काठमाडाैं । अछामको बान्नीगढी जयगढ गाउँपालिकामा २ करोड ४२ लाख रुपैयाँको कोल्ड स्टोर निर्माणसम्बन्धी ठेक्का प्रक्रियालाई अन्तिम चरणमा पुगिसकेपछि नियमविपरीत रद्द गरिएको खुलासा भएको छ।
आर्थिक प्रस्ताव (दररेट) खुलेर सस्तो मूल्यमा ठेक्का जित्ने सुनिश्चित इनएस हरिगंगा जेभीलाई पाखा लगाउँदै गाउँपालिकाले मनपरी शैलीमा ठेक्का खारेज गरेको आरोप लागेको हो।
गएको फागुन १४ गते ठेक्का बोलपत्र आह्वान गरिएको उक्त निर्माण कार्यका लागि पाँचवटा निर्माण कम्पनीले प्राविधिक प्रक्रिया पार गरी बिड पेश गरेका थिए।
इनएस हरिगंगा जेभीले सबैभन्दा कम २ करोड १२ लाख रुपैयाँमा बिड गरेपछि ठेक्का पाउने लगभग सुनिश्चित भएको थियो। नियमानुसार, बैशाख २१ गते आर्थिक प्रस्ताव खोलिएको थियो र त्यसपछिको ७ दिनभित्र ठेक्का सम्झौता प्रक्रियामा जानुपर्ने व्यवस्था छ।

ठेक्काको आर्थिक आशय खोलेपश्चात् आवश्यक प्रकृया अघि बढाउन ढिलाई भएछि इनएस हरिगंगा जेभीले ठेक्काबारे आवश्यक सूचना माग गरेको थियो ।
उसले सूचना माग गरेकै दिन अर्थात् बैशाख २५ गते बिहिवार कार्यालय समय भन्दा आधा घण्टा ढिला ठेक्का रद्दको सूचना प्रकाशित गरेको छ ।
कम्पनीले गाउँपालिकाले ठेक्काको प्रक्रिया मिचेको भन्दै उच्च निकायमा उजुरी दिने तयारी गरेको हेमराज ढुंगानाले बताएका छन् ।
गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको ठाडो निर्देशनसहित गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर रावल, लेखा अधिकृत नारद खनालको सल्लाह बमोजिम ठेक्का रद्द गरिएको गाउँपालिका निकट स्रोतले बताउँछ ।

ठेक्का प्रकृयामा संलग्न एक अधिकारीका अनुसार आर्थिक आशय खोलेपश्चात् इनएस हरिगंगा जेभीले सबै भन्दा बढी घटि मूल्यमा आर्थिक प्रस्ताव पेश गरेको भेटिएपछि तनावमा परेका गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले तत्कालै ठेक्का छनोट समितिका सदस्यलाई डाकि के कसरी हुन्छ ठेक्का रद्द गर्न आवश्यक बाटो खोज्न निर्देशन नै दिएका थिए ।
गाउँपालिकाका एक अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष साउँद उनीसँग हिमचिममा रहेका एक ठेकेदारले प्रस्ताव पेश गरेको निर्माण कम्पनीले नै ठेक्का पाउनेमा बिश्वस्त थिए ।
ती अधिकारीका अनुसार आफूले सोचेको उल्टो भइदिएपछि रन्थनिएका गाउँपालिका अध्यक्ष साउँदले दबाव दिएपछि कर्मचारी ठेक्का रद्द गर्न बाध्य भएका हुन् ।
आफूसँग हिमचिममा रहेको र प्रस्ताव पेश गरेको उक्त निर्माण कम्पनीले नै ठेक्का पाउनुपर्नेमा गाउँपालिका अध्यक्ष साउँदको जोडले उनीहरुबीच गम्भीर आर्थिक मिलेमतोको आशंका उब्जिएकाे छ ।

उसो त गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरुबाट ५,१० हजार माग्ने गरेकोदेखि गाउँपालिकाका लागि विभिन्न सामाग्री खरिद गरिएका अछाम,धनगढी लगायतका पसलहरुबाटै समेत पैशा माग्ने गरेको समेत चर्चा हुने गरेको छ ।
ठेक्का रद्द गर्ने सूचना जारी गर्न गाउँपालिकाका लेखा अधिकृत नारद खनालको फट्याईँले विशेष भूमिका खेलेको ठेक्का छनोट समितिमा रहेका एक कर्मचारी बताउछन् ।
गाउँपालिकामा लेखा अधिकृत रहेका खनाल आफूलाई मन लागे पाँच दुना पन्ध्र गर्ने र मन नलागे पाँच दुना दस समेेत नमान्ने पात्रका रुपमा हेरिन्छन् ।
कार्यालय प्रमुखसहित गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष समेतलाई ट्वाँ पारेर मन लागे रातिसम्म लेखा शाखा खोल्ने मन नलागे दिउँसै भोटे ताल्चा लगाउने गरेका लेखा अधिकृत खनाललाई गाउँपालिकाकै केही कर्मचारीले उपर अध्यक्ष तथा उपर हाकिमको उपमा समेत दिने गरेका छन् ।
तिनै खनालले यो ठेक्का रद्द गर्ने गाउँपालिका अध्यक्षको अडानका दर्हो साथ दिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत वसन्त रावल निरीह बनेर ठेक्का रद्द गर्न बाध्य भएको बताइन्छ ।
यस घटनाले गाउँपालिकामा ठेक्का प्रक्रिया कति अपारदर्शी र राजनीतिक प्रभावमा सञ्चालित छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ। स्थानीय सरकारमा व्यापक अनियमितताको संकेतस्वरूप हेरिएको यो घटनाले निष्पक्षता र जवाफदेहितामा ठूलो आघात पुर्याएको छ।

Leave a Reply