पतञ्जली जग्गा प्रकरण- माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी (भिडिओ)

काठमाडौं । पतञ्जली योगपीठलाई आयुर्वेद अस्पताल तथा जडिबुटी केन्द्रका नाममा दिइएको हदबन्दी छुटेको जग्गा विक्री भएको प्रकरणमा अख्तियारले माधव नेपालसँग लिएको बयानलाई राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक प्रतिशोध भनेको छ ।

रास्वपा प्रवक्ता समेत रहेका सांसद मनिष झाले प्रतिनिधि सभाको मंगलवारको बैठकमा शून्य समयमा बोल्दै रास्वपा सभापति रवि लामिछानेपछि माधव नेपालमाथि पनि राजनीतिक प्रतिशोध साँध्न बयान लिइएको आशंका व्यक्त गरे ।

अख्तियारले गरेको अनुसन्धान तथा बयानको उल्लेख नगरी सांसद झाले सरकारले राजनीतिक प्रतिशोध साँध्दै नेताहरूलाई पक्राउ गर्ने, थुन्ने र बयानसमेत लिन थालेको बताए ।

उनले भने–हालसालै भइराखेको राजनीतिक प्रतिशोधको केही घटनाहरूमा पार्टीको तर्फबाट ध्यानाकर्षण भएको, हाम्रो सरोकार रहेको कुरा राख्न चाहन्छौँ। हाम्रो पार्टी सभापतिप्रति भएको भयो, हालसालै रेशम चौधरीप्रति भयो। माधवकुमार नेपालको पनि बयान लिइँदैछ भन्ने सुन्दैछौं। अब के सिके राउतप्रति आक्रमण हुन्छ कि ?

अख्तियारले हालै पतञ्जली जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपालको बयान लिइएको सार्वजनिक भएको छ । २०६६ सालमा माधव नेपाल प्रधानमन्त्री भएको बेला पतन्जलीलाई हदबन्दी छुटमा जग्गा खरिद गर्न दिइएको थियो ।

हदबन्दी छुटको जग्गा विक्री गर्न अनुमति दिने अर्को निर्णय पनि पनि सोही सरकारले गरेको र हदबन्दी छुटको सो जग्गामा ‘काष्ठमण्डप बिजनेश होम्स’ले प्लटिङ गरेको थियो ।

हदबन्दी’ छुटको जग्गा जुन प्रयोजनका लागि खरिद गर्न दिइएको हो सोही प्रयोजनमा नआए सरकारको हुनुपर्नेमा व्यक्तिमा गएपछि अख्तियारले दुवै निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीसँग बयान लिएको हो ।

Comments

One response to “पतञ्जली जग्गा प्रकरण- माधव नेपालमाथि राजनीतिक प्रतिशोध लिइएको रास्वपाको दाबी (भिडिओ)”

  1. Janak Chaudhary Avatar
    Janak Chaudhary

    सांसदले नै अख्तियारको काममा अंकुस लगाउन किन चाहन्छन् ? कानुन बमोजिम गरिने हरेक कामको स्वागत गर्ने र कानुन विपरित देखिए वा प्रमाणित भए अख्तियारको जिम्मेवारीमा रहेकालाइ पनि कार्वाही गर्न सकिने कानुन बनाउन बिषयमा बहस गर्न छोडेर स्वयम न्यायधिश बन्ने सांसदलाइ के भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *