के भएको हो माधव नेपाललाई ?

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका छन् ।

उनको मुटुमा समस्या आएको छ । त्यहाँ सीसीयूमा भर्ना भएका छन् । उपचार जारी छ ।

नेकपा एसका नेता लक्ष्मण केसीका अनुसार नियमित स्वास्थ्य परीक्षणका सिलसिलामा उनी विहीबार आफैँ अस्पताल गएका थिए । प्रत्येक महिनामा एक पटक नेपाल स्वास्थ्य परीक्षणका लागि त्यहाँ पुग्ने गरेका छन् ।

केसीका अनुसार, विहीबार छातीको इको र इसिजी गरिँदा मुटुका भल्भमा केही अवरोध देखिएपछि एन्जियोप्लाष्टी विधिद्वारा सफा गर्नका लागि उनी त्यहाँ भर्ना भएका हुन् । उक्त विधिअन्तर्गत शरीरमा कुनै प्रकारको चिरफार गर्नु नपर्ने उपचार प्रक्रिया हो । जसअन्तर्गत नशामा जमेका अनावश्यक बोसोजन्य तत्त्व फ्याँकिन्छ ।

अस्पतालका प्रशासन प्रमुख डा. रत्नमणि गजुरेलले नेपाललाई सीसीयूबाट नर्मल वार्डमा सारिएको बताए ।

‘नर्मल केस हो, अब २४ घण्टापछि डिस्चार्ज गरिन्छ’, उनले नेपाल प्रेससँग भने ।

डाक्टरहरूका अनुसार मुटु वरिपरिका नशा र धमनीमा थोरै थोरै गरेर बोसोको मात्रा बढेपछि मानिसलाई हृदयाघात हुने हो । सबैले माधव नेपालले झैँ नियमित स्वास्थ्य परीक्षण गर्ने र बोसो जमेको छ भने एन्जियोप्लाष्टी गर्दा हृदयघातको खतरा घट्छ ।

नेकपा एसका नेता केसीका अनुसार एन्जियोग्राफी गरेपछि शरीरलाई केही दिन आराम दिनुपर्ने कारण डाक्टरहरूले अस्पतालमै बस्न भनेका कारण शुक्रवार पनि उनी त्यहीँ रहने छन् । ‘उहाँ बाहिर आएपछि फेरि धपेडी हुन्छ, त्यसैले आरामका लागि पनि अस्पताल बस्नुपर्छ भनेर परिवारका सदस्यहरूले पनि सल्लाह दिनुभएको छ’, केसीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *