जलवायु उत्थानशीलताका लागि बहुउपयोगी बाँस

जलवायु परिवर्तनको वर्तमान सन्दर्भमा नेपालका ग्रामीण र पहाडी भेगहरूमा बाँस एक उपयोगी वातावरणमैत्री र सस्तो निर्माण सामग्रीको रूपमा आशाजनक समाधानका रूपमा अगाडि आएको छ । नेपालमै पाइने विविध प्रजातिका बाँसहरू स्थानीय स्रोतमा आधारित दिगो आवास निर्माणमा प्रयोग गर्न सकिने देखिएको छ । केही साताअघि मसहित अनुसन्धानकर्ताहरू मधेश तथा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा जाँदा बाँस प्रयोग गरेर निर्माण गरिएका घरहरू जलवायु प्रतिरोधीमात्र होइन, वातावरणीय दृष्टिले पनि सकारात्मक प्रभाव पार्ने खालका देखिएको निष्कर्ष निकालियो ।

नेपालमा हालसम्म करिब ९०० वटा सिमेन्ट-बाँसको फ्रेम प्रविधि (सीबीएफटी) मा आधारित घर निर्माण भइसकेको तथ्यांक छ । जसले ग्रामीण तथा निम्न वर्गका समुदायलाई सुरक्षित, सस्तो र दिगो आवास प्रदान गर्दै आएको छ । यसले सुरक्षित र कम लागतमा आवासको व्यवस्था गरेको छ ।

बाँस नेपालभर पाइन्छ, अझ पूर्वी नेपालमा बढी । वन अध्ययन तथा प्रशिक्षण केन्द्र बबरमहलका अनुसार नेपालमा करिब ८० भन्दा बढी बाँसका प्रजाति पाइन्छन् । तीमध्ये ठिग्रे बाँस, तामा बाँस, मुरी बाँस, राम बाँस, कुरुके बाँस नेपालमा पाइने प्रमुख बाँसका प्रजातिहरू हुन् । ती बाँस प्रजातिहरू संरचनात्मक निर्माणका लागि विशेष रूपमा उपयोगी मानिन्छन् । यी बाँसहरू मजबुत, लचिलो र छिटो हुर्किने खालका हुन्छन् । यी बाँसको प्रयोगले दिगो रूपमा निर्माणजन्य कार्यमा प्रयोग हुन्छन् ।

बाँसको प्रयोग निर्माण क्षेत्रमा मात्र सीमित छैन । यसको प्रयोग मानिसको जन्मदेखि मृत्युसम्म हुन्छ । बच्चालाई बनाइने कोक्रो र मृत्यु संस्कारमा प्रयोग गरिने अरथी पनि बाँसकै हुन्छ । त्यसैले बाँस हाम्रो जीवनको हरेक पलसँग जोडिएको हुन्छ । धान र चामल निफन्न प्रयोग गरिने नाङ्लो होस् या अन्य सामग्री बनाउन प्रयोग गरिने ढाकी बाँसकै हुन्छ ।

बाँसको प्रयोग निर्माण क्षेत्रमा मात्र सीमित छैन । यसको प्रयोग मानिसको जन्मदेखि मृत्युसम्म हुन्छ । बच्चालाई बनाइने कोक्रो र मृत्यु संस्कारमा प्रयोग गरिने अरथी पनि बाँसकै हुन्छ । त्यसैले बाँस हाम्रो जीवनको हरेक पलसँग जोडिएको हुन्छ ।

पछिल्लो समय बाँस फर्निचर, पुल, अस्थायी संरचना, रिटेनिङ वाल, सिंचाइ प्रणाली, कृषि उपकरण, हस्तकला र कागज उद्योगसम्म फैलिएको छ । साथै बाँसले माटोको कटान रोक्न, हरियाली बढाउन र जैविक विविधता संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले पहिरो र माटोको क्षय रोक्न बाँसको प्रयोग लामो समयदेखि हुँदै आएको छ । तराई क्षेत्रमा भूक्षय तथा नदी कटान रोक्न बाँस लगाइएको हुन्छ । बाँस प्राविधिक रूपमा एक प्रकारको घाँस भए पनि यो वास्तवमा काठभन्दा तीन गुणा बलियो हुन्छ । विभिन्न बाँस प्रजातिको संकुचन शक्ति मुख्यतया २.५ देखि ५.२ टन प्रतिवर्ग इन्चको बीचमा हुन्छ ।

बाँसले जलवायु अनुकूलन र न्यूनीकरण दुवैमा सहयोग गर्नसक्छ । बाँसले जलवायु प्रतिरोधी संरचना निर्माणमा उल्लेखनीय भूमिका खेलेको हुन्छ । उच्च चाप तथा कम्पन सहनसक्छ, जसले गर्दा भूकम्प प्रभावित क्षेत्र वा पहाडी भेगमा यसको प्रयोग निकै प्रभावकारी हुन्छ । छिटो हुर्किने भएकाले यसको दिगोपन सुनिश्चित हुन्छ र वातावरणमा पर्ने दबाब पनि कम हुन्छ । बाँसबाट बनेका घरहरूले ग्रीनहाउस ग्यास उत्सर्जन घटाउने, वातावरणीय कार्बन सन्तुलन कायम राख्ने र प्राकृतिक स्रोतहरूको दिगो प्रयोग सुनिश्चित गर्ने कार्यमा टेवा दिन्छ । बाँसको प्रयोगले कार्बन सञ्चिती बढाउनमा समेत सहयोग पुर्‍याउँछ । सन् २०२१ मा नेचर साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एक अनुसन्धान लेखअनुसार औसतमा एक हेक्टर बाँसले प्रतिवर्ष लगभग १७ टन कार्बन सोस्छ ।

हामी कोशीको मोरङ र मधेशका धनुषा, सर्लाही र सप्तरी जिल्लाको भ्रमणमा गर्दा त्यहाँ निर्माण गरिएका विभिन्न सिमेन्ट-बाँसको फ्रेम प्रविधि घरहरूको अवलोकन गरियो । ती जिल्लाहरूमा रहेका समुदायहरूमा बाँसको प्रयोगबाट बनाइएका घरहरूले आर्थिक, सामाजिक र वातावरणीय दृष्टिले सकारात्मक प्रभाव पारेको देखियो ।

विकास साझेदारहरूसमेत सहभागी उक्त भ्रमण टोलीकी सदस्य हबिट्याट नेपालका निशा अधिकारीका अनुसार निर्माण गरिएका घरहरू ग्रामीण समुदायका लागि नमुना हुनुका साथै कम लागतमा पनि निर्माण गर्न सकिने र स्थानीयस्तरमा पनि पाइने हुँदा जलवायुजन्य प्रभावको अनुकूलन हुनसक्ने क्षमता देखिने बताएकी थिइन् ।

बाँसबाट बनेका घरहरूले ग्रीनहाउस ग्यास उत्सर्जन घटाउने, वातावरणीय कार्बन सन्तुलन कायम राख्ने र प्राकृतिक स्रोतहरूको दिगो प्रयोग सुनिश्चित गर्ने कार्यमा टेवा दिन्छ । बाँसको प्रयोगले कार्बन सञ्चिती बढाउनमा समेत सहयोग पुर्‍याउँछ ।

नेपालमा बाँसको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न त्यसमा लाग्ने रोगको निराकरण पनि गर्न जरुरी छ । नेपालमा प्रयोग हुने बाँसहरूमा बोरिक एसिड र बोराक्सको मिश्रण प्रयोग गरी उपचार गरिन्छ । जसले बाँसलाई कीराहरूबाट जोगाउँछ र यसको आयु २५-३० वर्षसम्म पुर्‍याउँछ । नेपालमा हाल उपचार नगरिएको बाँसको मूल्य प्रतिथान ५०-६० रूपैयाँमात्र छ । उपचार नगरेको बाँस छिट्टै नष्ट हुन्छ, विशेषतः कीरा र घामपानीको असरले ।

उपचार गरिएको बाँस संरचनागत रूपमा सुरक्षित, वातावरणमैत्री र दिगो हुन्छ, तर उच्च मूल्यका कारण ग्रामीण तथा निम्न आय भएका समुदायले सहज पहुँच गर्न सक्दैनन् । उपचार नगरिएको बाँसको तुलनामा उपचार गरिएको बाँसको मूल्य प्रतिथान ३००-४०० रूपैयाँ पर्छ, जसको आयु २५-३० वर्षसम्म टिक्ने प्रमाणित छ । त्यसैले उपचार गरिएको बाँस संरचनात्मक निर्माणको लागि अत्यावश्यक हुन्छ ।

बाँस प्रवर्द्धन तथा प्रयोगमा विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको योगदान उल्लेखनीय रहेको छ । हबिट्याट नेपाल जस्ता विकास साझेदार संस्थाहरूले स्थानीय तहमा बस्ती विकास र आवास निर्माणमा बाँसको प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् । यी संस्थाहरूले स्थानीय नगरपालिका तथा गाउँपालिकासँग सहकार्य गरी साना घर निर्माण, सीप विकास तालिम र सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् । बाँस उपचार केन्द्र स्थापना, दक्ष जनशक्ति उत्पादन र प्राविधिक सहयोगमार्फत बाँस संरचना निर्माणको दायरालाई विस्तार गर्ने कार्य तीव्र रूपमा भइरहेको छ ।

बाँसबाट बनेका संरचनाहरूको माग पनि बढ्दो छ । विशेषगरी उपचार गरिएको बाँसको माग बढ्दो छ, तर आपूर्तिको पक्ष कमजोर देखिन्छ । अवलोकन भ्रमणका क्रममा हामीले त्यहाँकी व्यवसायी शान्ति राईका अनुसार उपचार गरिएका बाँसको माग उच्च छ । ग्रीन गोल्ड सोलुसन्स सुन्दरहरैँचा नगरपालिकाकी सञ्चालिका रहेकी राईका अनुसार सरकारी निकाय, गैरसरकारी संस्था, निजी निर्माण कम्पनीहरू सबैले बाँसमा चासो देखाइरहेका छन्, तर पर्याप्त पूर्वाधार र लगानी अभावले मागअनुसार आपूर्ति गर्न नसकिएको उनको अनुभव छ । सरकारी सहयोग र अनुदान पाइयो भने बाँस उद्योग ठूलो उचाइमा पुर्‍याउन सकिने उनको भनाइ छ ।

नेपालमा बाँसको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न त्यसमा लाग्ने रोगको निराकरण पनि गर्न जरुरी छ । नेपालमा प्रयोग हुने बाँसहरूमा बोरिक एसिड र बोराक्सको मिश्रण प्रयोग गरी उपचार गरिन्छ । जसले बाँसलाई कीराहरूबाट जोगाउँछ र यसको आयु २५-३० वर्षसम्म पुर्‍याउँछ ।

नेपालमा हाल १ लाख ६० हजारभन्दा बढी प्रशोधित बाँसको पोलका माग देखिन्छ, तर शान्ति राईले सञ्चालन गर्दै आएको कम्पनीले मात्रै वार्षिक करिब २६ हजार बाँस प्रशोधन गर्दै आएको छ । उनी निकट भविष्यमा उत्पादन क्षमता दोब्बर पार्ने योजनामा छिन् । बाँसले हरित अर्थतन्त्रको प्रवर्द्धन र वातावरणमैत्री निर्माणमा योगदान गर्नसक्छ । हालैका वर्षहरूमा पूर्वी नेपालका तराई जिल्लाहरूमा केही साना बाँस प्रशोधन प्लान्टहरू सञ्चालनमा आएका छन् ।

सरकारले दिगो विकास लक्ष्य प्राप्तिको सन्दर्भमा हरित पूर्वाधार निर्माण, वातावरण संरक्षण र स्थानीय उद्यम प्रवर्द्धनमा बाँस उद्योगलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । यदि बाँस उत्पादन, प्रशोधन र प्रयोगमा उचित नीतिगत प्रोत्साहन दिइयो भने यसले ग्रामीण उद्यमशीलता, रोजगारी, आवास अधिकार र वातावरण संरक्षणमा समन्वित योगदान दिनसक्छ । बाँस न केवल निर्माण सामग्री हो, यसले जलवायु प्रतिरोधी आवास निर्माणको मेरुदण्ड बन्नसक्ने क्षमता राख्छ ।

उपयुक्त भूभागमा व्यावसायिक स्तरमा बाँस खेती प्रोत्साहन गर्न सरकारी अनुदान, बीउ वितरण र प्राविधिक सेवा उपलब्ध गराइनुपर्छ । संरचनात्मक निर्माणका लागि उपयोगी प्रजाति (जस्तैः ठिग्रे बाँस, राम बाँस, तामा बाँस) को संरक्षण र व्यावसायिक उत्पादन सुनिश्चित गर्न अनुसन्धान संस्थाहरूलाई समन्वय गरिनुपर्छ । सामुदायिक वनमा बाँस खेतीका लागि नीति बनाई समुदायलाई बाँसको स्वामित्व र आम्दानीमा हिस्सेदारी दिनुपर्छ ।

उपचार नगरिएको बाँसको तुलनामा उपचार गरिएको बाँसको मूल्य प्रतिथान ३००-४०० रूपैयाँ पर्छ, जसको आयु २५-३० वर्षसम्म टिक्ने प्रमाणित छ । त्यसैले उपचार गरिएको बाँस संरचनात्मक निर्माणको लागि अत्यावश्यक हुन्छ ।

प्रदेश र स्थानीय तहमा उपचार केन्द्र स्थापनाका लागि अनुदान, सहुलियत ऋण तथा सार्वजनिक-निजी साझेदारी (पीपीपी) मा आधारित कार्यक्रम ल्याउनुपर्छ । बोरिक एसिड र बोराक्स जस्ता उपचारमा प्रयोग हुने रसायनहरूको सुरक्षित आपूर्ति तथा ग्रामीण क्षेत्रसम्म प्रविधि हस्तान्तरण आवश्यक छ । उपचार गरिएका बाँसको लागि राष्ट्रिय गुणस्तर प्रमाणीकरण (जस्तैः नेपाल गुणस्तर चिन्ह) प्रणाली विकास गरिनुपर्छ ।

बाँसको उपचार, घर निर्माण, फर्निचर निर्माण आदि विषयमा प्राविधिक तालिम प्रदान गर्ने कार्यक्रम विस्तार गर्नुपर्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीभीटी) र अन्य शिक्षण संस्थामार्फत बाँससम्बन्धी पाठ्यक्रम समावेश गरी जनशक्ति उत्पादन गर्नुपर्छ । महिला, दलित र पिछडिएका समुदायलाई बाँस उद्योगमा संलग्न गराउने लक्षित कार्यक्रम ल्याउनुपर्छ । उत्पादन भएको बाँस तथा प्रशोधित सामग्रीलाई नगरपालिका, सहकारी र निजी क्षेत्रमार्फत बजारमा जोड्नुपर्छ । बाँस सामग्रीको अन्तर्राष्ट्रिय बजार पहिचान गरी निर्यात नीति तथा सुविधा निर्माण गर्न सकिन्छ । कर छुट, लगानी सुरक्षा, सहुलियत ऋण जस्ता नीति उपकरण प्रयोग गरेर बाँस उद्योगमा निजी क्षेत्रको लगानी आकर्षित गर्नुपर्छ ।

वन, वातावरण, आवास, उद्योग र शिक्षा मन्त्रालयबीच समन्वय कायम गरी एकीकृत ‘बाँस विकास तथा प्रयोग नीति’ तयार गर्नुपर्छ । बाँसलाई राष्ट्रिय जलवायु अनुकूलन योजना, हरित पूर्वाधार नीति तथा कार्बन उत्सर्जन न्यूनीकरण योजनामा समेटिनुपर्छ । बाँसको कार्बन बन्धन क्षमता, जीवनचक्र विश्लेषण र क्षेत्रगत उपयोगितासम्बन्धी अनुसन्धान तथा डेटा व्यवस्थापनमा लगानी गर्नुपर्छ । बाँस नेपालको लागि केवल प्राकृतिक स्रोतमात्र नभएर आर्थिक विकास, सामाजिक उत्थान र जलवायु अनुकूलनको बहुआयामिक माध्यम बन्नसक्ने स्पष्ट सम्भावना छ । संरचनागत रूपान्तरणको मोडमा उभिएको नेपालका लागि बाँस अब ‘विकल्प’ होइन, ‘अवसर’ हो ।

(डा. ठकुरी जलवायुविज्ञ तथा मध्यपश्चिम विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डीन हुन् ।)

Comments

One response to “जलवायु उत्थानशीलताका लागि बहुउपयोगी बाँस”

  1. TILAK PRASAD SAPKOTA Avatar

    राम्रो लेखका लागि हार्दिक धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *