काठमाडौं । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिमका संसदीय दलको बैठक सकिएको छ । संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकारमा पठाउने मन्त्रीको नाम केन्द्रसँग माग्ने निर्णय गरेको छ ।
‘मन्त्रीको नामबारे यही हप्ताभित्र केन्द्रबाट निर्णय दिने अथवा दलको कार्यालयलाई स्वायत्त अधिकार दिने सर्वसम्मत निर्णय गरिएको छ’, दलका नेता घनश्याम चौधरीले नेपाल प्रेसलाई भने ।
विवादित अडिओका कारण उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन छ । आजको संसदीय दलको बैठकले उक्त मन्त्रालयमा कसलाई मन्त्री पठाउने भन्नेबारे निर्णय गर्ने तयारी गरेको थियो । तर, यसअघि नै मन्त्री पठाउने जिम्मा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दिएको भन्दै अब उनीबाटै मन्त्रीको नाम माग्ने संसदीय दलले निर्णय गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने कुनै निर्णय गरेको भए त्यसबारे पनि जानकारी गराउन संसद दलले निर्णय गरेको छ । नागरिक उन्मुक्तिका संसद दलका नेता घनश्याम चौधरीको अध्यक्षतामा बसेको बैठकमा सातमध्ये पाँच सांसद उपस्थित थिए ।
बैठकमा लक्ष्मणकिशोर चौधरी र टीका थापा उपस्थित भएनन् । नीति कार्यक्रम र बजेटको चटारो भइरहेको बेला वन मन्त्रालयमा मन्त्री नहुँदा काम प्रभावित भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाले मन्त्रीको नाम सिफारिस गरेलगत्तै मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । संसद दलले केन्द्रबाटै मन्त्रीको नाम माग गरेपछि मन्त्री नियुक्ति अझै लम्बिने देखिएको छ ।

Leave a Reply