काठमाडौं । जम्मु कश्मीरमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तान युद्धमा होमिएका छन् । विगतमा पनि दुवै देशका राजनीतिक नेतृत्वले एक-अर्कालाई कडा चेतावनी दिँदै आएका थिए, तर जम्मु कश्मीर हमलापछि भारतले पाकिस्तानमाथि फायर खोलेको छ ।
भारतको आक्रमणपछि त्यसको कडा जवाफ दिने पाकिस्तानको चेतावनीबीच पनि सार्क अध्यक्ष रहेको नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन । पहलगाम आतंकी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेको समेत हत्या भएको छ ।
नेपाल सरकारकाे मात्रै होइन, राजनीतिक दलहरूको तर्फबाट पनि अहिलेसम्म कुनै ठोस प्रतिक्रिया आएको छैन । कुनै प्रतिक्रिया नजनाए पनि प्रधानमन्त्री केपी ओलीले सुरक्षा परिषद्को बैठक राखेर अन्तर्राष्ट्रिय विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्देशन दिइसकेका छन् ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकले भारत र पाकिस्तानबीच बढेको तनावलाई मध्यनजर गर्दै विमानस्थल र सीमा नाकामा सुरक्षा निगरानी बढाउने निर्णय लियो ।
सामान्य घटनामा पनि पत्रिकाको हवाला दिँदै सदनमा बोल्ने सांसदहरू पनि यस विषयमा आज बसेको प्रतिनिधिसभाको बैठकमा खास बोलेनन् । यद्यपि कांग्रेस सांसदले भारतले चालेको कदमलाई नेपालले साथ दिनुपर्ने आशय व्यक्त गरे ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका कांग्रेस सांसद एनपी साउद र अर्का सांसद सञ्जय गौतमले आजको बैठकमा यसबारेमा धारणा राखेका थिए । मधेशवादी दलका केही सांसदले पनि कांग्रेसकै लाइनमा बोले ।
साउदले भारत र पाकिस्तानबीचको चर्किंदो तनावको विषयमा सरकार गम्भीर हुनुपर्ने भन्दै विकसित परिस्थितिलाई नजरअन्दाज गर्न नहुने बताए । उनले पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेकोमा यो उपयुक्त समय नभएको औल्याए ।

साउदले भने, ‘पहलगाम आतंककारी हमलाले छिमेकी मित्रराष्ट्र भारत र पाकिस्तानबीच गम्भीर तनावको स्थिति बनाएको छ । यस घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षीसँग टेलिफोन वार्ता गर्नुभएको सार्वजनिक भएको थियो, तर छिमेकमा भएको जघन्य घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानी सेनाको प्रतिनिधिमण्डलको भ्रमण पूर्वनिर्धारित भए पनि वर्तमान स्थितिका बारेमा संवेदनशील भएर कूटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतीक्षा गर्नुपर्ने आवश्यकता थियो ।’
उनले मात्रै होइन, अर्का कांग्रेस सांसद गौतमले भारत-पाकिस्तान तनावले पार्ने प्रभावबारे सरकार समयमै गम्भीर बन्नुपर्ने बताए ।
उनले भने, ‘भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारणले गर्दा भारत पाकिस्तानका बीचमा जुन युद्ध सुरु भएको छ, यसले हामीलाई पार्ने अल्पकालीन र दीर्घकालीन दुवै किसिमका प्रभावहरूको विषयमा नेपाल सरकार समयमै गम्भीर बनोस् ।’’
यसअघि कांग्रेसका अर्का सांसद राजेन्द्र बजगाईंले पनि पाकिस्तानी सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यासबारे पुनर्विचार हुनुपर्ने बताएका थिए ।
बुधबारको बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारले ठूला देशलाई जिस्क्याउने काम गरिरहेको आरोप लगाउँदै पाकिस्तानको उच्चस्तरीय सैनिकमण्डलको नेपाल भ्रमण अहिले उपयुक्त बेला नभएको बताए ।

उनले भने, ‘नेपाल-भारत सिमाना खुला छ । कुनै अवाञ्छित गतिविधि नहोस्, म नेपाल सरकारसँग माग गर्न चाहन्छु । खुला सिमाना भएकाले नेपालले त्यसलाई नजिकबाट नियाल्नुपर्छ । सरकारलाई अलिकति पनि अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान छैन । किनकि साइकोलोजी पढेको मान्छे परराष्ट्रमन्त्री हो । त्यसकारण परराष्ट्रमन्त्रीलाई थाहा छैन कि डिप्लोमेसी भनेको के हो ? परराष्ट नीति भनेको के हो ?’
उनले पाकिस्तानका तीन वटै आर्मीका ११ जना अहिले नेपालमा रहेको बताए ।
सिंह जस्तै मधेश केन्द्रित दल लोकतान्त्रिक समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लले भारत र पाकिस्तानबीचको युद्धमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग गरे । नेपाल असंलग्न राष्ट्रको रूपमा रहँदै आएकोले आतंकवादको सम्बन्धमा पनि नेपालले आफ्नो धारणा खुलाउनुपर्ने उनको भनाइ छ ।
यसरी हेर्दा कांग्रेस र मधेशवादी दलहरू भारत र पाकिस्तानबीचको युद्धमा भारततर्फ नै नरम सुनिन्छिन् ।
के भन्छन् कांग्रेस मुख्य सचिव ?

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीले भारत-पाक तनावबारे अहिलेसम्म औपचारिक धारणा नबनाएको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘पार्टीका सांसदहरूले सदनमा आफ्नो धारणा त राखिसक्नुभएको छ । यद्यपि अहिलेसम्म औपचारिक धारणा तय भएको छैन । भोलिसम्ममा केही आउला ।’
उनले सभापति शेरबहादुर देउवाले शुक्रबार बिहान ९ बजे पदाधिकारी बैठक डाकेको जानकारी दिँदै त्यही बैठकबाट औपचारिक धारणा आउनसक्ने पनि सुनाए ।
संसदमा कांग्रेस र मधेशवादी सांसदले भारतलाई नेपालले साथ दिनुपर्ने धारणा राख्दा एमाले, माओवादीलगायतका कम्युनिष्ट र राजावादी पार्टीका सांसदहरूले मुख खोलेका छैनन् । रास्वपा समेत मौन छ ।
एमालेको धारणा प्रष्ट
हामीले सत्तारुढ दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पनि यसबारेमा सोध्याैं।
पूर्वपराराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले एमालेको धारणा यसरी सुनाए-

‘हामी यो घटनाप्रति चिन्तित छौं । दक्षिण एसियाको क्षेत्रीय शान्तिलाई असर नपारोस्, स्थायित्वलाई असर नपारोस् र चर्किएर नजाओस् भन्ने हाम्रो आग्रह छ । हामी दुवै देशलाई ध्यानाकर्षण पनि गराउँछौं । नेकपा एमाले कुनै पनि खालको आतंकवादको विरुद्धमा छ । कुनै पनि देशले आतंकवादलाई प्रश्रय गर्ने, संरक्षण गर्ने काम गर्न हुँदैन । आतंकवादको विरोध गर्ने क्रममा देशहरूबीच नै युद्ध हुने स्थिति बन्नु, त्यसले सर्वसाधारणको ज्यान समेत जाने स्थिति बन्नाले तनावलाई बढाउँछ ।
दुवै आणविक राष्ट्र भएको कारणले पनि तनाव चर्किनु कसैको पनि हितमा छैन । त्यसैले अधिकतम संयमता अपनाउनु उपयुक्त हुन्छ । आतंकवादविरुद्धको लडाइँमा एकापसमा सहयोग हुने, तर युद्ध नचर्कियोस् भन्ने हाम्रो चाहना छ । जहाँसम्म नेपाल सरकारको कुरा छ, नेपाल असंलग्न देश भएको नाताले सधैँभरि क्षेत्रीय शान्ति र तनाव कम गर्न आग्रह गर्छ । कसैको पक्ष पनि लिँदैन ।’
माओवादी के भन्छ ?

यस्तै माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले पनि यसबारेमा पार्टीको अहिलेसम्म औपचारिक धारणा तय भइनसकेको बताए ।
उनले भने, ‘यो विषयमा पार्टीको धारणा तय गर्न छलफल नै गर्नुपर्छ । अहिलेसम्म हामीले यसबारे छलफल गरेका छैनौं । जम्मु कश्मीरमा भएको घटनाको त हामीले निन्दा र भत्र्सना गरेका हौं । दुई देशबीच हिजोबाट युद्ध चर्किएको छ, हामी केही दिनमा व्यवस्थित ढंगले धारणा सार्वजनिक गर्छौँ ।’
माओवादीले मात्रै होइन, राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले पनि यस घटनाबारे अहिलेसम्म ठोस धारणा तय गरेको छैन ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने, ‘यो विषयमा पार्टीभित्र छलफल होला । अहिलेसम्म कुनै धारणा बनाएका छैनौं ।’
उनले यस्ता घटनामा पार्टीको अलगअलग धारणा आउनुभन्दा पनि सर्वपक्षीय बैठक बसेर देशको समान धारणा सार्वजनिक गर्नु उपयुक्त हुने बताए ।

Leave a Reply