काठमाडौं । भारतीय शिख पृथकतावादी समूह खालिस्तानीका एक अगुवा नेपाली भूमिबाट पक्राउ परेको विषयमा भारतीय मिडियामा समाचार आएपछि नेपाल प्रहरीले त्यसको सूक्ष्म अध्ययन गरेको छ । प्रहरीको निष्कर्ष छ, ‘नेपालमा खालिस्तानी पृथकतावादी समूहको कुनै गतिविधि छैन, यदि अरू कुनै आवरणमा छ भने हामी नियमित निगरानीमा रहन्छौँ ।’
भारतको केन्द्रीय जाँच एजेन्सी (एनआईए) ले खालिस्तानी समूहका अगुवा बलवीर सिंह भनिने कश्मीर सिंह गलबड्डीलाई नेपालबाट गिरफ्तार गरेको विषय भारतीय मिडियामा व्याप्त भएपछि नेपाल प्रेसले बुधवार उक्त समाचार प्रकाशित गरेको थियो ।
दिल्लीबाट सञ्चालित अंग्रेजी न्युजपोर्टल द इण्डियन एक्सप्रेस, र भारतीय सरकारद्वारा सञ्चालित अलइण्डिया रेडियोको वेभसाइट न्युज अनएयरले पनि एनआईएको हवाला दिँदै गलबड्डी नेपाली भूमिबाट पक्राउ परेको उल्लेख गरेका थिए ।
तर, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले नेपालबाट पक्राउ परेको कुरा विभिन्न कोणबाट गरिएको अनुसन्धानबाट पनि पुष्टि नभएको बताए । ‘ती व्यक्ति पक्राउ परेका छन् कि छैनन् भन्ने हामीलाई थाहा हुँदैन, तर नेपालबाट पक्राउ परेको भन्ने कुरा शतप्रतिशत गलत हो’, उनले भने ।
यदि त्यस किसिमका शंकास्पद व्यक्ति नेपाली भूमिमा रहेको सूचना भएमा अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल) मार्फत खोजी प्रयास गरिनुपर्ने प्रवक्ता थापाले बताए । अन्तर्राष्ट्रिय सुरक्षा कानुनअनुसार एक देशको सुरक्षा निकायले अर्को देशमा गएर कोही पनि व्यक्तिलाई गिरफ्तार वा कुनै पनि किसिमको सजाय दिन पाउँदैन । त्यसो गर्नका निम्ति सुपुर्दगी सन्धि वा पारस्परिक समझदारी हुनुपर्छ । नेपाल र भारतका बीचमा यीमध्ये कुनै पनि सन्धि वा सम्झौता भएका छैनन् ।
राजावादी प्रदर्शनपछि भारतमा लुकेका दुर्गा प्रसाईँलाई भारतीय प्रहरीले नेपाललाई बुझाएको बदलामा नेपालले खालिस्तानी पृथकतावादीलाई बुझाएको भन्ने मिडियाका टिप्पणी सतही र काल्पनिक भएको बताउँछन् । ‘त्यस्तो हुनै सक्दैन, त्यस्तो भएको भन्ने कुरा काल्पनिक हो’, उनले भने । प्रसाईँ झापाबाट पक्राउ परेको भनी सम्बन्धित प्रहरी युनिटले त्यसै समयमा स्पष्ट पारिसकेका कारण फेरि फेरि अनुमानित चर्चा गर्नु उपयुक्त नहुने उनले बताए ।
केन्द्रीय प्रहरी स्रोतका अनुसार नेपालबाट खालिस्तानी पृथकतावादीलाई भारतको केन्द्रीय जाँच एजेन्सी (एनआईए) ले नियन्त्रणमा लिएको समाचार आएपछि आईजी दीपक थापाले बुधवार नै मुख्य मुख्य अनुसन्धान तथा गुप्तचरी निकायका प्रमुखसँग परामर्श गरेका छन् । त्यसपछिको निष्कर्ष हो, ‘नेपालमा खालिस्तानी पृथकतावादीको कुनै पनि गतिविधि छैन ।’ कुनै व्यापारिक आवरणमा हुनसक्ने घुसपैठलाई मध्यनजर गर्दै प्रत्येक भारतीय सीमावर्ती जिल्लामा निगरानी बढाइने नीति प्रहरीले अवलम्बन गरेको छ ।
यसअघि भारत प्रशासित जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसारन उपत्यकामा वैशाख ९ मा भएको आतंककारी हमलामा संलग्न व्यक्ति नेपाली भूमि हुँदै भारत छिरेको भारतीय पक्षले दाबी गरेको थियो । भारतले गरेको उक्त दाबी पनि प्रमाणित हुन सकेको छैन । तर, देशभरका सीमानाकामा सशस्त्रको तैनाथी बढाइएको थियो ।
उक्त घटनापछि सीमामा गरिएको कडाइ जारी छ । सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार नाकामा हुने आवतजावतका क्रममा व्यक्तिको पहिचान स्पष्ट पारिनेलगायतका सतर्कता विधि जारी छ ।
तर, खालिस्तानी आतंककारीको घुसपैठ भएको विषयमा सशस्त्रले अलग्गै कुनै तयारी नगरेको उनले बताए । ‘सीमा सुरक्षामा अपनाइएको उच्च सतर्कता जारी छ, यसबाहेक सरकारले दिएका अन्य जिम्मेवारी हामीले बहन गर्ने नै छौँ’, उनले बताए ।

Leave a Reply