रुपन्देही । २५६९औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस २०८२ तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइने भएको छ । लुम्बिनी विकास कोषले शनिवार पत्रकार सम्मेलन गरी बुद्ध जयन्तीमा रुपन्देही, कपिलवस्तु र नवलपरासीमा वैशाख २८ देखि ३० गतेसम्म गरिने जानकारी गराएको हो ।
कोषका उपाध्यक्ष डा ल्यारकाल लामाले वैशाख २८, २९ र ३० गते तीन दिन उत्सवका रुपमा बुद्ध जयन्ती मनाइने बताए । तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुने लामाले बताए । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन हुनुले पनि यो दिन विशेष महत्वको भएको लामाले बताए । गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैँचामा वैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो ।
२५६९औं बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मूल आयोजक समिति गठन भएको र अन्य समितिहरूमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एवं संविधान सभा सदस्य डा। ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति, कोषाध्यक्ष दुण्डिराज भट्टराईको संयोजकत्वमा प्रचार प्रसार र रामग्राम देव दह समन्वय उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा व्यावस्था तथा स्वयम् सेवक व्यावस्था उपसमिति बनेको कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए ।
कार्यकारी सदस्य श्याम मिझारको संयोजकत्वमा अतिथि सत्कार, आवास तथा यातायात व्यावस्था उपसमिति, परिषद् सदस्य गोपीकृष्ण शर्माको संयोजकत्वमा कपिलवस्तु समन्वय उपसमिति, कार्यकारी सदस्य विश्वराज पौडेलको संयोजकत्वमा शोभा यात्रा, प्रसाद वितरण तथा भोजन व्यवस्थापन उपसमिति, योजना प्रमुख स्मिता भट्टको संयोजकत्वमा मायादेवी मन्दिर, मधु साजसज्जा तथा सरसफाई व्यावस्था उपसमिति वरिष्ठ निर्देशक ज्ञानिन राईको संयोजकत्वमा प्रकाशन वितरण तथा कार्यक्रम व्यावस्था उपसमिति गठन गरी कामहरु भइरहेका राईले बताए ।
वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने कोषका कोषाध्यक्ष एवं प्रचार संयोजक भट्टराईले बताए । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, र प्रदेशसभा सदस्यज्यूहरूसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत महभागिता रहने उनले बताए ।
तीन दिने कार्यक्रम अन्तर्गत वैशाख २८गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुनेछ भने वैशाख २९ गते बिहान ६ बजेदेखि भिक्षु भिक्षुणी, लामा गुरुहरू तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, बिहान साढे ७ बजे ५ नम्बर गेटबाट शोभा यात्रा हुने छ । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचीन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्ध जयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसँगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने उनले बताए ।
लुम्बिनीबाट कपिलवस्तु सम्म मायादेवी मार्ग हुँदै बुद्ध कालिन अवस्थाको झल्को दिने गरी शोभा यात्रा गरिने कोषका वरिष्ठ सूचना अधिकारी डा हरि ध्वज राईले बताए ।
यस्तै बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, शाकाहारी खाना महोत्सव, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रभुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिने उनले बताए ।
बुद्धको ज्ञानको महत्त्व दर्साउनका लागि देव दह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिकासहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लावासीहरूलाई बुद्ध जयन्तीका अवसरमा दीप प्रज्वलन गर्न लुम्बिनी विकास कोषले अपिल गरेको छ । बुद्ध जयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्सेनि हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभा यात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।

Leave a Reply