काठमाडौं । भारतले आज बिहान पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा गरेको मिसाइल आक्रमणपछि दुबै देशले मृतक संख्याबारे फरक–फरक दाबी सार्वजनिक गरेका छन्। घटनापछि भारत–पाकिस्तान सम्बन्धमा थप तनाव देखिएको छ ।
भारतको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, यो आक्रमण ‘पाकिस्तानी भूमिमा रहेका आतंककारी लुकेर बसेको आशंकामा गरिएको लक्षित सैन्य कारबाही’ हो । भारतले उक्त आक्रमणमा १० जना आतंककारी मारिएको दाबी गरेको छ । भारतीय पक्षले कुनै पनि नागरिक क्षति नभएको पनि उल्लेख गरेको छ ।
तर पाकिस्तानले भने भारतको यो कारबाहीलाई ‘गम्भीर उक्साहटपूर्ण आक्रमण’ भनेको छ । पाकिस्तानको अन्तर्राष्ट्रिय मामिला मन्त्रालयका प्रवक्ताले दिएको जानकारी अनुसार मिसाइल आक्रमणमा ४५ जनाको मृत्यु भएको छ, जसमा १८ जना महिला र बालबालिकासहित सर्वसाधारण छन् भने १२ जना सुरक्षाकर्मी रहेका छन् । घटनामा कम्तीमा २५ जना घाइते भएको पनि बताइएको छ ।
स्थानीय समय अनुसार बिहान ३ः३० बजेतिर भएको उक्त आक्रमण खैबर पख्तुनख्वा प्रदेशको एक सशस्त्र शिविर नजिकै केन्द्रित थियो । घटनास्थलमा सञ्चारकर्मीको पहुँच प्रतिबन्धित भएकाले मृतकको संख्या स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि घटनाबारे विवरण दिँदै फरक–फरक मृत्यु संख्या उल्लेख गरेका छन् । बीबीसीले स्थानीय स्रोतलाई उद्धृत गर्दै ३८ जना मारिएको रिपोर्ट गरेको छ । अलजजीराजले ४० जनाको मृत्यु र २६ घाइते भएको उल्लेख गरेको छ ।
रोयटर्सले दुई सैनिक अधिकारीलाई उद्धृत गर्दै मृतक संख्या ३० देखि ५० को बीच हुन सक्ने बताएको छ । सीएनएनले भारतीय आक्रमणमा ‘गम्भीर जनधन क्षति’ भएको पाकिस्तानको आरोप उल्लेख गर्दै स्वतन्त्र छानबिनको आवश्यकता औंल्याएको छ ।

Leave a Reply