दुबईकाे मरुभूमिमा समुन्द्रले देखेको सपनाको साकार रूप- गाउँको घर (भिडिओ)

झ्याङला (पाल्पा) । रूपन्देहीको सुविधा सम्पन्न शहर बुटवलस्थित परिवारमा जन्मेका एक युवाले पाल्पाको तिनाउ गाउँपालिका- ६ झ्याङला देउरालीमा आफ्नो भविष्य खोजिरहेका छन् । धेरै मान्छे पहाडबाट रोजगारी र अन्य सुविधाका लागि तराई झर्छन्, झरिरहेको बेला बुटवलमा जन्मिएका विज्ञान विषय पढेका ३४ वर्षीय समुन्द्र घिमिरे क्षेत्री भने भविष्य खोज्दै पहाड उक्लिएका हुन् ।

यूएईको दुबईमा ७ वर्ष रोजगारी गरेर फर्केका उनी माटो र प्राकृतिक सौन्दर्यको महत्व खोज्दै पहाडमा फर्केको बताउँछन् । समुन्द्रले झ्याङला देउरालीमा २० रोपनी जग्गा किनेर ‘गाउँको घर’ इकाे फार्म हाउस सञ्चालनमा ल्याएका छन् ।

‘गाउँको घर’मा उनले सबै स्थानीय वस्तुहरू प्रयोग गरेका छन् । समुन्द्रले यसलाई व्यवसायमात्रै नभएर विचार अभियानको संज्ञा दिए ।

‘मैले मरुभूमिमा बसेर जे अनुभव गर्न पाइनँ । म जन्मेको ठाउँमा बसेर जे अनुभव गर्न पाइनँ, त्यो अनुभव संगाल्न, मेरो भावी पुस्तालाई यसबारे जानकारी दिन र समाजमा हामीले केही कुरा गरेर देखाउन सक्नुपर्छ भन्ने विचारको अभियान हो’, उनले भने, ‘यो अभियानलाई ५ वर्षअघि सुरु गर्दा धेरैले बहुलाएको भन्न पछि परेनन्, तर मैले आफैं सोचेर विचारेर अबको भविष्य यसमै छ भनेर नै यो काम थालेको हुँ । पहिला एक्लै थिएँ अहिले सिंगो समाजको साथ पाएको छु । अब परिवार र आफन्तको पनि पाउनेछु ।’

त्यसो त गुल्मीको मुसिकोटबाट छोराहरूसहित बुटवलमा आनन्दले बस्न आएका समुन्द्रका बुवाआमा तथा अन्य परिवारका सदस्यहरू तराई झरेको दुई दशक पुग्न लायो । परिवार र आफन्त उनले पहाड रोजेकोमा सन्तुष्ट छैनन् । रोजगारीको लागि दुबई जाँदा त्यहाँको मरुभूमिमा माटो र प्रकृतिलाई भेट्न नपाएको भन्दै समुन्द्रले आफ्नै माटोमा भविष्य खोज्न पहाडत उक्लिएको र यसबाट अब दायाँबायाँ नहुने बताए ।

उनको अगुवाइमा झ्याङला देउरालीमा परम्परागत संरचनाहरू बनाइएका छन् । समुन्द्रले आफैंले २० रोपनी उजाड र चिप्लो डिलो जमिन किन्दै, बिस्तारै जग बसाउँदै गरेका हुन् । अहिले यहाँको १० रोपनी जमिनमा उनले परम्परागत रूपमा रहेका ऐतिहासिक सामग्रीहरूले सजाएर ‘गाउँको घर’ नामक रिसोर्ट कम फार्म हाउस चलाएका छन् । अर्को १० रोपनीमा आफ्नै अगुवाइका खेती गरेका छन् ।

पाँच वर्षअघि जब उनले यो पहाड छान्ने निर्णय गरे, उनलाई चिन्ने धेरैले भने– ‘यो त बहुलायो अब ।’

दुबईको तलब, बुटवलको सहज जीवन र बुवाआमासँगको आधुनिक आवास सबै त्यागेर पहाड चढ्नु सामान्य निर्णय थिएन, तर समुन्द्रको मनमा एउटै प्रश्न घन्किरहेको थियो— आफ्नो माटो कहिले छुने ?

‘दुबईको मरुभूमिमा पैसा त थियो, तर माटो थिएन, सुगन्ध थिएन, बाँच्ने अनुभूति थिएन’, उनले सुनाए, ‘म चाहन्थें, मेरो बालबालिकाले माटोमा हिँडून्, रूख छोऊन्, जीवनसँग टाँसिन सिकून् र मलाई यसमै सधैँ खेलिरहन पाइयोस् ।’

समुन्द्रका बारी र खेतमा तरकारी, आलु, कोदो, सुन्तला, अदुवा, तरकारीदेखि गोठमा बाख्रा, कुखुरा, हाँस र माछासम्म छन् । आफ्नो प्रयासमा उनले स्थानीय समुदायलाई जोडेका छन् ।

‘सुरुमा त एक्लै थिएँ, अहिले स्थानीयको साथ पाउन थालेको छु । विभिन्न सरकारी तहका मान्छेहरू मलाई उत्साह दिन आइरहनुभएको छ, केही युवा पनि सामेल हुन थालेका छन्’, उनले भने, ‘सुरुमा त हाँसोले उडाउँथे, अहिले साथ दिन थालेका छन् ।’

उनका बुवाआमा छोराले उल्टो दिशा फर्किएको देखेर सुरुमै खुशी थिएनन्, तर समयसँगै छोराको निष्ठा, मेहनत र आत्मबलले उनीहरू समुन्द्रको अभियानमा समाहित हुन थालेका छन् । उनी अहिले गाउँलाई नै आफ्नो अभियानमा डोर्‍याउने सपना देखिरहेका छन् ।

स्थानीय उत्पादन, जैविक कृषि, ग्रामीण पर्यटन र बालबालिकालाई प्रकृतिसँग नजिक ल्याउने उनको अभियानका पाटा हुन् । उनी भन्छन्, ‘हामी सधैं शहरमा भविष्य खोज्छौं । सायद अब गाउँमै भविष्य खोज्ने बेला आएको छ ।’

झ्याङला देउरालीको तल छङछङ तिनाउ बगिरहेको छ । पारि सिद्धार्थ राजमार्ग हुँदै तानसेन जाने बाटो छ । तिनाउ जोडिएको जंगलको बीचमा बनेको छ ‘गाउँको घर’ । यसको बनावटले सबैलाई लोभ्याउँछ । ‘गाउँको घर’ इकाे फार्म हाउसमात्रै होइन, सांस्कृतिक संग्रहालय र ग्रामीण जीवनशैलीको आकर्षक थलो बनेको यहाँ पुग्नेहरू सुनाउँछन् ।

‘गाउँको घर’को बाहिरी स्वरूप नै पाहुना बोलाउने खालको छ— ढुङ्गामाटोको गारो, माटोको छानो, काठका झ्यालढोका । यहाँ प्रयोग भएका हरेक वास्तुमा इतिहास बोल्छ । गेटबाटै काठका परम्परागत वस्तुहरूको डिजाइनले सबैको ध्यान खिच्छ । घरको एक कुनामा ढिकी–जाँतो सजाएर राखिएको छ ।

त्यस्तै उखु पेल्ने कोलसहितका पहाड र तराईका पुराना वस्तुहरू सजाइएको छ । पहिले प्रयोगमा ल्याइने वस्तुको मोडल सबै यहाँ सजाएर राखिएको छ । लोहोरो-कुटोलगायत पुराना फलामका औजारहरू झुण्ड्याएर राखिएका छन् । कृषि यन्त्रमात्र होइन, ढोल, मादल, बाँसुरी पनि सजाइएका छन् ।

उनले जग्गाबाहेक ५० लाखको संरचना बनाइसकेका छन् र अझै बनाइरहेका छन् । त्यहाँ ६ जनाले नियमित रोजगारी पाएका छन् ।

समुन्द्रका अनुसार यहाँ रक्सी र चुरोट पिउनेहरूलाई स्वागत गरिँदैन । सुरुमा मासु पनि बन्देज थियो, अहिले केही ग्राहकको आग्रहमा चलाइएको उनको भनाइ छ । अलगअलग संरचनामा सुत्ने कोठा बनाइएको छ, जुन सबै परम्परालाई आधुनिक प्रविधिमा जोडिएको छ ।

श्रीमती र दुई छोरासँगै अन्य परिवार सबै बुटवलमा बस्छन् तर समुन्द्र ‘गाउँको घर’ मा दिनरात खटिँदै आएका छन् ।

‘हेर, यो हाम्रो थातथलो हो’ भन्ने अभ्यास गराउन पाउने ठाउँ बनेको ‘गाउँको घर’मा भेटिएका लुम्बिनीका सभामुख तुलाराम घर्तीले बताए । उनले भने, ‘मैले पनि तराईबाट एक मेहनती बाबु आएर तरक्की गरेका छन् भन्ने सुनेर आएको हुँ, हामीले पहिले देखेका, भोगेका वस्तु र अवस्थाको सचित्र विवरण रहेछ, यसलाई अब उदाहरणीय रूपमा अघि बढाउनुपर्दछ, उनको हिम्मत र साहसलाई सबैले सम्मान गर्नुपर्दछ ।’

झ्याङलाका पूर्ववडाध्यक्ष प्रेमप्रसाद पाण्डेले समुद्रको अभियानलाई स्थानीय सरकारले अपनत्व लिनुपर्ने प्रतिक्रिया दिए ।

‘बाल्यकालमा जुनजुन कुरा देख्यौं, अहिले ती हेर्ने अभागी हुन लागिएको महसुस भएको बेला यहाँ आएपछि निकै मन रमाएको छ, यसको अब स्थानीय सरकारले नै क्रेडिट लिएर अगाडि बढाउनुपर्दछ’, पूर्ववडाध्यक्ष पाण्डेले भने, ‘कसैले कल्पना नगरेको ठाउँमा आएर उनले यो खालको संरचना बनाए, रोजगारी चलाए, अब स्थानीय सरकारले ध्यान देओस् । यति रोजगारीका लागि कति लगानी गर्नुपर्थ्यो सरकारले, निजी क्षेत्रको योगदानलाई सम्झनुपर्दछ ।’

‘गाउँको घर’मा आउने पाहुनालाई समुन्द्रले गाउँकै खाजा, ढेँडो, गेडागुडीको तरकारी, घ्यू र गुन्द्रुक-भटमासले स्वागत गर्छन् । भाँडाकुँडा पनि स्टिल वा प्लास्टिक होइन, पिँढी, थाल, पाथी, माटाका गाग्री हुन् । गाउँको घरलाई समुन्द्रले स्थानीय विद्यालयका बालबालिकाका लागि ‘लाइभ लर्निङ’ स्पेस बनाएको पूर्वशिक्षक दलबहादुर गुरुङ बताउँछन् ।

‘हामीलाई बाल्यकालमा थाल, ढिकी, गाई गोठ आफैं चलाएर हेर्न पाइन्थ्यो, अहिलेका बच्चा त मोबाइलमा मात्र हेर्छन्’, उनी भन्छन्, ‘अब तिनीहरू यहाँ आई माटो समाउँछन्, जाँतो घुमाउँछन् । यो ठूलो अभ्यासस्थल हो ।’

उनले यहाँ हप्तौं बसेर कृतिहरू लेख्न पनि उपयुक्त वातावरण रहेको बताए ।

समुन्द्रले बनाएको ‘गाउँको घर’ अहिले गाउँ फर्कने सोच राख्ने युवाहरूका लागि प्रेरणा बनेको यहाँ पुगेका डीआर घिमिरे बताउँछन् ।

‘परम्परालाई आधुनिक दृष्टिले बुझेको र त्यसलाई नाफामूलक ‘मोडेल’मा रूपान्तरण गरेको यो प्रयास दुर्लभ छ’, उनले भने, ‘अब बिस्तारै यस्ता अभियानले सार्थकता पाउनेछन्, विदेशमा कमाउन गएकाहरू पनि धेरै हण्डर खाएर बसेका छन्, उनीहरूलाई फिर्ता ल्याएर यस्ता काममा लगाउन जरुरी छ, अब जीवनको वास्तविकता बुझ्न यस्ता अभियानमा जोडिन ढिलो गर्नुहुँदैन ।’

Comments

One response to “दुबईकाे मरुभूमिमा समुन्द्रले देखेको सपनाको साकार रूप- गाउँको घर (भिडिओ)”

  1. min Bahadur Thapa Avatar
    min Bahadur Thapa

    राम्रो कार्य ।गाउँ फर्केर केही गर्नु अनीलाई पनि प्रेरणा बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *