लुम्बिनीकी गीता : बेलायतबाट फर्केर समानुपातिक सांसद, श्रीमान् जसपा नेपालमा गएपछि राजीनामा

रुपन्देही । लुम्बिनीमा सत्ता साझेदार जनमत पार्टीका तर्फबाट प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा अहिले चर्चामा छ । सामाजिक सन्जालमा उनका श्रीमान कैलाश गुरुङले सार्वजनिक गरेको राजीनामा कतै दर्ता भएको छैन । गीता अहिले कहाँ छन् भन्ने पनि कसैलाई थाहा छैन ।

उनका छिमेकीका अनुसार उनी केही साताअघि नै बेलायत गइसकेकी छन् । राजनीतिमा आउनुअघि छोराछोरीसहित बेलायत बस्दै आएकी गीता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ८ की स्थायीबासी हुन् ।

जनमत पार्टीको केन्द्रीय सदस्य रहेका उनका श्रीमान कैलाश गुरुङ गत चैत ९ गते उपेन्द्र यादव नेतृत्वको जसपामा प्रवेश गरेसँगै गीताको पार्टीसँग दूरी बढेको नेताहरुको भनाइ छ । जनमतका नेताहरु गीता र कैलाशले पटक-पटक मन्त्री बनाउन दबाब दिएको बताउँछन् ।

तर, पार्टीले सरकारलाई सहयोग गरेको भएपनि एउटा पनि मन्त्री नपाएकाले सम्भव नभएको नेताहरुले बताउँदै आएका थिए । कैलाश आफैंले मन्त्री पाउँदा पनि जनमतमा बस्ने वातावरण नभएकाले राजीनामा दिनुपरेको पत्रकारलाई बताएका छन् ।

मंगलबार बिहान गीता गुरुङको राजीनामा आफूलाई उनैका श्रीमान कैलाशले म्यासेनजरमा पठाएको उनका छिमेकीसमेत रहेका भैरहवाका पत्रकार शंकर पाण्डेले बताए ।

‘राजीनामा पठाएपछि उहाँले आफै फोन गर्नुभयो’, पाण्डेले कैलाशको भनाइ उद्घृत गर्दै भने, ‘बस्ने वातावरण भएन, अब मन्त्री नै दिएपनि नबस्ने भनेर राजीनामा दिइएको छ ।’

उनले पाण्डेलाई सो समाचार बनाइदिन अनुरोध पनि गरे । ‘दिउँसो सभामुखलाई बुझाउन जाने बताउनुभएको थियो, गीता त अहिले बेलायत नै गइसकेको सुनिएको छ’, उनले भने । ‘कैलाशले प्रदेशसभामा राजीनामा दर्ता गराउन हिँडेको बताउनुभएको हो, तर अहिले मोबाइल अफ रहेको छ, बिहान मेरो कुरा भएको हो’, उनले भने ।

जनमतका लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताले कैलाशले श्रीमतीलाई मन्त्री बनाउन पटक पटक कुरा राखेको तर तीन सांसद रहेको पार्टीबाट कोही पनि मन्त्री नरहेकाले र अहिले ढुक्क भन्न नसकिने बताएपछि उनीहरु असन्तुष्ट भएको बताए ।

‘सिके गुप्ता, सुमन रायमाझी र गीता गुरुङ तीन जना सांसद हुनुहुन्छ, बेलायतमा बस्ने मान्छे क्लष्टर मिलाउँदा आएको केही समयमै सांसद हुनुभयो, उहाँले पार्टीमा काम गरेर पाएको पनि होइन, त्यस्तै भाग्य पर्यो निर्वाचनको कानूनले, यहाँ कति लामो समय पार्टीमा काम गरेकाहरुले केही पाएका छैनन्’, उनले भने, ‘त्यसपछि खाली मन्त्री बनाउनपर्यो भन्नुभयो, गीताले केही नभनेपनि कैलाशले पटक–पटक भन्नुभयो, दलको बैठकमा पनि पठाउनुभएन, कहिलेकाहीँ सदनमा सँगै लगेर जाने र हाजिर गराएर ल्याउन गर्नुभयो, यही मुख्य समस्या भयो ।’

नेपाल प्रेसको सम्पर्कमा आएका कैलासले धेरै कुरा गरेनन् । राजीनामाको विषय के हो ? भनेर प्रश्न गर्दा बनिबनाऊ जवाफ दिए, ‘सबै विषय पत्रमै छ नि, अहिले म सानो कार्यक्रममा छु, पछि कलब्याक गर्छु है, राजनीतिमा उतारचढाब भइरहन्छ ।’

कलब्याक गर्छु भनेर फोन राखेका कैलाशको त्यसयता मोबाइल अफ छ । उनले प्रदेश सभामा फोन गरेर राजीनामा बुझाउनु आउने बताएको त्यहाँका कर्मचारीले जनाएका छन् ।

त्यसो त गुरुङले सार्वजनिक गरेको पत्रमा पार्टीलाई कतै आरोप लगाइएको छैन । गीता–कैलाशका छोरा र छोरी बेलायतमै बस्छन् भने उनीहरु पनि जाने आउने गरेका छन् । यहाँ सांसद हुनुअवावै गीताले बेलायतमै करिब ३ लाख मासिक तलब लिने काममा जोडिएकी थिइन् ।

सो पार्टीका प्रदेश अध्यक्ष राजेन्द्र गुप्ता भन्छन्, ‘बेलायमा सबै व्यवस्थापन भएको मान्छेलाई यहाँको सांसदको तलबले केही चलेनहोला, तर यहाँ उहाँले भाग्यले नै त्यो पद पाउनुभएको हो, हाम्रो निर्वाचन प्रणाली नै यस्तै बनाइएको छ, उहाँलाई त्यहाँ पठाउँदा नै ठूलो गल्ती भयो भन्ने पार्टीर्लाइ लागेको छ, पार्टीमा काम गरेको मानछे पठाएको भए यति हलुका बन्नुपर्दैनथ्यो जस्तो लागेको छ ।’

गीताको नाममा सार्वजनिक राजीनामा पत्रमा देश र जनताको पीर मर्का आफूले राम्ररी बुझेको तर राष्ट्र र जनताभन्दा माथि केही हुँदैन भन्ने मान्यता रहेको भावनात्मक शब्दहरु उल्लेख छन् ।

‘मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा, दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभाश भइरहेको छ’, उनले लेखेकी छन् ।

जनताले तिरेको करबाट तलब खान उपयुक्त नभएको भन्दै उनले आजकै मितिबाट लागू हुने गरी राजीनामा पेश गरेकी हुन् ।

जनमत संसदीय दलका नेता चन्द्रकेश गुप्ताले गुरुङलाई पहिलेबाट नै पार्टीले राजीनामा गर्न भनेको बताएका छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले आफूले सभामुखलाई गुरुङको राजीनामा स्वीकृत गर्न भनेको तर त्यसको औपचारिक पत्र आफूसँग नआएको सुनाए ।

‘गुरूङ पार्टीक‍ो सम्पर्कमा नरहेको र दलको बैठकमा बोलाउँदा नआएको सत्य हो, सदनमा पनि अधिकांश दिन उपस्थित हुनुहुन्न । राजीनामा आए स्वीकृत गर्ने हो, विधिमा बस्नुपर्छ, उहाँलाई छनौट गर्दा नै गलत गरियो भन्ने लागेको छ’, उनले भने ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन र सभामुख तुलाराम घर्तीले राजीनामा मिडियाबाट सुनेको देखेको तर कार्यालय आइनसकेको बताएका छन् । औपचारिक केही आएको छैन, दलका नेता सिके गुप्ताले आउँदैछ भन्नुभएको छ तर आएको छैन, आएपछि अध्ययन गरेर अघि बढ्नेछौं’, उनीहरुको भनाइ छ ।

सांसद गीताका श्रीमान कैलाश चैत ९ गते जनमत पार्टीमा प्रवेश गरेका थिए । कैलाशलाई उपेन्द्र यादव आफैले जनता समाजवादी पार्टी नेपाल (जसपा, नेपाल) मा प्रवेश गराएका थिए ।

Comments

2 responses to “लुम्बिनीकी गीता : बेलायतबाट फर्केर समानुपातिक सांसद, श्रीमान् जसपा नेपालमा गएपछि राजीनामा”

  1. bharat kumar thapa Avatar

    देशमा रहने भन्दा विदेश बस्नेलाई राजनीति मोह सांसद अनि मन्त्री के का लागि देश र जनतालाई झुक्याउने बेजो अव नेपाल बनेन भनौ है

    1. ksp pyl Avatar
      ksp pyl

      यिनीहरूले पैसा खाएर साँसद पद बेचेकाले यस्तो अवस्था आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *