलकार प्रा लि को तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ, सतिशकृष्ण खरेल लगायतले बहस गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *