मानौँ, कोही व्यक्ति आफ्नै घरबाट लखेटियो । यसरी लखेटियो कि उसले घरभित्र भएका सरसामान पनि राम्रोसँग उठाउन पाएन । आफू जन्मिएको, हुर्किएको घरलाई अन्तिम पटक राम्रोसँग हेर्न पनि पाएन । एक सेकेण्ड मात्रै ढिला भएको थियो भने उसको छाती गोलीले वारपार पार्न सक्ने थियो ।
यसरी भाग्ने क्रममा उसको घर, आँगन, बारी र भूगोलसँग मात्रै छुटेन । ज्यान जोगाउने ध्याउन्नमा आमा, बा, दिदी, बहिनी, दाजु, भाइ, छोरा, छोरी, आफन्त वा इष्टमित्रमध्ये कोही न कोहीसँग ऊ छुटिन बाध्य भयो । पल भरमै हुरीले हाँगाहरू तछारिसकेपछि जरै उखेलेर उडाएको सिमलको रुखजस्तो भयो ऊ ।
दुई मुठी सासमा अल्झिएको ज्यान बचाउन हेर्दाहेर्दै उसले देशकै सीमाना काट्यो । र होसहवासमा आएर हेर्द ऊ केही घण्टामै शरणार्थी भइसकेको थियो । फेरि आफ्नो घरमा कहिल्यै फर्कन नसक्ने भइसकेको थियो । यस्तो वेला त्यो व्यक्तिको मनस्थिति कस्तो होला ? दिमागमा कस्ता कस्ता कुराहरू खेल्लान् ? उसले आफूलाई कसरी सम्हालेर जीवन चलाउला ? अहिले हलमा चलिरहेका ‘भुठान ः घर हराएको कथा’ले शरणार्थीको यही मनोदशालाई उप्काउने कोसिस गरेको छ ।
विनोद पौडेल निर्देशित यो चलचित्रले विष्णुबहादुर केसी (हरिवंश आचार्य) नामक पात्रमार्फत् शरणार्थी भएर आफू जन्मिएको, हुर्किएको थातथलोमा जति कोसिस गरे पनि जान नपाउँदाको मनोदशालाई पत्र–पत्रमा केलाउने कोसिस गरेको छ । कुनै समय भुटानको राष्ट्रिय टिमबाट गोलकिपरको रूपमा फुटबल खेलेका विष्णुबहादुरले एक झलक भुटानको घर हेर्न अमेरिकाबाट हजार कोसिस गर्छ, तर भुटान सरकारले उसलाई अनुमति दिँदैन । चाहेर पनि आफू जन्मिएको माटोमा टेक्न नपाएको घिडघिडोसहित बाँचिरहेको छ ऊ ।
विष्णुबहादुरको ज्यान अमेरिकामा छ, उसको मन भुटानमा । अमेरिका बसिरहे पनि ऊ भुटानको नोस्टालजियासितै बाँचिरहेको छ । कहिले आमाको काखमा निदाएको कल्पनामा बाँच्छ । कहिले भुटानको सिमलको रुखसँग बाँच्छ । विष्णुबहादुर कति धेरै रिक्ततासँग बाँचिरहेको छ भन्नका लागि निर्देशक पौडेलले एक संवादको प्रयोग गरेका छन् ।
विष्णुबहादुर एक नर्सरीमा गुनगुन गुनगुन गुनगुनाउँछ । यहीबेला गीतकै सन्दर्भमा अर्का पात्रसँगको कुराकानीमा विष्णुबहादुरले भन्छ, ‘भुटान छाड्दा स्वर पनि उतै छाडेर आएँछु ।’
विष्णु बहादुरहरुले स्वर मात्रै होइन, धेरैथोक भुटानमै छाडेका छन् । र हाडछालाको शरीर मात्र लिएर अमेरिका पुगेका छन् । त्यसैले उनीहरू रित्ता छन् । रिक्ततामा बाँचिरहेका छन् ।
बाहिर हेर्दा धपक्कजस्तो देखिए पनि भित्रभित्रै उनीहरू निभेका छन् । विष्णुबहादुर मार्फत् पहिलो पुस्ताका भुटानी शरणार्थीहरूको मनोदशा देखाउन निर्देशक पौडेलले प्रकाशको संयोजनदेखि ब्याकग्राउण्ड स्कोर, उत्कृष्ट सम्पादनदेखि सिनेम्याटोग्राफीसम्ममा मिहेनत गरेको देखिन्छ ।
चलचित्रको ओपनिङ दृश्यमै विष्णुबहादुर कोठामा फोनमा कुरा गरिरहेको छ । झ्यालमा सेतो पर्दा छ । पर्दा बाहिर उज्यालो छ । उक्त उज्यालोलाई पर्दाले छेकेको छ । विष्णुबहादुर चाहिँ झ्यालभित्र छायामा उभिएको छ । निर्देशक पौडेलले विष्णुबहादुरभित्रको रिक्तता र निराशालाई पहिलो दृश्यमै स्थापित गरिदिएका छन् ।
अर्को दृश्य छ,– जहाँ सेताम्मे हिउँ परेको छ, पात झरेको एक्लो रुख टिङ्ग्रिङ्ग छ । अनि बिस्तारै विष्णुबहादुरलाई देखाइन्छ । यस्ता धेरै दृश्यले विष्णुबहादुरभित्रको रिक्ततालाई देखाउने कोसिस गरेको छ ।
विष्णुबहादुर बिरामी छ, औषधि पनि खाइरहेको छ । उसलाई पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर छ । डरलाग्दो र तनावपूर्ण घटना कुनै व्यक्तिमा घटेपछि यस्तो मानसिक समस्या देखिन्छ । विष्णुले झेलिरहेको यो मानसिक समस्या र ऊभित्रको रिक्तताको निराकरण मेडिकल औषधि वा आध्यात्मिक चिन्तन, मननबाट सम्भव छैन । यसका लागि विष्णुबहादुर भुटान पुग्नुपर्छ । उसको पैतालाले भुटानको माटो टेक्नुपर्छ । यसैको आशामा विष्णुबहादुरले बिरामी शरीरलाई अमेरिकामा लतारिरहेको छ ।
भुटान सम्झनसाथ, भिसा सम्झनसाथ, माटो सम्झनसाथ उत्साहित हुने विष्णुबहादुर अन्य समय निराशामा मात्रै गुज्रिरहन्छ । दुई श्रीमती छन्, छोराहरू छन्, बुहारी छे, नातिनी छे । र पनि विष्णुबहादुर रित्तो छ । त्यो रित्तोपन भर्ने चिज एउटै छ, भुटानको भिसा ।
चलचित्रमा एउटा दृश्य छ, विष्णुबहादुरले पुरानो बाकस खोल्छ । बाकसबाट मेडल झिक्छ । घाँटीमा लगाउँछ । फुटबल झिक्छ, हातले समाउँछ । चक्कु निकाल्छ । चक्कुले छेडेर फुटबलमा बाँकी रहेको अलिअलि हावा पनि फालिदिन्छ । यो दृश्यमा चक्कुले फुटबल छेडिरहँदा निर्देशक पौडेलले फुटबल देखाएका छैनन्, विष्णुबहादुरको अनुहार देखाएका छन् । यसबेला दर्शकको मन निचोरिन्छ । सम्भवतः भुटानको राष्ट्रिय फुटबल खेलाडी विष्णुबहादुरले घर फिर्ने सपनालाई तिलाञ्जलि दिएको देखाउन निर्देशक पौडेलले यो दृश्य प्रयोग गरेका हुन सक्छन् । अनि यही दृश्यमा हरिवंशको शानदार अभिनयको स्वाद समेत चाख्न पाइन्छ ।
सन् ९० को दशकमा लखेटिएका भुटानीहरू पूर्वी नेपाल आए । शिविर बनाएर बसे । सन् २००७ बाट अमेरिका, युरोप, अष्ट्रेलियातिर पुनर्वासका लागि जान थाले । पुनर्वासमा गएका पहिलो पुस्ताका भुटानी शरणार्थीको कथा हो, ‘भुठान ः घर हराएको कथा’ । जहाँ विष्णुबहादुरहरू आजका दिनसम्म पनि भावनात्मक रूपमा भुटानमै छन् । चलचित्रका विष्णुबहादुर त पलपलमा आमासँगको नोस्टालजियाबाट गुज्रिन्छन् । उसको आमा भुटानमै छुटेकी थिइन्, केही वर्ष पहिला संसार छाडेर गएकी थिइन् ।
तर, यो चलचित्र विष्णुबहादुरको कथामा मात्रै केन्द्रित छैन । यहाँ तीन पुस्ताको भुटानी शरणार्थीको कथा भनिएको छ । विष्णुबहादुरको छोरा बुहारी पुस्ताको कथा पनि छ यहाँ । उनीहरू न पूर्णरुपमा पश्चिमा जीवनशैलीसँग अभ्यस्त भएका छन्, न त पूर्णरुपमा भुटानबाट अलग भएका छन् । अनि तेस्रो पुस्ता छ, गुनगुनको पुस्ता । अर्थात् विष्णुबहादुरको नातिनीको पुस्ता । जो पूर्ण रूपमा पश्चिमा जीवनशैलीमा बाँचिरहेका छन्, तर परिवार, समुदायको माध्यमबाट संस्कार, संस्कृतिसँग जोडिइरहेका छन् ।
गुनगुनको पुस्ताको मनोविज्ञान केलाउन निर्देशक पौडेलले निरन्तरजसो मोबाइल चलाउने, अभिभावकको कुरै नसुन्ने र अमेरिकन लवजसहित अंग्रेजी बोल्ने मात्रै नभएर नेपाली बोल्दा पनि अंग्रेजी शब्द घुसाउने दृश्य, संवादहरू राखेका छन् । सँगै एलजीबीटीआइक्युको मुद्दालाई गुनगुन र उसको बाआमा पुस्ताले हेर्ने नजरियालाई पनि मीठोसँगले देखाइएको छ । गुनगुन बाआमासँगभन्दा हजुरबासँग नजिक छिन् । यो नजिकपनाले ज्ञान, अनुभव र संस्कृतिको पुस्तान्तरणको पक्षपोषण गरेको छ ।
चलचित्रमा समयको गतिलाई देखाउन एउटा दृश्य प्रयोग गरिएको छ, जहाँ खोला किनारमा विष्णुबहादुर र गुनगुन उभिएर कुरा गर्छन् । उनीहरूको संवादका क्रममा समय फर्कँदैन भन्नलाई बगिरहेको खोलाका सटहरूलाई निकै पटक देखाइएको छ । समय देखाउने सन्दर्भमा विष्णुबहादुरको किसिङ र बेड सिनपछि एकदमै द्रूत गतिमा कुदेको रेललाई देखाइएको छ । समय कति चाँडो बित्छ, पत्तै हुन्न भन्नलाई देखाइएको यो दृश्य गज्जबको छ ।
अर्को दृश्य छ, जहाँ विष्णुबहादुरको लासलाई जलाउने कि गाड्ने भनेर दाजुभाइबीच झगडा परिरहेको हुन्छ । गुनगुनले उक्त झगडा सुनिरहेकी हुन्छे । यहाँ गुनगुनलाई फ्रेमको बीचमा राखेर पछाडिको फलामको बार देखाइएको छ । बारभन्दा बाहिर उज्यालो देखाइएको छ । सायद, गुनगुनको निर्णयले परिवारमा कुनै महत्त्व राख्दैन भन्ने देखाउन पौडेलले यस्तो सटको छनोट गरेका हुन सक्छन् । किनभने यो दृश्यको केही समयपछि अर्को दृश्यमा पनि गुनगुनको पछाडि बार नै देखाइएको छ ।
विष्णुबहादुरको आफ्नो घर त हुन्न हुन्न, घाट पनि हुन्न । उसको लासलाई जलाउने कि गाड्ने भनेरै छोराहरुबीच लफडा हुन्छ । समग्रमा पश्चिमी पूँजीवादी समाजको वैभवभित्र बाँचिरहेका रित्ता–रित्ता भुटानी शरणार्थीहरूको प्रतिनिधि कथा हो यो चलचित्र । भिएफएक्समा अझै मज्जाले मिहेनत गरेको भए झनै गज्जब हुने थियो । जलिरहेको घरको आगोमाथि कागहरू नउडाएको भए पनि हुन्थ्यो । हरिवंशको किस सिन र बेड सिन नराखेको भए पनि हुन्थ्यो । बेडसिनले त केही पुष्टि नै गर्दैन, विष्णुबहादुरको नांगो शरीर मात्रै देखाउँछ । किस सिनमा पनि पात्रहरुबीच कुनै आत्मीयता देखिँदैन । सिर्फ किस गर्नका लागि गरेजस्तो मात्रै देखिन्छ ।
धेरै दृश्यहरू घरभित्रका छन् । कोठाभित्र छन् । गाडीभित्रका छन् । यस्ता दृश्यहरुमार्फत् पौडेलले सायद भुटानी शरणार्थीहरूको थुनिएको, बाँधिएको मनोदशालाई देखाउने कोसिस गरेका हुन् कि ? उनीहरूको उकुसमुकुसलाई देखाउन यसरी चलचित्रलाई खिचेका हुन् कि ?
केही समयअघि मात्रै डोनाल्ड ट्रम्प सरकारले देश निकाला गर्दै भुटान लगेर छाडेका र लगत्तै भुटान सरकारले देश निकाला गरेपछि नेपाल आइपुगेका छन् केही भुटानी शरणार्थीहरू । उनीहरूको मनोदशा कस्तो होला ! अनुमान मात्रै गर्दा पनि हामीलाई उकुसमुकस हुन्छ । एउटा मान्छे कति पटक शरणार्थी हुनसक्छ ? एउटा मान्छे कुनै देशको नागरिक बन्नलाई कति पटक आफ्नो थातथलो र देश छाड्न बाध्य हुनुपर्छ ? पटकपटक शरणार्थी हुँदा उसले झेल्ने भावनात्मक चोट र उसले बाँच्ने रिक्तताको क्षतिपूर्ति कसैले दिन सक्छ ? यिनै प्रश्नहरूको जवाफ खोज्ने कोसिस गरेको छ ‘भुठान ः घर हराएको कथा’ले ।

Leave a Reply