जनकपुरधाम । भारतको ओडिसास्थित केआईआईटी युनिभर्सिटीमा मृत भेटिएकी नेपाल, वीरगन्जकी छात्रा प्रिशा साहको परिवार राति नै भारततर्फ लागेका छन् ।
सर्लाहीको मलंगवा घर भई हाल वीरगन्ज महानगरपालिका १५ मा बस्दै आएका श्याम साहकी छोरी हुन् प्रिशा । प्रिसा उक्त युनिभर्सिटीमा बीटेक सिएसईको पहिलो वर्षमा अध्ययनरत थिइन् ।
प्रिशाको मृत्यु भएको कुरा उनकै भाइ गौरवले बिहीबार राति फोन गरेर बुवा श्यामलाई जानकारी गराएका थिए । घटनाबारे थाहा पाएपछि प्रिशाका परिवार भारततिर लागेको जानकारी दिए ।
पर्साका एसपी गौतम मिश्रले भने, ‘मृतक प्रिशाका बुवा श्याम राति हाम्रो सम्पर्कमा आउनु भएको थियो । उहाँ ओडिसा कसरी पुग्ने भन्नेमा अन्योलमा थिए । हामीले सल्लाह दियौँ । सायद राति नै उहाँ उतातिर लाग्नुभयो । अहिले सम्पर्क गर्दा हुन सकेको छैन । सम्पर्क नहुनुले पनि उहाँ भारतीय लागेको हुनसक्ने अनुमान छ ।’
उनका अनुसार बिहीबार दिउँसो ३ बजेतिर प्रिशाले आफू मे १८ तारिखमा बिदामा घर आउने भन्दै फोन गरेकी थिइन् । यो कुरा उनका भाइ गौरवले जानकारी गराएको एसपी मिश्रले बताए ।
वीरगन्ज १५ का वडाध्यक्ष रमेश यादवले पनि मृतक प्रिशाको परिवार भारततर्फ लागेको हुनसक्ने बताए । उनले भने, ‘प्रिशाको बुवा भिस्वामा बस्छन् । दुई तल्ले घर छ । आज घरमा कोही छैनन् । मलाई लाग्छ– उहाँहरू भारततिर लाग्नुभएछ ।’
प्रिशा एक वर्ष अगाडी मात्रै अध्ययनका लागि सो विश्वविद्यालय गएकी थिइन् । उनी होस्टेलमा झुन्डिएको अवस्थामा मृत फेला परेपनि उनको मृत्यु रहस्यपूर्ण रहेको सो कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन् ।
प्रिशा महिलामाथि हुने हिंसाविरुद्ध जहिल्यै आवाज उठाउने गर्थिन् । एक महिना अगाडी मात्रै उनी वीरगन्जमा महिला हिंसाविरुद्ध प्रदर्शनमा सहभागी भएको तस्बिर समेत सार्वजनिक भएको छ ।
सिरहा नवराजपुरकी बलात्कृत किशोरी रिंकू सदाय मृत फेला परेपछि घटनामा संलग्नहरूमाथि कारबाहीको माग गर्दै वीरगन्जमा प्रदर्शन भएको थियो । उक्त प्रदर्शनमा प्रिशा पनि सहभागी थिइन् ।

Leave a Reply