काठमाडौं । दुई महिना अगाडि कारवाहीमा परेका एक युट्यूवरले आज प्रदर्शोन्मुख चलचित्र ‘महाभोज’ को प्रेसमिटमा छिरेर निर्माण पक्षलाई हैरानीमा पारेका छन् । उनले दिक्क पार्ने गरी बेतुकका प्रश्न सोधेपछि चलचित्रका निर्देशक दिनेश राउत र अभिनेता निश्चल बस्नेत भड्किए ।
गत फागुनमा संसद भवन परिसरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित प्रश्न सोधेको भन्दै संसद सचिवालयले दुई युट्यूवरको पास एक महिनाका लागि निलम्बन गरिदिएको थियो ।
उनीहरु थिए, ‘सुनौलो नेपाल’ नामक युट्युव च्यानलका प्रकाश ओली र ‘युवा मन नेपाल’ नामक च्यानलका किशोर श्रेष्ठ । उनीहरुलाई संसद भवन प्रवेशमा एक महिनाका लागि रोक लगाइएको थियो । उनीहरुले निलम्बनको अवधि गुजारिसकेका छन् ।
यी दुईमध्ये एक किशोर आज चलचित्र महाभोजको कार्यक्रममा देखा परेका हुन् । चलचित्रको एउटा गीत रिलिज कार्यक्रममा राउत र बस्नेत सहित कलाकारहरु दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने लगायतको उपस्थिति थियो । युट्यूवर श्रेष्ठले ‘अन्टसन्ट’ प्रश्न सोध्ने आफ्नो शैलीलाई यहाँ पनि निरन्तरता दिए ।
‘चलचित्रले समस्या मात्रै देखाएर हुन्छ ? समाधान दिनु पर्दैन ? तपाईंहरुले फिल्ममा खेलेको क्यारेक्टरले सडकमा गएर कहिलेकाहीँ अर्धनग्न भएका छोरीचेलीलाई हामी छौं साथमा भन्नुभएको छ ? तपाईंहरुले समाजका मुद्दा उठाएर पैसा कमाउन खोज्नुभएको हो ?’ ह्यान त्यान प्रश्न उनले एकैपटक सोधेका थिए ।
यो चलचित्र सहकारी ठगीको विषयवस्तुमा निर्माण भएको छनक ट्रेलरले दिएको छ । सहकारीको पैसा अपचलन भएपछि त्यसले ल्याउने सामाजिक र पारिवारिक विग्रहको कथामा चलचित्र आधारित छ । अहिले सहकारी प्रकरणले देश तताइरहेको बेला, सोही माहोललाई पक्ड्दै निर्देशकले यो विषयमा चलचित्र बनाएका हुन् ।
युट्यूवरले ‘समाजका मुद्दा देखाएर पैसा कमाउन खोजेको’ भनेपछि निश्चल बस्नेत तात्तिए । निर्देशकलाई सोधिएको भए पनि उनले माइक मागेर जवाफ दिए ।
उनले प्रतिप्रश्न गरे, ‘तपाईं यहाँ हामीलाई प्रश्न सोधेर पैसा मात्र कमाउन आउनुभएको हो ?’ निश्चलको यो प्रतिप्रश्नमा युट्यूवरले आपत्ति जनाए । उनले आफूलाई यस्तो भन्न नमिल्ने बताएपछि निश्चलले थप थर्काए ।
उनले भने, ‘चलचित्र नै नहेरी तपाईलाई कथा अगाडि चाहिएको रहेछ । म तपाईलाई नै प्रश्न गर्छु, तपाई यहाँ हामीले बोलेको भिडियो खिचेर पैसा कमाउन आएको हो ?’
उनको प्रश्न सकिनासाथ पत्रकारले जवाफ दिए, ‘हैन ।’
निश्चलले पनि उनको जवाफ आउनासाथ उत्तर फर्काए, ‘हामीलाई त त्यस्तै लागिरहेको छ ।’
कार्यक्रममा उपस्थित अन्य पत्रकारले निश्चलते जवाफमा ताली बजाए ।
तर, युट्यूवर श्रेष्ठ सन्तुष्ट भएनन् ।
उनले भन्न थाले, ‘यो गम्भीर विषय उठान गर्दैगर्दा खेरि……’
निश्चलले उनलाई रोके र जवाफ दिए, ‘तपाई चलचित्रलाई चलचित्रजस्तो गरेर किन हेर्नुहुन्न ? तपाई किन साँच्चै चलचित्रले नै देश बदल्छ सोचेर हेर्नुहुन्छ ्र? चलचित्रले प्रश्न उठाउँछ ।’
युट्यूवरले फेरि बिचमै केही बोल्न लागेका थिए, निश्चलको छेउमा उभिएका अर्का अभिनेता दयाहाङ राईले मुख खोले, ‘चलचित्रले प्रश्न मात्र उठाउने हो । चलचित्रले यो बाहेक अरु केही गर्न मिल्दैन ।’
दुई अभिनेताले उत्तर दिँदा पनि युट्यूवर अझै सन्तुष्ट भएनन् । उनले फेरि प्रश्न तेस्र्याए, ‘त्यसो भए चलचत्रिले समाधान दिनु पर्दैन ?’
अन्ततः निर्देशक राउत आफै बोले ।
उनले भने, ‘सिनेमाप्रतिको बुझाइ कम भएपछि हामीले यस्तो प्रकारको प्रश्नको समाधान गर्नु पर्ने हुन्छ । यो तपाईंको बुझाइको कमजोरी हो । कथावाचकको रुपमा मैले भन्नुपर्दा, म समाजको समस्या देखाउन सक्छु तर त्यसको समाधान दिन सक्दिनँ । त्यो मेरो कामै होइन ।’
युट्यूवर फेरि पनि बोलि नै रहे ।
त्यसपछि अर्का अभिनेता खगेन्द्र लामिछानेले पनि मुख खोले ।
उनले भने, ‘समाधान अदालतले दिने हो। तपाईको यो प्रश्नै भएन।’ खगेन्द्रको समर्थन गर्दै निर्देशक राउतले भने, ‘पहिला तपाईको बुझाई कत्तिको सही वा गलत छ, त्यो विश्लेषण गर्नु ।’
बिचमै युट्यूवरले निश्चलसँग गुनासो पोखे, ‘तपाईले हामीलाई भिडियो खिचेर पैसा कमाउन आएको भन्नुभयो । त्यस्तो हैन हेर्नु ।’
निश्चलले जवाफ फर्काइहाले, ‘तपाईंले हामीलाई फिल्म देखाएर पैसा कमाउन आउनुभएको हो ? भनेर सोधेको भएर त्यसको उत्तर मैले तपाईकै भाषामा दिँदा तपाईंको चित्त दुख्यो ?’
निश्चलले आक्रोशित हुँदै थपे, ‘काम गरेपछि मान्छेलाई पैसा कमाउँ भन्ने लाग्दैन ? सर्वप्रथम, तपाईंले सोध्नुभएको प्रश्न जायज छ कि छैन भनेर तपाईंको छेउमा भएको अरु पत्रकार साथीलाई सोध्नु ।’
जति उत्तर दिएपनि उही कुरा दोहोर्याएको दोहोर्याइ गरेपछि निश्चल भने दिक्क भईसकेका थिए । उनी बोल्नै छाडे । उपस्थित अरु कलाकार पनि यो सवालजवाफमा खासै खुसी देखिएनन् । कुरा जति गरेपनि नटुंगिएपछि, अन्तत कार्यक्रम सञ्चालकले समय छोटो भएकाले यो विषय यहीँ टुंग्यायाउन अनुरोध गरे ।

Leave a Reply