बोलीका पक्का प्रदीप नेपाल– जसले ६० वर्ष पुगेपछि सक्रिय राजनीतिबाट विश्राम लिए

काठमाडौं । पचासको दशकमा नेपाली राजनीतिको केन्द्रीय पात्रकै रूपमा छाएका नेकपा एमालेका तत्कालीन स्थायी कमिटी सदस्य प्रदीप नेपालले ६० वर्ष पुगेपछि आफूले सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गरेका थिए ।

दुःखद संयोग नै मान्नुपर्छ, २०६५ सालको आठौं महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष रहेको प्यानलबाट महासचिव उम्मेदवार बनेका नेपाल ईश्वर पोखरेलसँग पराजित भएसँगै राजनीतिको मूलधारबाट धकेलिएका थिए ।

त्यसपछि पनि विभिन्न असन्तुष्टिहरू राख्दै उनी केपी शर्मा ओलीकै पक्षमा उभिएका थिए । नवौं राष्ट्रिय महाधिवेशनमा केपी शर्मा ओली र माधव नेपालबीच अध्यक्षमा प्रतिस्पर्धा हुँदा प्रदीप नेपाल ओली प्यानलको उपाध्यक्ष उम्मेदवार थिए, तर पराजित भए ।

उपाध्यक्षमा पराजयसँगै प्रदीप नेपालको करिब ४५ वर्षको सक्रिय राजनीतिको लगभग अन्त्य भएको थियो । एमाले र माओवादीबीच एकतापछि बनेको नेकपामा उनलाई पोलिटव्युरो सदस्य राखिए पनि स्वीकार गरेनन् । न उनले सपथ लिए, न त कुनै बैठकमा नै गए ।

बाँचुन्जेल कुर्सी छाड्न नचाहने नेताहरुका लागि प्रदिप नेपाल एक मिसाइल हुन् । उनले आफू ६० वर्ष पु्गेपछि राजनीतिमा कार्यकारी भूमिकाबाट अलग रहने र लेखनमा लाग्ने घोषणा गरेका थिए । २०७० मा ६० वर्ष पुगेका नेपाल त्यसपछि पार्टीको कमिटीमा रहेनन् । कमिटीमा राखिए पनि उनी बैठकहरुमा गएनन् ।

नेपालको कम्युनिष्ट आन्दोलनका एक सशक्त हस्तीमात्र नभएर शीर्ष तहकै राजनीतिज्ञ रहेका नेपालको पार्थिव शरीरमा कम्युनिष्ट पार्टीको झन्डा पनि नसिब भएन, तर उनकै इच्छामा । वामदेव गौतमले पहिलो पटक एमाले विभाजन गर्दा मूलधारको मूल प्रवक्ता बनेका नेपाल माधव नेपालले एमाले विभाजन गर्दा निष्क्रिय भइसकेका थिए ।

उनलाई दुवै पक्षले आफ्नो कित्तामा राखे पनि अन्तिममा एमालेमा खुले, तर कतै देखिएनन् । दुई पटक केपी शर्मा ओलीको प्यानलबाट महासचिव र उपाध्यक्ष उम्मेदवार बने पनि प्रदीप नेपाल ओलीको कार्यशैलीका पनि प्रखर आलोचक थिए । आलोचना नरुचाउने ओलीले प्रदीप नेपाललाई पछिल्लो समय उपेक्षा गरेको आरोप समेत थियो ।

२०१० साल पुस २८ गते जन्मिएका प्रदीप नेपाल ७२ वर्षको उमेरमा २०८२ वैशाख २३ गते ब्रह्मलीन भए । प्रदीप नेपाल आफ्नो घोषणाअनुसार नै ६० वर्षको उमेरपछि सक्रिय राजनीतिबाट बिदा भएका थिए भन्दा हुन्छ । किनकि उनी २०७० को नवौं महाधिवेशनपछि पार्टीको कार्यकारी भूमिकामा रहेनन् ।

वामदेव गौतम गृहमन्त्री भएका बेला सल्लाहकार बनेर आलोचना खेप्नुपरेपछि उनले घर खर्च चलाउन समस्या भएकाले जागिर खान बाध्य भएको प्रतिक्रिया दिएका थिए । जुन प्रतिक्रिया कांग्रेसका संस्थापक पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले ह्वीस्की पिउने पैसाका लागि सांसद बन्नुपरेको भनेर जवाफ दिए जस्तै थियो ।

प्रदीप नेपालको बारेमा २०६३ सालको राजनीतिक परिवर्तनपछि जन्मिएको पुस्तालाई धेरै जानकारी नभए पनि त्यसअघिको पुस्ताका लागि उनी एक प्रखर वक्ता, लेखक, साहित्यकार र प्रभावशाली नेता हुन् । नेपालले मूलतः पचासको दशकमा एमालेमात्र नभएर राष्ट्रिय राजनीतिमै बलियो प्रभाव पारेका थिए ।

केही टिपनटापन प्रसंग

प्रदीप नेपाल जतिबेला राष्ट्रिय राजनीतिका साथै एमालेभित्र प्रभावशाली भूमिकामा थिए, उनका आलोचक र समर्थक पनि उत्तिकै थिए । प्रदीप नेपालको मामिलामा मान्छेहरु तटस्थ थिएनन् । उनलाई कतिपयले छुच्चो नेता भन्थे भने उनलाई बुझ्नेहरुले छलकपट नगरी सीधासीधै बोल्ने नेता मान्थे ।

कांग्रेसको आलोचना गर्ने सन्दर्भमा होस् वा पार्टी विभाजनपछि माले र वामदेवहरुको आलोचनाको मामिलामा प्रदीप नेपाल एमाले वृत्तबाट वचनका छुरा प्रहार गर्थे । खुलामञ्चबाट वामदेवलाई भ्रष्टाचारी घोषणा गर्ने उनै नेपाल अर्को सन्दर्भमा गएर वामदेवकै सल्लाहकार पनि भए ।

गिरिजाप्रसाद कोइरालाका प्रखर आलोचक नेपालको संयोग नै भनौं दुई पटक उनकै क्याबिनेटको मन्त्री बने । माधव नेपाललाई १५ वर्ष महासचिव हुञ्जेल साथ दिए, तर जब पार्टीमा बहुपदीय प्रणालीमा गएर प्रत्यक्ष निर्वाचन भयो, दुवै पटक उनी नेपालविरोधी खेमा अर्थात् केपी शर्मा ओलीको प्यानलबाट उम्मेदवार बने ।

साहित्य र पत्रकारिताको पृष्ठभूमि भएका कारण उनी मिडियाको सधैं हेडलाइन बने । उनले कुनै बेला,आफ्नो अन्तर्वार्ता लिनका लागि मिडियाले पैसा दिनुपर्ने नियम समेत बसाएर चर्चाका आएका थिए ।

एमालेमा मात्र नभएर नेपाली नेताहरुमै सबैभन्दा पहिले ल्यापटप र कम्प्युटरमा टाइप गरेर आर्टिकल मिडियामा पठाउने पनि प्रदिप नेपालमै थिए ।

कुनै समय यस्तो पनि थियो प्रदीप नेपालले मोबाइल फोन बोक्दा समाचारमात्र बनेन, पार्टीमा स्पष्टीकरणको विषय समेत बनेको थियो । नेपालमा मोबाइल फोन आएकैताका उनले २० को लाइनको मोबाइल नम्बर लिएका थिए । ठाडोठाडै बोल्ने स्वभावका कारण पार्टीका धेरै नेताहरु पनि उनीसँग हच्किन्थे ।

उनी मनमोहन अधिकारी र मदन भण्डारीबाहेक अरुलाई आफ्नो नेता मान्न समेत चाहँदैन थिए । एमाले र नेकपा एसको नेतृत्वमा रहेका धेरै नेता उनका समकालीन हुन्, तर आज राज्यसत्ताको नेतृत्वमा पुगेका कतिपय शीर्ष अनुहार प्रदीप नेपालका चेला हुन् ।

सभामुख देवराज घिमिरे पदमा निर्वाचित भएलगत्तै गुरु मान्न नेपाल निवास पुगेका थिए । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल त प्रदीप नेपाललाई आफ्नो राजनीतिक गुरु र अभिभावक नै मान्छन् । राष्ट्रपति भइसकेकी विद्या भण्डारीलाई समेत अघि बढाउन प्रदीप नेपालको योगदान छ । उनीहरु दुवै जना एकै जिल्लामा जन्मिएका कारण पनि सान्निध्य थियो ।

युवा विद्यार्थीहरुलाई अघि बढ्न प्रोत्साहन गर्ने नेपाल केही महिनाअघिसम्म पनि मेसेन्जरबाट उनीहरुलाई दीक्षा दिइरहेका थिए भन्ने कुरा उनको निधनपछि फेसबुकमा आएका स्क्रिनसटहरुले पनि पुष्टि गर्छन् । मदन भण्डारीलाई नेता मानेर अघि बढेका प्रदीप नेपाल जनताको बहुदलीय जनवादका प्रखर अनुयायीमात्र नभएर प्रवक्ता समेत हुन् ।

उनले कुनै समयमा गएर पार्टीभित्र जबज पक्षधरहरुको मोर्चाबन्दी हुनसक्ने घोषणा समेत गरेका थिए ।

प्रदीप नेपाल २०६३ सालको अन्तरिम संविधानमै विमति राख्थे । उनी नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएकोमा असन्तुष्ट थिए । सन्चार मन्त्री भएका बेला रेडियो नेपालबाट संस्कृति भाषाको समाचार प्रसारण गराएबापत उनले पार्टीभित्र र बाहिरबाट आलोचना पनि खेपेका थिए ।

संघीयता नेपालको लागि अभाप सिद्ध हुने भनेर उनले लेख र अन्तर्वार्तामार्फत आफ्ना दृष्टिकोण प्रकट गरेका थिए । माधव नेपाललाई पार्टी विभाजनमा साथ नदिनुको कारण जबज भएको भन्दै उनले जबजको लागि एमालेमै रहने निर्णयमा पुगेका थिए ।

२०३५ सालको ऐतिहासिक नख्खु जेल ब्रेकका एक योद्दा प्रदीप नेपालले त्यस वरपरको घटनालाई केन्द्रित गरेर लेखेको मुक्त आकाशको खोजी तीन भागमा पढ्न पाइन्छ,जसले तत्कालीन राजनीतिको तस्विर देखाउँछ ।

३५ वर्षको उथलपुथल

प्रदीप नेपाल २०२६ सालदेखि नै वामपन्थी राजनीतिमा लागे, तर उनको प्रभाव भने २०३२ पछि बढेको थियो । २०३५ मा नेकपा मालेका संस्थापकमध्येका एक नेता प्रदीप नेपालले पञ्चायतकालभर धेरै जिल्लाको नेतृत्व गरे भूमिगत रूपमा ।

२०४७ सालमा नेकपा माले र मार्क्सवादीको एकता भएर एमाले बन्दा उनी केन्द्रीय समितिमा नियतवश पारिएनन् । २०४९ सालको पाँचौं महाधिवेशनको हलबाट समेत उनलाई केन्द्रीय कमिटीमा ल्याइएन, तर लगत्तै बसेको बैठकमा मदन भण्डारीको प्रस्तावमा उनी केन्द्रीय सदस्य भएका थिए ।

२०४९ सालको स्थानीय चुनावपछि उनी राष्ट्रियसभा सांसद भए । २०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री बने । प्रदीप नेपाल सधैं चर्चा र विवादमै रहे त्यो समयमा ।

२०५४ सालमा नेकपा एमालेको छैटौं महाधिवेशनपछि वामदेव गौतम, सीपी मैनालीलगायतले पार्टी फुटाएर नेकपा माले गठन गरे । मालेलाई बासी गुटको नामकरण गरेर उनले सूर्योदय साप्ताहिकमा लेखेको लेख बहुचर्चित थियो । उनी २०५४ पछि एमाले स्थायी कमिटीमा पुगे ।

पार्टीको प्रचार विभाग प्रमुखका रूपमा प्रदीप नेपाल एमालेमा अहिलेसम्मकै बलियो र प्रभावशाली नेता हुन् । २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारमा जलस्रोत र स्वास्थ्य जस्ता ठूला मन्त्रालयको मन्त्री बनेका नेपाल त्यसपछि २०५६ सालमा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

मनमोहन अधिकारीको आकस्मिक निधनपछि रिक्त रहेको काठमाडौं १ को उपचुनावमा उनले वामदेव गौतम र कांग्रेसका लोकेश ढकाललाई पराजित गरेका थिए । २०६४ सालको निर्वाचनमा भने उनी संविधानसभा सदस्यका रूपमा आउन सकेनन् । कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए ।

२०६३ सालको अन्तरिम सरकारमा गिरिजाप्रसाद कोइरालाकाे क्याबिनेटमा शिक्षामन्त्री बनेका नेपाल २०६५ सालको एमालेको आठौं महाधिवेशनमा महासचिव र २०७० को नवौं महाधिवेशनमा उपाध्यक्ष उम्मेदवार बने पनि पराजित भएर राजनीतिबाट उनको घोषणाअनुसार नै ६० वर्षको उमेरमा अलग भएका थिए ।

एमालेमा मोदनाथ प्रश्रितपछि कार्यकारी भूमिकाबाट स्वेच्छिक अवकाश लिने प्रदीप नेपाल नेपाली राजनीतिमा पछिल्लो समय देखिएको बाँचुञ्जेल खान खोज्ने प्रवृत्तिका लागि उदाहरण हुन् । नेपाली प्रगतिवादी साहित्यमा सञ्जय थापा उपनामले परिचित प्रदीप नेपालले दर्जनौं कृति नेपाली समाजलाई दिएर गएका छन् ।

‘पार्टीकी आमा’, ‘पूर्वतिर’, ‘मुक्ति’, ‘स्वप्निल शहर’, ‘एक हजार वर्ष’ लगायत १६ वटा उपन्यास, ‘धरहराको शहर’, ‘बेचिएका चेलीहरू’, ‘बाघमारेको लालसलाम’लगायत १० वटा कथा सङ्ग्रहका साथै ‘पाइला छोडेर अस्ताएको घाम’, ‘इलामको तारा’, ‘बन्दीगृहको सिर्जना’लगायत १३ वटा नियात्रा/संस्मरण उनका अजम्बरी कृति हुन् । नख्खु जेलब्रेकका योद्धाहरूको बारेमा लेखिएको ‘मुक्त आकाशको खोजी’ उनको उत्कृष्ट कृति हो ।

प्रदीप नेपालकी पत्नी झुमा देवान र एक छोरी छन् ।

नेपालको राजनीति र साहित्यमा अमिट छाप छाडेर गएका प्रदीप नेपालप्रति हार्दिक श्रद्धाञ्जली । अलबिदा सञ्जय थापा ! हामी सम्झिरहनेछौं ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *