काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेले निरन्तर नेतृत्व गरिरहेको दाबी गरेका छन्।
अन्तरराष्ट्रिय श्रम दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रमलाई सम्बाेधन गर्दै एमालेले ल्याएको विकासको अवधारणले नै मुलुक विकास र समृद्धिको बाटोमा अघि बढेको बताए।
उनले भने, ‘एमालेले ल्याएका सामाजिक सुरक्षाका कार्यक्रमले देशमा धनी र गरिबबीचको खाडल पुरिएको छ, हामीले छोटो समयमा समानताको यात्रा तय गरेका छौँ।’
मुलुकको अर्थतन्त्र विकासमा सबैभन्दा बढी भूमिका श्रमजीवी वर्गको रहेको बताए। श्रमजीवि वर्गलाई सङ्गठित गर्ने र उनीहरुलाई अधिकार प्रदान गर्ने आन्दोलनको नेतृत्व जिफन्टले गरेको बताए।
उनले थपे, ‘जति बेला एमाले सरकारमा पुग्छ, त्यति बेला श्रमजीवि वर्गको हकको पक्षमा कानुन र कार्यक्रम ल्याउने गरेको छ। एमाले मुलुकको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय हितको पक्षमा निरन्तर लागिरहेको छ।’
एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुँदा अघि सारेको नेपालको परराष्ट्र नीति र विकास नीति परम्परागत सोचभन्दा फरक रहेका समेत बताए।

Leave a Reply