काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद चन्दा कार्कीले राष्ट्र बैंक जस्तो संवेदनशील संस्थालाई राजनैतिक सौदाबाजीको थलो बनाइएको बताएकी छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद कार्कीले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘राष्ट्र बैंक जस्तो महत्त्वपूर्ण र संवेदनशील संस्थालाई पनि राजनैतिक सौदाबाजीको थलो बनाइरहेका छौँ । सत्तारुढ दलहरू गभर्नर कसको भागमा पर्छ भनेर रस्साकस्सीमा छन् । जसको परिणामले राष्ट्र बैंक गभर्नर विहीन र दिशाविहीन भएको छ ।’
दिशाविहीन सरकार, निर्णयविहीन नेतृत्व र गभर्नरविहीन राष्ट्र बैंकले हामीलाई कता लैजाँदै छ भन्ने गम्भीर प्रश्न उठेको सांसद कार्कीको भनाई छ । गभर्नरको जिम्मेवारी मौद्रिक नीति मात्रै बनाउनु होइन । देशको वित्तीय अनुशासनदेखि नागरिकको आर्थिक स्थायित्वको प्रत्याभूति दिनु पनि रहेको उनले बताइन् ।
‘देशको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक जुन देशको केन्द्रीय वित्तीय मेरुदण्ड हो । यसमा गभर्नरको कार्यकालको समय सकिएको एक महिना भन्दा बढी भइसक्यो । आजसम्म त्यो पद खाली छ । सरकार मौन अनि निर्णयविहीन बनेर बसेको छ । यो एउटा पद खाली मात्रै भएको विषय होइन । देशको अर्थतन्त्र नेतृत्वविहीन अवस्थामा पुगेको गम्भीर संकेत हो’, उनले भनिन् ।
गठबन्धनको भागबण्डाले मुलुकको अर्थतन्त्रलाई जोखिममा पारेको उनले बताइन् । बैंकहरुको खराब कर्जाले सीमा नाघिसकेकोले मुलुकको अर्थतन्त्र संवेदनशील अवस्थामा रहेको उनले बताइन् । अन्तर्राष्ट्रिय नजरमा नेपालको वित्तीय स्थिति शंकाको घेरामा रहेको समेत उनले जानकारी दिइन् ।
नेपालमा राजनीतिक परिवर्तन भएपनि जनताले आर्थिक राहत पाउन नसकेको उनले गुनासो गरिन् ।

Leave a Reply