सगरमाथा संवादको तयारी अन्तिम चरणमा: परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छन् । मन्त्री राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन् ।

उनले नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी आयोजना गर्ने निर्णय गरिसकेकोले यस कार्यक्रमलाई नेपालका लागि अत्यावश्यक तथा प्रभावकारी फोरमका रूपमा विकास गर्नेगरी परराष्ट्र मन्त्रालयले मेहनत गरिरहेको बताइन् ।

जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यका विषयमा केन्द्रित रहेर यही मे १६ देखि १८ सम्म काठमाडौंमा आयोजना गरिएको यस कार्यक्रम अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्म भएकाले सरकारले यसलाई सफल पार्न लागिपरेको जानकारी मन्त्री डा राणाले दिइन् ।

उनले भनिन्, ‘जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति व्यहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ ।’

उनले जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रीय र विश्वव्यापी महत्त्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न विश्वव्यापी संवाद मञ्चका रूपमा सगरमाथा संवाद सुरु गरेको र यस वर्षको यो पहिलो संस्करण रहेको पनि स्पष्ट गरिन् ।

मन्त्री डा राणाले यस संवादमार्फत् जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले गरेको पनि बताइन् ।

सगरमाथा संवादको पहिलो संस्करणको व्यवस्थापन समिति संयोजक रहेकी मन्त्री राणाले अन्तर्राष्ट्रिय समुदायको उच्चस्तरीय सहभागिता गराउने प्रयास गरिएको र उत्साहजनक रूपमा उहाँहरुले सहभागिताको सुनिश्चित पनि गर्नुभएको जानकारी दिइन् ।

मन्त्री राणाले यस स्तरको कार्यक्रम नेपालका लागि एउटा ठूलो अवसर भएकाले आआफ्ना स्थानबाट सक्दो योगदान गर्न परराष्ट्र तथा सम्बद्ध सबै मन्त्रालयका कर्मचारी, निजी क्षेत्र तथा विश्वमा रहेका सबै नेपाली नियोगहरूलाई निर्देशन दिइन् ।

त्यस बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पनि आफ्ना मन्त्रालयले सगरमाथा संवादको अन्तिम तयारी गरिरहेको जानकारी गराए । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर रार्इले सगरमाथा संवादको तयारीका लागि भइरहेका कामहरूका बारेमा जानकारी गराएका थिए ।

सो अन्तर्राष्ट्रिय मञ्चमा अहिलेसम्म करिब दुई दर्जन मुलुकका उच्चस्तरीय प्रतिनिधि तथा ५० भन्दा बढी विभिन्न अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले सहभागिताको सुनिश्चितता गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *