काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न माओवादी पुनर्मिलन कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः माओवादी केन्द्रमा फर्किएका नेताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
काठमाडौंको दक्षिण पश्चिम क्षेत्र (कीर्तिपुर–थानकोट) आसपास सक्रिय विभिन्न माओवादी पृष्ठभूमिका नेताहरू पुनः माओवादी केन्द्रमा ध्रुवीकृत भएका हुन् ।
अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै यो पुनर्मिलनलाई माओवादी आन्दोलनको एकताको दिशामा महत्वपूर्ण कदमको रूपमा व्याख्या गरे ।
उनले भने, ‘ध्रुवीकरणमा आउनुभएका मोतीरत्न अमात्यलगायत विभिन्न पार्टीबाट पुनर्मिलनमा आउनुभएका सबैलाई म हार्दिक बधाई दिन चाहन्छु । यो सुरुवात हो ।’
पुनर्मिलनमा सहभागी भएकाहरूको परिचयले यो प्रक्रिया केवल व्यक्तिगत निर्णय नभई आन्दोलनको समग्र एकताको संकेत भएको उल्लेख गरे ।
उनले थपे, ‘तपाईंहरूको यो निर्णयले माओवादी आन्दोलनबाट विभाजित धाराहरूबीच नयाँ वातावरण सिर्जना गर्नेछ । आगामी दिनमा माओवादी शक्तिहरूको ध्रुवीकरण ज्यामितीय रूपमा अगाडि बढ्नेछ ।’
माओवादी घटकहरू, विशेषतः समाजवादी मोर्चामा रहेका दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै प्रचण्ड अहिलेको पुनर्मिलन प्रयास बहुआयामिक रहेको र यसले माओवादी एकतामा नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरे ।
विगतमा पार्टी विभाजनका कारण आन्दोलन कमजोर भएको बताउँदै उनले भने, ‘पार्टी विभाजन भएर कसैलाई फाइदा भएको छैन । अब हामी सबैले अनुभवबाट सिकेर क्रान्तिकारी कम्युनिस्टहरू एक हुनैपर्छ ।’
प्रचण्डले नेकपा मसालको महासचिवको हैसियतमा आफूले विगतमा खेलेको एकता प्रयासलाई स्मरण गर्दै अहिले पनि माओवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन निरन्तर प्रयास गरिरहेको बताए ।

Leave a Reply