साढे दुई दशकपछि आफूले भने जस्तो काम गर्न पाएँ : गायिका झुमा लिम्बू

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बू अहिले चर्चामा रहेकी गायिका हुन् । उनले गाएको गीत सामाजिक संजालमा भाइरल छ । सांगीतिक क्षेत्रमा दुई दशक भन्दा बढी समय खर्चिएकी गायिका झुमाले अहिले भने आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् ।

साढे दुई दशकपछि चलचित्र ‘जार’ मा आफूले भनेजस्तो काम गर्न पाएको उनको भनाइ छ । उनी भन्छिन् ,’म्युजिक र काम गर्दै जाँदा, मैले भने जस्तो काम गर्न पाएको प्लेटफर्म हो, चलचित्र ‘जार’। मैले चाहेको र गरिरहेको म्युजिक, मैले यो चलचित्रमा गरेको छु।’

‘२५ वर्षमा आएपछि जारमा गरेको काम चित्त बुझेको छ । अझै पूरै चित्त बुझ्दो त छैन, तर यो चलचित्रमा काम गर्ने ठाउँ पाएँ भन्ने लागेको छ’, उनी थप्छिन।

जारमा झुमाले लिम्बू समुदायको गीत-संगीतमा काम गरेकि छिन् । मंगलबार भएको चलचित्रको प्रिमियरमा पनि उपस्थित अधिकांशले उनको गीत र संगीतको खुलेर तारिफ गरेका थिए। लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला, लिम्बू समुदायको संस्कृति, संस्कार, लय र तालमा झुमाले यस चलचित्रको गीत र संगीत तयार पारेकी छन् ।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यहीँ वैशाख २६ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले गीत र संगीत भरेको यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ। चलचित्रलाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका हुन।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *