रिहाइको माग बढेपछि रवीन्द्र मिश्रलाई प्रहरीले ‘आपराधिक उपद्रव’ को तेस्रो अभियोग थप्यो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गरेको ४२ औं दिनमा प्रहरीले उनीमाथि तेस्रो अभियोग थपेको छ । रिहाइको माग बढ्दै गएको स्थितिमा आज उनलाई ‘आपराधिक उपद्रव’ को नयाँ पूर्जी थमाइयो ।

यसअघि प्रहरीले मिश्रमाथि राज्य विप्लव र संगठित अपराधमा अनुसन्धान गर्न भनेर काठमाडौं जिल्ला अदालतसँग म्याद लिइरहेको थियो । छैटौंपटक म्याद थप्दा ४१ दिन गुज्रिएको छ । बयानसमेत भइसकेको र कुनै नयाँ प्रमाण फेला नपरेका कारण मिश्रलाई रिहाइ गर्न चौतर्फीरुपमा आवाज उठिरहँदा दवावमा परेको प्रहरीले उनको हिरासत बास लम्ब्याउन नयाँ अभियोगको तरवार तेस्र्याएको हो ।

आफूलाई तेस्रो अभियोग थपिएपछि मिश्र आज इजलासमा आक्रोशित सुनिए । उनले आफूलाई के गर्न खोजिएको हो भनेर बुझ्न नसकेको बताए । न्यायाधीशहरुप्रति पनि उनले गुनासो पोखे ।

मिश्रको अभिव्यक्तिको सार यस्तो छः

आज ४२ औं दिनमा आइपुग्दा राज्यले मेरो निधारमा तेस्रो कालो टिका लगाइदिएको छ । हिजो ४१ दिनसम्म राज्यविरुद्धको कसुर र संगठित अपराधको टिका लगाएर हिँडाइएको थियो । आज आएर पूर्जी थमाएर आपराधिक उपद्रवको टिका लगाइदिएको छ । त्या टिका पुछ्ने अधिकार न्यायालयसँग हुन्छ भनेर मैले यहाँ आफ्नो कुरा राखिरहेको छु ।

यो के गरेको मैले बुझ्दै बुझिनँ । ठिक छ त्यहाँ घटना भयो, मलाई पक्रेर ल्याइयो, मलाई त्यसमा कुनै गुनासो छैन । त्यसपछि औचित्यहीनरुपमा बारम्बार म्याद थपिइरहेको छ । वैशाख २ गते मेरो बयान सकियो । मसित भएको फोन उहाँहरुसितै छ । मैले प्रमाण नष्ट गर्ने ठाउँ छैन । भाग्ने ठाउँ छैन । १० गतेको बहसमा न्यायाधीसले तीन दिनमा कि थप प्रमाण ल्याउ, होइन भने हाजिर जमानीमा छाड भन्ने किसिमको आदेश गर्नुभयो । मैले सोचेँ, त्यही हुन्छ होला ।

तीन दिनपछि १८ वटा बुँदा पेश गरियो, हामी यसो गर्दैछौं । यताबाट यो डिटेल्स माग्दैछौं, त्यो माग्दैछौं भनेर । ठिक छ गर्नुस न । तर, यसका लागि म हिरासतमा बस्नैपर्छ ? म बाहिर बस्दा उहाँहरुलाई केही कुराले अवरोध गराउँथ्यो ? फेरि ५ दिनको, फेरि सात दिनको म्याद थपियो । महिला श्रीमान भएकाले म आज फेरि दोहोर्याउँुछ । म मेरो ८१ वर्षको डिमेन्सीया भएको आमाको कसम खाएर फेरि भन्छु, मैले कुनै पनि राज्यविरुद्धको कसुर वा संगठित अपराध गरेको छैन ।

यसलाई पनि कसैले नसुन्दिने भए म जाने कहाँ ? म देश बनाउन भने हिँडेको मान्छे । म इमानको धरातलमा उभिएर काम गरेको मान्छे । मेरो पृष्ठभूमि हेर्दा हुन्छ । नाकै अगाडि अश्रुग्यास हानेपछि म आवेशमा आएँ होला, तर के मैले हिंसाजन्य काम गरेको छु ? हिंसाजन्य कुरा गरेको छु ? फलानो ठाउँ घेर्न जाउँ भनेको छु ?

यदि बोलेकै आधारमा हुन्थ्यो भने ‘ले ले खुकुरी ले, ज्ञानेन्द्रलाई छप्काइदे’ भन्नेहरु अहिले सत्तामै छन् नि । बोलेकै आधारमा हुने भए त के के छन् छन् । तर, मैले कुनै पनि हिंसाजन्य काम नगर्दा पनि अपराधि उपद्रवको टिका लगाइदिने ?

श्रीमानहरु के भन्नुहुन्छ भने सामान्यतया सुरुवातको निर्णय परिवर्तन गर्न मिल्दैन । नहुने हो भने म्याद थपको नाटक किन ? बहसको चरित्रै परिवर्तन गरौं । यत्रो प्रहरीको स्रोत किन प्रयोग गर्नु ? यत्रो मान्छेलाई पाँच घन्टा किन राख्नु । फाइल ल्याएर हस्ताक्षर गराए भइहाल्यो । बहस गर्यो गर्यो, बेदना पोख्यो पोख्यो, लास्टमा गएर उही म्याद थप ।

Comments

3 responses to “रिहाइको माग बढेपछि रवीन्द्र मिश्रलाई प्रहरीले ‘आपराधिक उपद्रव’ को तेस्रो अभियोग थप्यो”

  1. Mania Thompson Avatar
    Mania Thompson

    यो प्रहरी रा प्र पा को सरकार भए पछि कुन नाक र मुख लिएर रबिन्द्र मिश्रलाई खुट्टा बजारेर सलाम ठोकछ होला?

  2. Nick Kashyap Avatar
    Nick Kashyap

    पन्चायतलाइ पनि माथ ख्वायो लुटतन्त्रले।

  3. बिश्वदेव शाह Avatar
    बिश्वदेव शाह

    राज्यले गर्न नहुने हर्कत गरेकोछ। अदालत र प्रहरी नेताको ईशारामा चल्ने होईन, न्यायको लागि काम गर्ने हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *