काठमाडौं । हालसालै भारत सरकारले आतंकवादी भन्दै आएको खालिस्तान आन्दोलनका एक नेता नेपालबाट पक्राउ गरिएको भन्ने समाचारका हेडलाइन बजारमा व्यापक चलेका छन्।
खासगरी भारतीय मिडियाहरूले खालिस्तान आन्दोलनका एक अनुहार बलवीर सिंह भनेर चिनिने कश्मीर सिंह गलबड्डी शनिबार नेपालबाट पक्राउ गरिएको भन्ने समाचार दिएका छन्।
दुर्गा प्रसाईँ भारतमा नियन्त्रणमा लिइएको घटनाजस्तै नेपाल प्रहरीले भने यो पक्राउको घटनामा मौनता देखाएको छ।
खालिस्तान भारतलाई टाउको दुःखाई भएको छ। यही आन्दोलनको बारेमा यहाँ पाँच प्रश्नोत्तरमा चर्चा गरिएको छ।
१. खालिस्तान आन्दोलन के हो ?
खालिस्तान शब्दको शिखहरूले लगाउने अर्थ ‘पवित्र भूमि’ हो। र उनीहरूको भाषामा त्यही ‘पवित्र भूमि’ को अलग देश बनाउने आन्दोलन नै खालिस्तान आन्दोलन हो।
खालिस्तान आन्दोलन मूलतः भारतका शिखहरूले आफ्नै बेग्लै राज्य बनाएर आफ्नो अलग सार्वभौमसत्ता सञ्चालन गर्न ल्याएको एक अवधारणा हो। खासगरी भारतको पन्जाब क्षेत्र र आसपासका क्षेत्रहरूलाई लिएर एक अलग मुलुक हुनुपर्छ भन्ने मुद्दा हो यो आन्दोलनको।
पाकिस्तानमा पनि पन्जाब क्षेत्र रहेको छ। तर भारतको मात्रै भूगोल समेटेर बनाउने कि पाकिस्तानको पनि समेटेर अलग राज्य बनाउने भन्नेमा भने विवाद भएको अलजजिराले उल्लेख गरेको छ।
एकथरिले भारतको पन्जाब, हरियाणा, हिमाञ्चल प्रदेशहरू जोडेर अलग राज्य हुने पक्षमा छन् भने अर्को थरिले लाहोर, रावलपिण्डी, फैसलाबादलगायतका क्षेत्रहरू समेटेर खालिस्तान हुनुपर्छ भन्ने लाइन बोकेका छन्।
२. कहिलेदेखि सुरु भयो खालिस्तान आन्दोलन ?
अंग्रेजहरूले भारतीय उपमहाद्वीपका धेरै क्षेत्रहरूमा कब्जा गर्दा त्यहाँ विभिन्न राज्यहरू थिए। देशहरू थिए। ती सबैलाई मिसमास गरेर उनीहरूले भारत बनाए। पछि सन् १९४७ मा अंग्रेजहरूले छोडेर गएसँगै भारत र पाकिस्तान अलग भए।
नेपालका वलभद्र कुँवरले पनि शिख साम्राज्यका राजा रणजीत सिंहको सेनामा काम गरेको इतिहास छ। कुँवर शिख र अफगानको युद्धमा मारिएका थिए। पछि अंग्रेजहरूले शिख साम्राज्यसँग लडेर सकेका थिए। यही विरासतलाई टेकेर भारत र पाकिस्तान अलग भएसँगै ऐतिहासिक सत्ताका नोस्टाल्जियामा पुगेका समुदायहरूमा एक समुदाय बन्यो शिख।
उनीहरूले शिखहरूको अलग देश हुनुपर्ने पक्षमा आवाज उचाले। सन् १९४८ मा तारा सिंह भन्ने एक शिख नेताले अलग शिख राज्यको पक्षमा आवाज बलियोसँग उचालेका थिए।
३. कुन–कुन हिंसात्मक आन्दोलनमा जोडिएको छ खालिस्तान आन्दोलन ?
खालिस्तान आन्दोलन शान्तिपूर्ण आन्दोलन मात्रै होइन। यसले हिंसा पनि गरेको छ। र खालिस्तानको हिंसालाई प्रतिकार गर्न भारतले प्रति–हिंसा गरेको छ। ठीक त्यसैगरी हिंसा र प्रतिहिंसाका किस्सा छन्, जस्तै नेपालमा माओवादीलाई आतंककारी सूचीमा राख्दाताका सरकार र विद्रोही माओवादीबीच थिए।
सन् १९८४ मा खालिस्तान आन्दोलनले लिएको हिंसात्मक स्वरूप धेरै घातक थियो। सो वर्ष जुन १ देखि १० सम्म पन्जाबको गोल्डेन टेम्पलमा खालिस्तानी लडाकुहरूले कब्जा गरेका थिए।
सरकारसँग सैन्य भिडन्त भएको थियो। अन्ततः इन्दिरा गान्धी नेतृत्वको सरकारले लडाकुहरूलाई परास्त गर्न सफल भएको थियो। तर स्वयं गान्धीको ज्यान भने बच्न सकेन। उनलाई दुई शिख सुरक्षागार्डले अक्टोबर ३१ मा हत्या गरे।
यस्तै, १९८५ मा खालिस्तान आन्दोलनसँग जोडेर अर्को एक विध्वंस भयो। सो वर्ष जुन २३ मा क्यानडाबाट भारतमा उडान गरिरहेको एयर इण्डियाको उडान १८२ मा सवार ३२९ यात्रुको हत्या गरिएको थियो।
त्यसको प्रतिकारमा सन् १९८६ र सन् १९८८ मा भारतीय सेनाले शिख लडाकुहरूलाई व्यापक शक्ति प्रयोग गरेर तहसनहस बनाएको थियो। त्यो सैन्य कारबाहीले दशक चलेको हतियारधारी समूहलाई सार्वजनिक वृत्तबाट अन्त्य गर्न भूमिका खेलेको थियो।
४. कति प्रभावशाली छ खालिस्तान आन्दोलन ?
भूगोल र जनसंख्याको कोणमा खालिस्तान धेरै ठूलो जनमानस र भूगोल समेट्ने आन्दोलन होइन। शिखहरूको जनसंख्या भारतको जनसंख्याको २ प्रतिशत मात्रै भएको बेलायती समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।
रोयटर्सका अनुसार भारतमा शिखको जनसंख्या साढे दुई करोड रहेको छ। तर खालिस्तान आन्दोलनका कारण दशौँ हजारको ज्यान गइसकेको र भारतको पन्जाबमा यसका खतहरू अझै भएको रोयटर्सले उल्लेख गरेको छ।
खासगरी शिख डायस्पोरामा खालिस्तान आन्दोलन बलियोसँग बसेको देखिएको छ। जसको कारण भारतको कूटनीतिक टाउको दुःखाई पनि बनेको छ।
५. खालिस्तान डायस्पोराले भारतको टाउको दुःखाई कत्तिको छ ?
सन् २०२३ मा क्यानडाका एक शिख नेता हार्दिप सिंह निज्जरको हत्या भयो। हत्या भारत सरकारले गरेको भनेर क्यानडाली प्रधानमन्त्री तथा मन्त्रीहरूले सार्वजनिक रूपमै भने। यो घटना बढेर दुई देशले कूटनीतिज्ञहरू घटाउने तथा आरोप–प्रत्यारोप लगाउनेसम्मका घटनाहरू भए। बेलायत, अस्ट्रेलिया, क्यानडा तथा न्यूजिल्यान्डमा पनि भारतको विरोध भयो।
सन् २०२४ मा अमेरिकामा पनि एक शिख नेताको हत्या प्रयास भएको अमेरिकी गुप्तचरले पत्ता लगाएर सार्वजनिक भयो।
अमेरिकाको गुप्तचर निकाय एफबीआईले भारतका एक कर्मचारीले हत्या प्रयासमा जोडिए पनि हत्या सफल नभएको सार्वजनिक गरेको थियो। यसले भारतको अमेरिकासँगको सम्बन्धमा पनि बाइडेनकालमा केही खटपट ल्यायो।

Leave a Reply