सिन्धुलीमा महोत्सव सकियो तर विवाद सकिएन- जिल्ला प्रशासनका दुई खाले पत्रले उब्जायो आशंका

सिन्धुली । सिन्धुलीमा गएको वैशाख ११ गतेदेखि २२ गतेसम्म जारी भएको फुड फेस्टिभल तथा सांस्कृतिक महोत्सव सञ्चालनको अनुमति दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीको एउटै मिति, चलानी र फरक–फरक ब्यहोराको पत्र सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्मामाथि प्रश्न उठेको छ ।

व्रदरहुड इभेण्ट्स प्रा.लिले कमलामाई नगरपालिकालाई १ लाख राजस्व बुझाएर २०८२ वैशाख ११ देखि २१ गतेसम्मको समय सीमा पत्रमा उल्लेख गर्दै स्वीकृति लिन जिल्ला प्रशासन पुगेको आयोजक पक्षलाई दिइएको पत्रमा दिन पनि नतोक्दै पत्र दिइएको खुलेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पत्र अनुसार ’बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म पर्यटन, सांस्कृतिक, व्यापार, उद्योग तथा फुड फेस्टिभल’ सञ्चालन गर्न पाउने गरी प्रमुख जिल्ला अधिकारी शर्माको आदेश अनुसार प्रशासकीय अधिकृत प्रवीण कटुवालले अनुमति पत्र दिएका थिए ।

आयोजक पक्षले २०८१ चैत २९ गते कार्यक्रम सञ्चालनको लागि प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गर्दै (चलानी नं. २११.२१२) पत्र लखेपछि सोही दिनै सञ्चालनको अनुमति पत्र हातमा थमाइएको थियो । उक्त पत्रमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई आवश्यक शान्ति सुरक्षाको व्यवस्थापन गरिदिनुहुन भन्दै बोधार्थ दिइएको छ ।

कार्यक्रम सञ्चालन गर्ने दिन उल्लेख नगरी जिल्ला प्रशासन कार्यालय सिन्धुलीले दिएको उक्त पत्रमा प्रस्तावित कार्यक्रमहरू बिहान १० बजेदेखि बेलुका ६ः३० बजेसम्म सञ्चालन गर्नुपर्ने, कार्यक्रममा सञ्चालन गर्नुपर्ने क्रियाकलापहरु प्रचलित कानूनको पालना गरी सम्पन्न गर्नुपर्ने र शान्ति सुरक्षामा असर पर्ने गतिविधिहरू भएमा जुनसुकै बेला अनुमति रद्द गर्न सकिने कुरा उल्लेख रहेको थियो । उक्त पत्रको चलानी नम्बर ६०४ उल्लेख छ ।

कार्यक्रम समापन हुने दिन २१ गतेको भोलिपल्ट २२ गते पनि आयोजक पक्षले कार्यक्रम जारी रहने सूचना प्रसारण गरेपछि स्थानीय तह र जिल्ला प्रशासनको मत बाझिएको थियो । कमलामाई नगरपालिकामा पुगेका आयोजक पक्षले म्याद थप्नका लागि पत्र दिनुपर्‍यो भनेका थिए ।

नगरपालिकाले ‘पहिले कर तिर्नुस् अनि प्रशासनलाई पत्र लेख्छौँ भनेपछि ‘तिमीहरूले नदिएर के हुन्छ, सिडिओ सापलाई २ लाख ५० हजार दिएका छौँ, सबै काम उतैबाट गराउँछौँ’ भन्दै उनीहरू झोक्किएर हिँडेको दृश्य देखेका सेवाग्राहीसमेत चकित परेका थिए ।

२२ गतेको कार्यक्रम हुँदैन र हुन्छ भन्ने रस्साकस्सीका बीच प्रमुख जिल्ला अधिकारीमाथि आर्थिक लाभको प्रश्न उठेको हो । बाघ कराउनु र बाख्रा हराउनु भनेजस्तै कार्यक्रम आयोजकले पैसा दिएपछि सबै थोक हुन्छ भन्दै नगरपालिकाको अनुमति बिनै २२ गतेसम्म अनुमति दिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीको सोही व्यहोराको अर्को पत्र नै बनाउन सफल भए । ‘पहिला नैं २२ गतेसम्म भनिएको रहेछ, २१ गतेसम्मको पत्र बन्यो त्यसलाई सच्याएर त्यही मितिको अर्को पत्र बनाउनु प¥यो“ भन्ने प्रजिअ शर्माको आग्रह अनुसार प्रशासकीय अधिकृत कटुवालले सोही मिति र सोही चलानी नम्बर राखेर अर्को पत्र बनाइदिएपछि मेलामा प्रशासन, प्रहरी र आयोजक तिनै पक्ष मालामाल भएको आरोप लागेको छ ।

यसरी खुल्यो तथ्य !

कमलामाई नगरपालिकाको राजश्व शाखाले ११ गतेदेखि २१ गतेसम्म कार्यक्रम सञ्चालनको अनुमति दिएको थियो । आयोजकले २२ गते थप एक दिन कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रशासन र कमलामाई नगरपालिकालाई आग्रह गरे पनि सो आग्रह अस्वीकार गरेका प्रमुख जिल्ला अधिकारी शर्माले अन्ततः आयोजकलाई कार्यक्रम सञ्चालन गर्न अनुमति दिए ।

तर स्थानीय सरकार जसले कार्यक्रम एक दिन थप गर्न अनुमति दिएको थिएन । कमलामाई नगरपालिकाको पत्र प्राप्त नभएसम्म म्याद थप्न नसकिने अडानमा बसेका प्रमुख जिल्ला अधिकारी शर्माले एकाएक कार्यक्रम सञ्चालन गर्न मौखिक आदेश दिए । त्यस बेला सम्म प्रमुख जिल्ला अधिकारी र आयोजक पक्षबीच कुरा मिलिसकेको बजार हल्ला चलिसकेको थियो ।

बिहान १० बजेबाट नै आयोजकले २२ गतेको कार्यक्रम सञ्चालनका लागि २ सय ५० रुपैयाँमा टिकट बेचिसकेको थियो ।

कमलामाई नगरपालिकाको राजस्व शाखामा आयोजक पक्षले फिल्ड सरसफाइ र कार्यक्रम सञ्चालन गरेबापत आयोजकले बिक्री भएको टिकटको ५ प्रतिशत र फिल्ड प्रयोग गरेबापत दैनिक ५ सय रुपैयाँ बुझाउनु पर्ने हुन्थ्यो । तर उनीहरूले कार्यक्रम समापन भएपछि पनि बिक्री भएको टिकटको विवरण र थप राजस्व नपाएपछि कार्यक्रम स्थलमा रहेको एउटा वालवाहक ट्रक नगरपालिकाको राजश्व शाखाले नियन्त्रणमा लियो ।

आयोजक पक्ष र नगरपालिकाको राजश्व शाखाको विषय भएकाले यसलाई कसरी सल्टाउने भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयको पत्रले सहजीकरण गरिदिएको देखिएको छ । अनुमति नदिएको दिनको टिकट बिक्री भयबापतको सम्पूर्ण रकम राजस्व शाखामा बुझाउनु पर्ने कुरा राजश्व शाखाले उठाएपछि आयोजक पक्षले म्याद थप गरिएको पत्र जिल्ला प्रशासन कार्यालयबाट लिएर आउने बताएका थिए । नभन्दै आयोजकले एउटै चलानी नम्बर, एउटै विषयमा ११–२९ गतेको अगाडिको पत्रको भन्दा फरक ब्यहोराको २०८२ वैशाख ११–२२ गते साँझ ६ः३० बजेसम्म कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको पत्र राजश्व शाखामा ल्याएका थिए ।

जानकारहरूका अनुसार जिल्ला कुनै कार्यक्रमको म्याद थपिनु परे, आयोजकले स्थानीय तहमा थप दिन कार्यक्रम सञ्चालनका लागि तिरेको राजश्व र म्याद थपका लागि प्रशासनलाई सिफारिस पत्र दिनुपर्ने हुन्छ, तर यो प्रकरणमा आयोजकको आग्रहमा प्रमुख जिल्ला अधिकारी आफैँले म्याद थप गरिदिएपछि आयोजक पक्षले प्रजिअ शर्मालाई मिलाइसकेको दाबी पुष्टि गरेको छ ।

आयोजकले आफ्ना मुख्य संरक्षक कमलामाईका नगरप्रमुख उपेन्द्र पोखरेल, सरुवा भएर गएका एसपी गोविन्दराज काफ्ले,प्रमुख जिल्ला अधिकारी शर्मासहित कपडा व्यवसायी र केही युवा लाई समेत दामासाहीले मिलाएको बताएका छन् ।

रकम भागबन्डा लगाउने विषयलाई लिएर आयोजक पक्षकै बीचमा पनि झगडासमेत भएको निकटस्थहरूले बताएका छन् । दुःख एक जनाले बढी गर्ने तर रकम भने बराबरी बाँड्न सकिँदैन भन्ने विषयले हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

सिन्धुलीका पत्रकार र स्थानीय उद्योगी व्यवसायीसँग म्याद नथप्ने अडानमा रहेका प्रजिअ शर्माले एकाएक किन म्याद थपिदिए ? सिन्धुलीका पत्रकारहरूले पनि यही प्रश्न गरिरहेका छन् ।

यता कमलामाई नगरपालिकाको राजस्व शाखामा आयोजक पक्षले फिल्ड सरसफाइ बापतको रकम र टिकट बिक्री गरेबापतको रकम बुझाएपछि मंगलवार ट्रक छोडिदिएको शाखाले जानकारी दिएको छ ।

कर लिने विषयमा शाखा, नगरप्रहरी र आयोजकका बीचमा निकै ठूलो रस्साकस्सी चलेको थियो भने निमित्त कार्यालय प्रमुख सो रस्साकस्सी झेल्न नसक्ने देखेर बिहानै कुलेलाम ठोकेका थिए । त्यस बेला नगरपालिका कार्यालय प्रमुख विहीन भयो । प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई पारिवारिक कामले बिदामा बसेपछि निमित्त प्रमुख ढकाल पनि कसैलाई जानकारी नदिई मेयर उपेन्द्र पोखरेलसँगै हिँडेका थिए । त्यसै बेला ढकालले नगरप्रमुख पोखरेलको पदावधि सकिएपछि भावी योजना वृद्धाश्रम खोल्ने भन्दै सामाजिक सञ्जालमा लामै स्टाटस राखेका थिए ।

ब्रदर हुड इभेन्ट एण्ड इन्टरन्मेन्ट सिन्धुलीका नाममा जारी रहेको १२ दिने महोत्सवले सिन्धुलीमा विकृति र विसङ्गति मात्रै भित्र्याएको स्थानीयले आरोप लगाइरहेका छन् ।

‘फुड फेस्टिभल’का नाममा १२ दिनसम्म चलेकोमेला दिनभर सुनसान रहने र बेलुका ७ बजेदेखि ११ बजेसम्म युवा युवतीहरू हेर्न जमघट हुने गरेका थिए । कार्यक्रम स्थलसँगै रहेको सिन्धुली अस्पतालका बिरामीहरूको स्वास्थ्य अवस्थालाई बेवास्ता गर्दै कार्यक्रम अनुमति दिएको स्थानीय प्रशासनले दिनदिनै फरक फरक मूल्यका टिकट काट्दा पनि मौनता साँधेर बसेको थियो ।

८० रुपैयाँ टिकटबाट शुरु भएको कार्यक्रममा १५० हुँदै अन्त्यमा २५० रुपैयाँसम्म पुर्‍याइएको थियो। तर छेउमै रहेको स्थानीय प्रशासनले त्यो देख्दै देखेन ।स्थानीय बासिन्दालाई लक्षित गर्दै ३ सय रुपैयाँ मूल्यको ‘पास’ बाँडिएको थियो, जुन २० गतेसम्म मात्रै लागु गरियो । तर २१ र २२ गते त्यही पास भएका नागरिकलाई पुनः २५० रुपैयाँ तिर्न बाध्य पारिएको सिन्धुली उद्योग वाणिज्य संघका एक सदस्यले बताए ।

महोत्सव स्थलभित्र अस्थायी रूपमा पाल र त्रिपालले बनाइएका शौचालयहरू ठेक्कामा दिइएर अलग्गै शुल्क असुल गर्दासमेत स्थानीय प्रशासनले नदेखेपछि कार्यक्रम अवधिकै बिचमा त्यसले चर्चा पाएको थियो । रकम लिएपछि कार्यक्रम स्थलमा शौचालयमा हुनुपर्ने युवाहरूको भनाई थियो ।

विगतमा सिन्धुली उद्योग वाणिज्य संघले व्यापारिक महोत्सव लगाउँदा ९ बजे नै बन्द गराउन सक्रिय हुने स्थानीय प्रशासनले आर्थिक लाभकै कारण राति ११ बजेसम्म अश्लील नाचगान चलाउन दिएको आरोप लागेको थियो भने सञ्चालन अनुमति पत्रमा समयावधि साँझ ६ः३० बजेसम्म मात्रै देखिन्थ्यो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *