श्याम सिंघकको उपन्यास ‘कोइलाखाद’ सार्वजनिक

काठमाडौं । मजदुर दिवसको अवसर पारेर लेखक श्याम सिंघकको उपन्यास ‘कोइलाखाँद’ विमोचन भएको छ । सम्भव समूहको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा विमोचित उपन्यासमाथि लेखक नयनराज पाण्डे र अध्येता कैलाश राईले आफ्नो धारणा व्यक्त गरेका थिए ।

लेखक पाण्डेले उपन्यासकार सिंघकको लेखनीको प्रशंसा गर्दै अनुसन्धान गरेर लेखिएका उपन्यासहरुमा समाजको यथार्थ चित्रण गरिने हुँदा यस्ता उपन्यासहरू धेरैभन्दा धेरै मात्रामा लेखिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘श्रमिकहरूको कथा वैश्विक विषय हो । यस्तो विषयवस्तुमा पाठकहरूको सहानुभूति हुन्छ। तसर्थ यो उपन्यास अङ्ग्रेजी साहित्यमा पनि अनुवाद हुनुपर्ने उपन्यास हो ।’

अर्का वक्ता राईले उपन्यासमा कोइलाखाद सम्बन्धी धेरै दस्ताबेजहरू रहेकोले यसलाई अनुसन्धानको पाटोबाट हेर्नुपर्ने तर्क व्यक्त गरिन्।

‘सानो छँदा बोजुहरुले कुरा गरेको कोइलाखादबारे उपन्यासमा पढ्न पाउनु खुसीको कुरा हो मेरा लागि,’ उनले भनिन्, ‘यसले कोइलाखादमा काम गर्ने श्रमिक वर्ग र त्यहाँ बसोबास गर्ने समुदायको अर्थ सामाजिक र अर्थ राजनैतिक पक्षलाई पनि साह्रै मिहीन ढङ्गबाट प्रस्तुत गरेको छ ।’

लेखक सिंघकले भने व्यवसायीकरण र बजारीकरणको हिसाबले भन्दा पनि दस्तावेजिकरण होस् भनेर उपन्यास लेखेको बताए । पहिलेको उपन्यासभन्दा पनि अझै मिहिनेत गरेर लेखेको हुँदा यस उपन्यासबाट पाठकहरूको मन जित्ने कुरामा ढुक्क  रहेको पनि उनको तर्क थियो । लगभग पाँच वर्षको अध्ययन र अनुसन्धानबाट तयार पारिएको ‘कोइलाखाद’ सक्दो मिहिनेत गरेकोले आफू सन्तुष्ट रहेको बताए ।

यसअघि सिंघकको ‘रेमिटल्याण्ड’ उपन्यास प्रकाशित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *