कैलाली । बाजुराकाे बुढीगङ्गा नगरपालिकामा दीर्घकालीन समृद्धि र समन्वित विकासको मार्गचित्र कोर्न ‘कचहरी’ कार्यक्रम सुरु भएको छ । तीन दिनसम्म चल्ने यस कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वप्रदेश प्रमुख देवराज जोशीले गरेका हुन् ।
विकासमूलक एजेन्डालाई साझा बनाउँदै राजनीतिक दलहरूलाई समेत एकता र सहकार्यको दिशामा उन्मुख बनाउन ‘कचहरी’ आयोजना गरिएको मेयर रामबहादुर बानियाँका जानकारी दिए ।
‘हामीले कचहरीमा आगामी बजेटमात्र होइन, बुढीगङ्गालाई २० वर्षपछि कस्तो देख्न चाहन्छौं भन्ने दीर्घकालीन सोचसहित छलफल गरिरहेका छौं’, मेयर बानियाँले भने ।
गाउँघरको परम्परागत छलफल संस्कृतिलाई आधुनिक विकास योजना बनाउने उद्देश्यसहित आयोजना गरिएको कचहरीमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार, सूचना प्रविधि, सुशासन, विपद् व्यवस्थापनलगायत ११ मुख्य विषयमा अवधारणापत्र प्रस्तुत गरिएको छ ।
स्थानीय तहमा राजनीतिक सहकार्य, विषयगत योजना निर्माण र दीर्घकालीन दृष्टिकोणका साथ सञ्चालन भइरहेको यो कचहरीले बुढीगङ्गालाई भविष्यमा समृद्ध र उदाहरणीय नगर बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमको अन्तिम दिनसम्म यी विषयमा गहन छलफल गरी घोषणापत्र सार्वजनिक गरिने प्रमुख प्रशासकीय अधिकृत अम्बरराज जोशीले जानकारी दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता देवराज जोशी, एमालेका नेता तथा पूर्वमन्त्री कर्णबहादुर थापा, सांसद लालबहादुर थापा, पूर्वमन्त्री पठानसिंह बोहरा, अछामका नेता कृष्णप्रसाद जैशी, संविधानसभा सदस्य पेम्बा शेर्पा, बलदेव रेग्मी, देवकी मल्ल, प्रदेशसभा सदस्य नरेश शाही, पदमबहादुर शाहीलगायतको सहभागिता रहेको छ ।

Leave a Reply