ओखलढुंगा । खुम्बुस्थित सगरमाथाको तल्लो क्षेत्रको पर्यटकीय चहलपहल बढाउन खिजिदेम्बा पिके साहसिक साइकल यात्रा गरिएको छ । १६ देखि ६५ वर्ष उमेरका ६२ जना ‘फन राइडर’ साहसिक साइकल यात्रुको सहभागिता रहेको यात्रा शनिबार खिजिदेम्बा गाउँपालिकामा समापन भएको हो ।
‘टुर दे खिजिदेम्बा पिके २०२५’ नाम दिइएको साइकल यात्रा बिहीबार खिजिदेम्बाबाट शुरु भएको थियो । करिब ७४ किलोमिटर हिमाली क्षेत्रमा साइकल चढेर सहभागीहरु पिके पिकसम्म पुगेका थिए । ६२ साहसिक साइकल यात्रुमध्ये ७ जना ४ हजार ६५ मिटरको पिके पिकसम्मै पुगेका थिए । केहीले ३,८०० मिटरसम्म साइकल यात्रा गरेका थिए ।
यात्रामा रुपन्देही, नवलपरासी र काठमाडौं वरपरका जिल्लाका साहसिक फन राइडरहरु सहभागी भएको आयोजक ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पाले जानकारी दिए ।

साइकल यात्रामा एक जना कोरियाली नागरिकसमेत सहभागी भएका थिए । असिना पानीको प्रतिकूल मौसमका बावजुद यस पटकको साहसिक साइकल यात्रा सफल भएको र पिके क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुगेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए ।
उद्योग व्यसायलगायत विभिन्न क्षेत्रमा कार्यरत फन राइडरहरु यस पटक ‘टुर दे पिके’मा सहभागी भएका थिए । खिजिदेम्बा गाउँपालिकाको आर्थिक सहयोग र ओखलढुंगा पर्यटन विकास समितिको व्यवस्थापनमा भएको सो कार्यक्रममा प्राविधिक सहयोग ट्रेक साइकल ब्रान्डका प्रयास तामाङले गरेका थिए ।
यसअघि अल्ट्रा म्याराथनलगायतका खेलकुद प्रतियोगिता गरेको समितिले यस पटक साहसिक पर्यटनको प्रवर्द्धन गर्न साइकल यात्रा गरेको हो । समितिले यस अगाडि ४२ किलोमिटर दूरीको म्याराथन पाँच संस्करणमा गरेर उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन गरिसकेको छ ।
साहसिक साइकल यात्रीहरुलाई शनिवार गाउँपालिकाले खिजि फलाँटेमा भव्य स्वागत गरेको थियो । ओखलढुंगाका प्रदेश सभा सदस्य प्रदिप सुनुवार,गाउँपालिका अध्यक्ष गम्बु शेर्पा,उपाध्यक्ष सुशीला तामाङ,ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पालगायतले सो क्षेत्रको पर्यटन विकासको लागि साहसिक साइकल यात्रीको योगदान उल्लेख्य रहेको बताए ।
साहसिक साइकल यात्रीहरुलाई शनिवार गाउँपालिकाले खिजि फलाँटेमा भव्य स्वागत गरेको थियो ।
ओखलढुंगाका प्रदेश सभा सदस्य प्रदिप सुनुवार,गाउँपालिका अध्यक्ष गम्बु शेर्पा,उपाध्यक्ष सुशीला तामाङ,ओखलढुंगा पर्यटन विकास समितिका अध्यक्ष ङावा ङिमा शेर्पालगायतले सो क्षेत्रको पर्यटन विकासको लागि साहसिक साइकल यात्रीको योगदान उल्लेख्य रहेको बताए ।

Leave a Reply