रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संविधान ल्याए भन्नेहरुले नै यो संविधानको उल्लंघन गरिरहेको आरोप लगाएका छन् । उनले आफूहरु यो संविधानमा असहमत र विमति राखेको भए पनि संविधानको पालना गरिरहेको दाबी गरे ।
राप्रपा सिद्धार्थनगरको नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष लिङदेनले यो संविधानमा राजसंस्था, हिन्दू राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भनेर भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरे ।
‘अहिले संविधानलाई आफूखुसी व्याख्या गर्न पाइँदैन र त्यस्तो भन्यो भने संविधानविपरीत हुन्छ भनेर हाम्रा साथीहरुलाई थुनामा राखिरहेका छन्’, उनले भने, ‘अरु पनि मानिसहरुको लिस्ट बनाएर यो सरकार प्रतिशोध साध्न तयार भएर बसिरहेको छ ।’
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लिङदेनले आफ्नो विचार राखेको कारण राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने बताए ।
उनले यो सरकार संविधानविपरीत आफ्नो भ्रष्टाचार छोप्न र सत्ता स्वार्थका लागि अग्रसर भएको र यसले जे पनि गर्ने दाबी गरे ।
अध्यक्ष लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले पुर्जी पठाउन नपाउँदै राति ओछ्यानमा गएर तपाईंको अन्तिम इच्छा के छ भनेर सोधिएको बताए ।
विपक्षीहरुको आवाज थुनेर विकासको नाममा सरकारले भ्रष्टाचार गरिरहेको उनको भनाइ छ ।
भैरहवा विमानस्थलका लागि ३–४ सय विगाह जग्गा चाहिनेमा ८०० विगाहा जग्गा किन खरिद गरियो भन्दै उनले प्रश्न गरे ।
अध्यक्ष लिङदेनले नेपाली जनताको रगत–पसिनाबाट उठेको करबाट बनाइएको एअरपोर्टको हालत यही हो भन्दै उनले प्रश्न गरे ।
‘नेपालमा भ्रष्टाचार गर्न योजना बनाइन्छ, एयरपोर्ट बनाइन्छ, कमिसन खान प्लेन किनिन्छ’, उनले भने, ‘आज देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ । एकपटक बलियो धक्का दिने बेला भएको छ ।’
अध्यक्ष लिङदेनले नेता सुध्रिए देश सुध्रिन समय नलाग्ने र राप्रपा नेता सुधार्ने अभियानमा लागेको बताए ।
उनले उपनिर्वाचन जहिले भए पनि आजैदेखि लाग्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । को उम्मेदवार बन्ने भन्नेबारे पार्टीले निर्वाचनको बेला उपयुक्त निर्णय गर्ने उनले बताए ।
‘यो स्वर्गीय दीपक बोहराको सपनासँग गाँसिएको विषय हो’, उनले भने, ‘उहाँको आत्मालाई सच्चा श्रद्धाञ्जली दिन एकताबद्ध भएर आजैदेखि लाग्नुस् ।’
त्यस्तै पार्टीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले मुलुकमा राजसंस्था र हिन्दू राष्ट्र आउने दाबी गरे ।

Leave a Reply